अमेरिकी पीआर लिएका विकल पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा
सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति लिएको भए पनि नेपालको सरकारी पदमा बहाल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पौडेलले नेपालको संविधानको धारा २९१ को उपधारा १ को व्यवस्था विरुद्ध काम गरेको अख्तियारले जनाएको छ।
संविधानको यस उपधारामा विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ।
पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिएको भए पनि लुकाई छिपाई राखेको अख्तियारको अनुसन्धानमा खुलेको छ। त्यसलाई सार्वजनिक नगरी सरकारी पदमा बहाल भएर राज्यको लाभ र सुविधा लिएको अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ। यसमा उनलाई कैद सजाय माग दाबी गरिएको छ।
त्यस्तै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त पदाधिकारी भएकाले भ्रष्टाचार निवारण ऐन अनुसार पनि सजाय माग दाबी गरिएको छ।