गुल्मीमा डढेलोमा परी दुई जना घाइते, २८ घरगोठ जले
गुल्मीमा डढेलोमा परी दुई जना घाइते भएका छन् भने २८ घरगोठ जलेका छन्।
दुई दिनदेखि लागेको डढेलोले इस्मा गाउँपालिका वडा नंं. १, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा घरगोठ जलेका हुन्। इस्मा गाउँपालिका-१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ। स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका छन्।
त्यस्तै, चन्द्रबहादुर कुँवरको घर सहित कुटानी-पिसानी मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीन वटा गोठ नष्ट भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले बताए।
शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका-२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिएको थियो। त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौं पशुचौपाया मरेका छन्।
इस्मा गाउँपालिका-४ को हुल र कोटकोटेरीमा लागेको डढेलोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए।
इस्मा गाउँपालिका-१ मा लागेको डढेलोका कारण ट्र्याक्टर चालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७, पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्। उनीहरूको हातखुट्टा र अनुहार जलेको छ। घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ। डढेलोका कारण लु ४ त ६५३५ नम्बरको ट्र्याक्टर जलेको छ।
वनबाट फैलिएको डढेलोका कारण गुल्मीदरबार गाउँपालिका-४, वीरवासको विद्युत् सबस्टेशन जलेको छ। सबस्टेशनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुंगा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन्।
नेपाल विद्युत् प्राधिकरण, गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केबल लगायत सामग्री जलेकाले दुई करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहत दिने काम शुरू भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।