अहिलेको गठबन्धन राजनीतिक सत्ता समीकरण मात्रै हो : दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन राजनीतिक सत्ता समीकरण मात्रै भएको बताएका छन्।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री दाहालले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेको गठबन्धनलाई राजनीतिक सत्ता समीकरणका रूपमा बुझ्न आग्रह गरे। अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
“अहिलेको समीकरण वामपन्थीको मात्र हैन, वाम एकता भन्नु सही पनि छैन, वाम-गैरवाम सबै छन्,” दाहालले भने, “गठबन्धनलाई सत्ता समीकरणका रूपमा लिएका छौं।”
तत्काल वामपन्थी एकता पनि सम्भव नभएको उनले बताए। “राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ,” दाहालले भने, “अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र हेरौं।”
तथापि यो समीकरण पूरै अवधि चल्ने उनको दाबी थियो। “बाहिर बजारमा विभिन्न चर्चा-परिचर्चा भए पनि त्यस्तो केही छैन। पूरै अवधि जान्छ, अहिलेको समीकरण,” दाहालले भने।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गरिने बताए। बजेटलाई वैज्ञानिक, वस्तुवादी र जनमैत्री बनाउने गरी नीति तथा कार्यक्रमको मस्यौदा तयार भइसकेको उनको भनाइ थियो।
नयाँ समीकरण अनुसार नै प्रदेश सरकार गठन भइरहेको दाहालले उल्लेख गरे। अब कोशी प्रदेशमा मात्र गठबन्धनको मुख्यमन्त्री चुन्न बाँकी रहेकाले प्रक्रिया थालिएको उनको भनाइ थियो।