एमाले परिषद् बैठकमा छलफल गर्न ६ समूहसँगै ‘लोकतान्त्रिक भित्तो’
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमाथि आज ६ वटा समूहमा छलफल शुरू भएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल शुरू भएको हो।
परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि पनि एकैसाथ छलफल शुरू भएको छ।
यससँगै समूहगत छलफलका साथै व्यक्तिगत र लिखित रूपमा थप विचार तथा सुझाव दिन चाहने प्रतिनिधिका लागि ‘लोकतान्त्रिक भित्तो’ को व्यवस्था गरिएको छ। भित्तोमा लिखित सुझाव टाँस्न सकिने र नेतृत्वले त्यसलाई अध्ययन गरी प्रतिवेदनमा आवश्यकताका आधारमा समावेश गर्ने केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए।
गौतमले भने, “विभिन्न समूह र लोकतान्त्रिक भित्तो गरी दुवै माध्यममा आमरूपमा लोकतान्त्रिक विधिबाट प्रतिवेदनमाथि उत्साहजनक रूपमा छलफल भइरहेको छ।” बैठकमा दुई हजार ४५४ प्रतिनिधि सहभागी छन्।