दीपेन्द्रको संयमित प्रदर्शनमा नेपालको सम्मानजनक स्कोर
दीपेन्द्रसिंह ऐरीले संयमित भएर खेलेपछि नेपालले हङकङ विरुद्धको खेलमा सम्मानजनक स्कोर बनाएको छ।
एसीसी टी-२० प्रिमियर कपको तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले आठ विकेटको क्षतिमा १३९ रन बनाएको हो। नेपालका लागि ऐरीले ४० रन बनाए। उनले २९ बलमा चार चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
हङकङका लागि आयुष शुक्लाले तीन, अतीक इक्बल, यासिम मुर्ताजा र इसान खानले एक-एक विकेट लिए।
शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल यूएईसँग र हङकङ ओमनसँग पराजित भएका थिए। आजको खेलमा विजयी हुने टोली एसीसी इमर्जिङ टीम्स एशिया कपमा छनोट हुनेछ।