थातथलो उखेल्दिने बाढी!
बाढीपहिरोले तमरका दुवै किनारका थुप्रै बासिन्दालाई मधेश र मुगलानतिर खेदाइसकेको छ।
मौसमविद्हरू भन्छन्, ‘नेपालमा बर्खाका सरदर ११२ दिन जति आफूलाई तोकिएको काम गरिसकेर मनसुन जताबाट आएको थियो त्यतै फर्किन्छ। अनि शरद् ऋतु लाग्छ।’
२०२५ सालमा मनसुन सधैंजसोभन्दा ढिलो गरी असार ४ गते मात्र नेपाल आइपुगेको थियो र सधैंभन्दा छिटो (असोज ६ गते) फर्किगएको थियो। १४ दिन गयल भएर! कतै सधैंभन्दा धेरै र कतै सधैंभन्दा थोरै पानी दिएर। अनि शरद् लाग्यो।
वर्षा जाँगरिली दासी धोइ पोती लिपि चली
शरद् मालिकनी जस्तै गर्न थाली ढली मली।
गयो बहाड वर्षाको, खडा भो रसिलो शरद्।
कविशिरोमणि लेखनाथ पौड्यालले ऋतुविचार पुस्तकमा शरद्को प्रसंग यही पंक्तिबाट शुरू गरेका छन्। उनका अनुसार शरद् ऋतुमा रवि घन-घटा फोरेर भरिलो छवि लिएर देखा पर्छन्। अनन्त जल-सम्पत्ति लोकको उपकारमा खर्चेर मेघ आफ्ना सबै दुर्गुण त्यागेर हिमालमा पसी शान्त बन्छ। आकाश इन्द्र-नील बराबर स्वच्छ हुन्छ। आकाशमा सक्कली तारा चम्कन्छन् भने पातालमा स्वर्गीय जुन्किरी! ठूला नद-नदी सबै शान्त भएर आफ्ना ठाउँमा फर्कन्छन्। वर्षाका जोरले मात्र उर्लेका खहरेको आडम्बर सकिन्छ। दिन उज्यालो हुन्छ, रात पनि उज्यालै। प्राणी उज्याला, दशै दिशा उज्याला!
वैज्ञानिकहरू कविशिरोमणिसँग सहमत छन्।
तर त्यस वर्ष शरद् ऋतु लागेको दुई साता जतिमा राष्ट्रिय समाचार समिति (रासस)ले पूर्वी नेपालका बारेमा यस्तो समाचार दियो- कोशी नदीको बाढीले चतरा बजारलाई नोक्सान पुर्यायो। सुनसरीको महेन्द्रनगर गाउँ पञ्चायतका ५, ६ र ९ नम्बर वडामा क्षति भयो।
पर्सिपल्टको समाचार झनै तर्साउने थियो- लेउती खोलाको बाढीले सात घर र तीन जना मानिस बगायो। तमरले ल्याएका दुई वटा लास मूलघाटमा फेला परे। सुनसरीको राजाबासमा बालकको एउटा लास भेटियो। टापु क्षेत्रमा ५०० गाईभैंसी र एक हजार ५०० बाख्रा मरे। टेलिफोनको खम्बा बगायो, सेवा अवरुद्ध भयो।
आठ-दश दिनपछि अझ अत्याउने समाचार आयो- तेह्रथुमको चाँगे (त्यति वेला चाँगे तेह्रथुम जिल्लामा पर्थ्यो)मा सात जना मानिस र १४ वटा गाईभैंसी मरे। बाढीले पुल र साँघु बगायो। दुई हजार १५० मुरी फल्ने खेतबारी बगायो, कुलो भत्कायो।
तमरको शिरतिरै पनि त्यो बाढी भीषण थियो। तमर किनारको सबैभन्दा उत्तरको गाउँ ओलाङचुङमा तीन घर बगे। त्यो बाढी देखेका लक्ष्मीप्रसाद शिवाकोटीका अनुसार पक्की घरजत्रा ठूल्ठूला ढुंगा पनि तमरले बगाएर ल्याएको थियो। बग्दै आएको एउटा ठूलो ढुंगो हालको ताप्लेजुङको लिम्बुनी पुल आइपुगेपछि छेउ लाग्यो। त्यसैले पुल चुँडिनबाट जोगियो। त्यस बाढीले नाबु खोलाभन्दा माथि तमरको पश्चिम किनारको पिप्ले खेत बगायो। लिम्बुनी पुलछेउको पाटीको एकछेउ लच्काइदियो।
अझ ठूलो विनाशको खबर त आउनै बाँकी थियो- सुनसरीमा बाढीले आठ जना मानिस र १० हजार चौपाया मार्यो। कोशीले यसअघि बनाएको टापुको नयाँ मधुवन, कुसाहा, सोहनपुर, नवराजपुर, पेटमारी, दुर्दीबारी, गादाहा, जग्दी र कसाही गाउँमा धेरै क्षति गर्यो। शिरतिरबाट बगेर आएका तीन वटा लास त्यहाँ फेला परे। त्यति वेला शरद्मा पनि कोशीमा एक मिनेटमा २३ हजार १०६ घनमिटर पानी बग्यो। २०२० सालको भीषण बाढीको भन्दा चार गुणा!
