ब्याटिङ नचल्दा नेपाल हङकङसँग पनि पराजित
एसीसी टी-२० प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
शनिबार ओमनमा भएको खेलमा हङकङले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपाल दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।
हङकङका लागि प्रारम्भिक ब्याटर अंशी राठले उत्कृष्ट पारी खेले। उनी ५० बलमा ६५ रन बनाउँदै अविजित रहे।
त्यस्तै, बाबर हयातले २६, ऐजाज खानले १२ र नर्सुल्ला रानाले ११ रन बनाए। नेपालका लागि सोमपाल कामीले तीन र दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। नेपालका लागि ऐरीले ४० रन बनाए। उनले २९ बलमा चार चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
हङकङका लागि आयुष शुक्लाले तीन, अतीक इक्बल, यासिम मुर्ताजा र इसान खानले एक-एक विकेट लिए।
हङकङसँग पराजित भएसँगै नेपालको एसीसी इमर्जिङ टीम्स एशिया कपको यात्रा पनि टुंगिएको छ। यो जितसँगै हङकङ इमर्जिङ कपका लागि छनोट भएको छ। प्रिमियर कपका विजेता र उपविजेतासँगै तेस्रो हुने टोलीले पनि इमर्जिङ कप खेल्न पाउनेछ।
त्यस्तै, प्रतियोगिताको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ। एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ।