नागढुंगा सुरुङको ‘ब्रेक-थ्रू’ पछि सुनकोशी मरिण डाइभर्सनको पालो
नागढुंगा-सिस्नेखोला सुरुङ छिचोलिएसँगै अर्को महत्त्वपूर्ण आयोजना सुनकोशी मरिण डाइभर्सनको सुरुङ निर्माण पनि अन्तिम चरणमा पुगेको छ।
आयोजनामा अब ११० मिटर मात्रै सुरुङ खन्ने काम बाँकी छ। तराई-मधेशका विभिन्न जिल्लामा बाह्रै महीना सिंचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरू गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको आयोजनाले जनाएको छ।
कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ‘ब्रेक थ्रू’ गर्ने अन्तिम तयारी गरिएको आयोजनाका प्रमुख मित्र बरालले बताए। कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३.१९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ। ब्रेक थ्रूका लागि आवश्यक तयारी भइरहेको उनले बताए।
सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि त्यसलाई समाधान गरेर अगाडि बढिएको उनको भनाइ छ। “ग्राउटिङ लगायत विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ, सुरुङ निर्माण निरन्तर रूपमा अगाडि बढिरहेको छ,” बरालले भने।
सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मशिन (टीबीएम) प्रयोग गरिएको छ। भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टीबीएम मशिन प्रयोग गरिएको हो। उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ। अन्य आयोजनामा पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ। २०७९ असोज २८ गतेदेखि निर्माण शुरू गरिएको हो।
सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। बाँध तथा विद्युत्गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले भने तोकिए अनुसार काम गर्न सकेका छैनन्। विद्युत्गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ।
बाँध र विद्युत्गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ। २०८४ असोजमा आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। -रासस