हिमानीविज्ञ अल्टन सी. बेयर्स सहितका विद्वान्ले २०२५ सालको बाढी २०२० सालकै जसरी टिपताला हिमताल फुटेर आएको निर्क्योल गरेका छन्। कञ्चनजंघा र सगरमाथा क्षेत्रका हिमतालबारे विद्यावारिधि गरेका मोहनबहादुर चन्दका अनुसार बेयर्सले अन्तर्वार्ता सर्भेका आधारमा यस्तो दाबी गरेका छन्। चन्द भन्छन्- हिमताल फुट्नुअघि र पछिका चार वर्षका ती ठाउँका फोटो हेर्दा २०२५ सालको बाढीभन्दा अघि र पछिको अवस्थामा खासै फरक नदेखिएकाले त्यो वर्ष २०२० सालमै फुटेको ताल फेरि फुटेको हुनुपर्छ।
खासमा, २०२५ सालको बाढी हिमताल फुटेर होइन, तमरको पानीढलोमा (र अन्य भेगमा पनि) ठूलो पानी परेकाले आएको हो। जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार बाढी आउनुअघि असोज १८ को बिहानदेखि असोज १९ को बिहानसम्ममा मूलघाटमा १६२ एमएम र त्यसको भोलिपल्ट १५८ एमएम पानी पर्यो। त्यस वर्ष मूलघाटमा यतिको पानी जून र जुलाईका दुई महीनामा पनि परेको थिएन। बर्खाका चार महीनामा परेको कुल पानीको एकतिहाइ यति वेला दुई दिनमै खनिएको थियो। यस्तो रेकर्ड यसअघि थिएन। यसपछिका ५५ वटा शरद्मा पनि त्यो वेलाको भन्दा बढी पानी दुईपल्ट मात्र परेको छ।
मौसमविद्हरू भन्छन्- २४ घण्टामा १४० एमएम पानी परे पहिरो र बाढी जस्ता अनिष्ट आउन सक्छन्।
मूलघाटदेखि मास्तिर धनकुटा बजारमा असोज १९ गते बिहानदेखि असोज २० गते बिहानसम्ममा १६५ एमएम पानी परेको थियो। धनकुटामा पनि शरद् याममा यत्तिको पानी न पहिले परेको रेकर्ड छ न पछि। सोही दिन ताप्लेजुङमा १३४ एमएम पानी पर्यो। त्यहाँ तीन पटक यसभन्दा धेरै पानी परेको छ, तर शरद् यामको रेकर्ड यही नै अहिलेसम्मको उच्च हो। त्यस दिन ताप्लेजुङकै दोभानमा परेको १५५ एमएम पानी त्यहाँ अरू वेला परेको रेकर्ड छैन।
तमरको शिरतिरको गाउँ लुङथुङमा त्यस दिन १०० एमएम पानी परेको थियो। त्यहाँ यसअघि एक पटक र पछि चार-पाँच पटक यसभन्दा ठूलो पानी परे पनि शरद् याममा परेको सबैभन्दा बढी पानी त्यही नै हो। पाँचथरको मेमेङ, जगतमा परेको ११२ एमएम पानी त्यहाँ त्यसअघि दुई पटक मात्र परेको थियो- एक पटक बर्खामा र एक पटक शरद्मा।
त्यस वर्षको पानी देशको पश्चिमोत्तर बाहेक सबै भेगमा परेको थियो। भीषण वर्षाले तमरको पानीढलोको अलिकति पश्चिममा पर्ने संखुवासभाको मादीमा १९९० सालको भुइँचालोले सुकाएका मूल फुटाइदिएको थियो। त्यस वर्षाको अध्ययन गरेका मौसमविद् जे. एल. नायभाले आफ्नो लेख ‘ह्याभी मनसुन रेनफल इन नेपाल’ मा लेखे अनुसार त्यस दिन धुलिखेलमा २२१ एमएम पानी परेको थियो। जोमसोममा त्यो साता त्यहाँको वर्षभरको ५८ प्रतिशत वर्षा भएको थियो।
त्यस वर्ष बाढीपहिरोको विनाश तमर किनारमा मात्र सीमित थिएन, इलाम, झापा, सप्तरी, भोजपुर, खोटाङ र सोलुमा पनि धेरै मानिस मरेका थिए। कुल ४०४ परिवार बेघरबार भएका थिए।
तमरको बाढी हिमताल फुटेर आएको हुन्थ्यो भने अन्यत्र यस्तो विनाश हुँदैनथ्यो। तमरको त्यति वेलाको बहावले पनि यसको संकेत गर्छ। हिमताल फुटेपछिको बाढी अचानक ह्वात्तै आउँछ र अन्त्य पनि अचानकै हुन्छ। ०२५ सालमा त्यस्तो भएन।
जल तथा मौसम विज्ञान विभागका अनुसार २०२५ असोज १९ गते मूलघाटमा तमर नदीमा एक सेकेन्डमा तीन हजार ६० घनमिटर पानी बगेको थियो। यहाँ पानी नाप्न थालिएका त्यसअघिका तीन वर्षमा यति धेरै पानी कहिल्यै बगेको थिएन। त्यसको भोलिपल्ट एक सेकेन्डमा दुई हजार ४०० घनमिटर पानी बगेको थियो भने पर्सिपल्ट दुई हजार ३५० घनमिटर। त्यसपछिका दुई दिनको बहाव क्रमशः प्रतिसेकेन्ड दुई हजार २५० घनमिटर र एक हजार २५२ घनमिटर थियो। असोज २४ गते मात्र बहाव त्यति वेलाको औसत अर्थात् ६३६ घनमिटर प्रतिसेकेन्डमा झर्यो। बहाव सामान्य अवस्थामा आइपुग्न पाँच दिन लागेको थियो।
बाढीसँगै विनाश पनि लम्बियो। राससको अर्को दुःखदायी समाचारले भन्यो- कोशी अञ्चलमा बाढीपहिरोका कारण ६० जना मानिस मरे, १५ जना घाइते भए, ९८ वटा घर भत्किए, पाँच हजार चौपायाको नोक्सान भयो। तमरको नयाँ पुल र तीन वटा फलामे साँघु बगे।
कात्तिक १३ को अर्को समाचार अनुसार मनसुन सकिएपछि आएको यो बाढी र पहिरोले ताप्लेजुङमा मात्र ९१ मानिसको ज्यान गयो। तेह्रथुममा ६०, पाँचथरमा ३० र धनकुटामा तीन गरी तमरको पानीढलोमा १८४ जना मरे। कति हो कति परिवार घरबारविहीन भए।
एउटा पुरानो नेपाली कथनले भन्छ- बर्खा लागेपछि नेपालीलाई अब कुन वेला मरिने हो भन्ने डर हुन्छ। शरद् लागेपछि चाहिं अब बाँचियो भन्ने ढुक्क हुन्छ। तर २०२५ सालका जस्ता कुनै-कुनै शरद्ले धोका दिन्छन्।
तमरमा बाढी आउनु नौलो होइन। २०२० साउन ३१ गते पनि बयान गरिनसक्नु ठूलो बाढी आएको थियो। त्यसले आफ्नो बाटोमा पर्ने पहिलो गाउँ ओलाङचुङगोलाका १५/१६ घर बगायो, केही घर मान्छे बस्न नहुने पारिदियो।
त्यो बाढी अरूभन्दा फरक थियो। बाढीभन्दा अघिअघि ठूलो हुरी तमर किनारैकिनार ओरालो झरेको थियो र ठूलो आवाज आएको थियो। बाढी आउँदा भुइँचालोमा जसरी पहाड हल्लिएको थियो। घरका भाँडाकुँडा बजेका थिए। गाईबस्तु डरले कराएका थिए। नदीमा धुलोमुस्लो उठेपछि हिलोमाटोको बाढी आएको थियो। बाढी बन्दूकको बारुद जस्तो गन्हाएको र मेघ जस्तो गर्जेको थियो।
त्यति वेला तमरको शिरमा पानी सामान्य मात्र परेको थियो जसले सानो बाढी पनि ल्याउन सक्दैनथ्यो। स्थानीय मानिसहरूका अनुसार त्यो बाढी माथि लेकको ताल फुटेर आएको थियो। यस बाढीबारे अध्ययन गरेका हिमानीविज्ञ बेयर्सले उति वेलाका ‘स्याटेलाइट म्याप’ केलाएर यो बाढी टिपताला हिमपोखरी फुटेर आएको बताएका छन्।
अलि तल आइपुग्दा चाहिं त्यो बाढीभन्दा निकै अगाडि हिलोको बास्ना हिंडेको थियो। ताप्लेजुङको छिरुवाका नीलप्रसाद लिम्बूका अनुसार तापेथोकतिर बाढी आइपुग्दा बास्ना छिरुवा आइपुगेको थियो। अर्थात् बास्ना बाढीभन्दा चार/पाँच किलोमिटर अगाडि हिंडेको थियो।
अहिले ताप्लेजुङबाट तमर किनार समातेर उँभो जाँदा छिरुवा पुग्ने वेलामा डाँडाबाट ओह्रालो झर्नुपर्छ। नीलप्रसादका अनुसार २०२० सालसम्म त्यो डाँडामा ठूलो टार थियो। त्यहाँ बजार लाग्थ्यो। वरपीपल थिए। बाटो अहिले जस्तो माथिबाट होइन, तल नदी किनारबाट गएको थियो। एक्लेछिरुवाबाट घोडा चढेर जाँदा छिरुवासम्म उकालो-ओरालो थिएन। घोडाबाट ओर्लनु पर्दैनथ्यो।
२०२० सालको बाढीले त्यो बाटोमा ढुंगा थुपारिदियो। अनि मानिसले अलि माथिबाट बाटो खने।
बाढीले छिरुवा नदी छेउका टार सबै बिगार्यो, ढाँड बनाइदियो। आजभोलि छिरुवा र सिवाछेउमा जुन टार छन् ती पछिको बाढीले पुरेपछि बनेका हुन्।
“२०२० सालको बाढी विशालै थियो। तल खोलामा बाढी आउँदा माथि गाँवै हल्लियो। पहिरैपहिरो भयो सबैतिर। डाँडापाखा भत्काएर, फुटाएर केही बाँकी राखेन। हरियोपरियो कतै बाँकी थिएन,” नीलप्रसादले भने।
“त्यो बाढी गएको धेरैपछिसम्म (ओलाङचुङ) गोलाबजारछेउ खोलातिर डाँडा झरिरहन्थ्यो नि!” नीलप्रसादका छिमेकीले थपे।
तल आएर त्यस बाढीले थुम्बा, सिवा र सौवुया समेत गरी तीन वटा साँघु बगायो। नीलप्रसादको घरभन्दा अलि तल्तिर धुले भन्ने ठाउँमा आइपुग्दासम्म झनै भीषण रूप लियो। त्यस गाउँका ११ वटा घर, करीब १० जना मानिस र निकै चौपाया आफूसँगै गुटमुट्याएर लग्यो। हान्द्रुङको पुल बगायो। नदी तटका मलिला र दुई बाली लाग्ने खेत बिगार्यो। अलि तल्तिर पुगेर खडकुँडेको पुल पनि बगायो।
ओह्रालो लाग्दै जाँदा बाढीले थप विनाश गर्यो। राससको बुलेटिन अनुसार राति धनकुटाका तमर किनारका केही घर, मानिस र चौपाया बगायो। धनकुटाबाट ताप्लेजुङतिर जोड्ने पक्की पुल र सात वटा झोलुंगे पुल बगायो। ताप्लेजुङसँग यातायात टुट्यो।
तमरको बाढी मिसिएपछि कोशीमा एक सेकेन्डमा ६,३७१ घनमिटर पानी बग्न थाल्यो। यसको चार/पाँच दिनअघि नै कोशीले पश्चिमी तटबन्ध काट्दै थियो। मतलब- नदी त्यहाँका ११ वटा गाउँमा पस्न तयार हुँदै थियो। यस्तोमा विशाल बाढी थपिएपछि कोशीले पश्चिमी तटबन्ध भत्कायो। त्यहाँका गाउँ जलमग्न पार्यो। १७५ बिघा जमीनमा चार फिट पानी भरियो। त्यहाँका १६१ घरका २५३ मानिसलाई अन्यत्र सार्नुपर्यो।
एक महीनापछि सरकारले निकालेको विवरण अनुसार त्यस बाढीले ३२ जनाको ज्यान लियो। पशुपक्षीको गणना नै भएन। ३३ वटा घर, चार वटा फलामे पुल, दुई वटा पक्की पुल र आठ वटा काठेपुल भत्कायो। बाढीपहिरो मिलेर एक हजार ६०० मुरी धानखेतमा क्षति पुर्याइदियो। त्यस बाढीले १८ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति गरिदियो।
यो १८ लाख अहिलेको १८ लाख जत्तिको मात्र होइन। त्यस वर्षको नेपालको बजेटमा साधारण खर्चका लागि ११ करोड रुपैयाँ छुट्याइएको थियो। बाढीले गरेको क्षति नेपालको त्यस वर्षको साधारण खर्चको १.६३६ प्रतिशत हुन आउँथ्यो। २०८०/८१ सालको साधारण खर्चसँग तुलना गर्दा त्यो रकम पाँच अर्ब दुई करोड २५ लाख रुपैयाँ बराबर हुन आउँछ।
बाढीले घरबारी नाश गरेपछि धेरै मानिसले बसाइँ सर्नुपर्यो। त्यही कारणले हो, डा. सन्दुक रुइतका बाबुआमा पुस्तौंपुस्तादेखि बस्दै आएको ठाउँ ओलाङचुङगोला छाडेर धनकुटाको हिले आउनुपरेको।
तमरछेउको घना आवादी भएको ताप्लेजुङको हाङ्देवामा २००३ सालतिर शुरू भएको विश्वास गरिएको पहिरो लामो समयसम्म गइरह्यो। यसले धेरै मानिसलाई मधेश र मुगलान खेदायो। हाङ्देवापूर्वको नाङ्खोल्याङमा २०३४ सालमा गएको अर्को ठूलो पहिरोले आठ वटा घर र २५ जना मान्छे सोहोरेर लग्यो। धेरै घर र खेतबारी काम नलाग्ने बनायो। ती घरका मानिस पनि बसाइँ सरे।
२०२० सालको बाढी ल्याउने टिपताला हिमतालको १२ किलोमिटर पूर्वोत्तरमा पर्ने नाग्म हिमताल फुटेर २०३७ सालमा अर्को ठूलो बाढी आयो। त्यसले पनि धेरै विनाश गर्यो। २०७२ साल र २०८० सालमा मनसुनको शुरूमै ताप्लेजुङ र पाँचथरमा मुसलधारे पानी पर्यो। त्यसले ल्याएका बाढी र पहिरोले धेरै मानिस र गाईबस्तु मारे। घरखेत, सडक, पुल र जलविद्युत् गृह भत्काए।
यसरी खडेरी, तिर्खा, बाढी र पहिरोले तमरका दुवै किनारका बासिन्दालाई धपाउँदै छन्।
(बारबारा फाउन्डेशनको लेखनवृत्ति अन्तर्गत तयार गरिएको जलवायु परिवर्तन शृंखलाको अन्तिम स्टोरी।)
यस शृंखलाका अन्य सामग्री :