रसिक, लेकाली र म
रसिकजी, चाँडै पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु! तपाईं डराउने मानिस होइन। र पनि भन्छु- रोगदेखि तपाईं नडराउनुस्! म पनि डराउन्नँ!!
गणेश रसिक ज्यादै नजिकका आफन्त हुन्। भौतिकीका हिसाबले अनि भावनात्मक रूपमा पनि! रसिकको विषयभित्र छिर्नुअघि एउटा सानो संस्मरण सुनाइहालौं।
२०२२ सालको पुछारतिर हो, रसिक भर्खरै हामीसँगै हिंड्न थालेका थिए। मैले पाएको ‘डेट’ मा रेडियो नेपालमा गीत गाउन गयौं। रेडियो नेपालको पुरानो स्टुडियोको माइक हल्लिरहन्थ्यो। टाउको यताउता सार्दै, माइक नजिक मुख लगेर गाउनुपर्थ्यो। त्यो दिन पनि त्यसैगरी गीत गाएर स्टुडियोबाट बाहिर निक्लियौं।
त्यहींनेर रसिक र हामीबीच सानो सम्झना-धाँजो निक्लियो। रसिकले भन्ने गरेका छन्- त्यो गीत रेडियो नेपालबाट पहिलो पल्ट हामी तीनै जना अर्थात् उर्मिला, भोजपुरे र रसिक मिलेर गायौं।
तर हामी भन्छौं- त्यो गीतको पहिलो रेडियो प्रस्तुतिमा गणेश रसिकको स्वर मिसिएको थिएन।
रेडियो नेपालबाट दोस्रो पटक गाउँदा भने तीनै जनाको स्वर मिसिएको मलाई सम्झना छ। जे होस्, त्यो त्यति ठूलो खप्पर दुखाउनुपर्ने विषय होइन।
गीत गाएर स्टुडियोबाट निक्लने बित्तिकै शिवशंकर दाइ दौडँदै आए र अत्यन्त उल्लासपूर्ण हिसाबले भोजपुरेजीलाई हेर्दै भने, “वाह भोजपुरेजी! आज त तपाईंहरूले गजबको गीत गाउनुभो...!”
त्यति वेला गीतसंगीतमा लाग्नेहरूको एउटा नसुहाउँदो कमजोरी थियो र छ। त्यो के भने उनीहरूमा ‘एप्रिसिएशन कल्चर’ को कमी छ। मै हुँ भन्ने ठूल्ठूला कलाकारमा पनि त्यो त्रासदी छ। तर शिव दाइमा बेग्लै विहंगमता छ र त, उनी मनैदेखि पग्लिए। मनैदेखि मुस्काएर भने- ...यो गीत। अचम्मको गीत। नितान्त नौलो किसिमको!
शिव दाइपछि अर्का उर्लंदै आउने आदर्श थिए- जनकविकेशरी धर्मराज थापा। उनी पनि उर्लिए-
भोजपुरेजी आहा!...क्या मीठो गाउनुभो आहा!
लहरा-पहरा-छहराको देश...। यस्तै गीत मैले निकै अघि लेखिसकेको थिएँ।
लहरा-पहरा-छहराको देश....! आहा....!!
अनि के चाहियो र! भोजपुरेजीलाई छेउबाट चटक्क चिमोटेछन् रसिकजीले।
त्यही वेला धर्मराजले प्रश्न गरे, “अँ, रसिकजी! मैले देखेन भनेको? म त्यति लेख्न जान्दिनँ भनेको?”
अनि त के! राम्ररी नै रडाको मच्चियो। रसिकजीलाई थुम्थुमायौं। शिव दाइहरूले थापाजीलाई मत्थर बनाए।
यो खालि सम्झना-यात्रा मात्र हो। नेपाली लोकभाकामा आधारित गीतसंगीतका उद्गम शब्दशिल्पी, संगीतशिल्पी अनि स्वरदाता धर्मराज थापाप्रति सदैव हाम्रो उच्च आदरभाव छ। उहाँको योगदान अमूल्य छ, अमूल्य छ र छ ऐतिहासिक पनि।
*** *** ***
दिदीले मलाई माया गरेर बोले पनि हुन्छ। गाली गरे पनि मिल्छ। जेजसो भने पनि र बोले पनि मेराबारे खुलस्त भनिदिनुस्। म केही बोल्दिनँ, म हाँस्छु। म रुन्नँ।
अघिल्लो पल्ट फोन गर्दा रसिकले बोलेका वचन हुन् यी! मैले उनीबारे एउटा लेखोट लेखिदिनुपर्यो रे!
आज मंगलबार। १३ फेब्रुअरी, यता डेनवर अम्रिकामा।
यति गन्थन लेख्दै गरेको वेला मेसेन्जर कल आयो। भोजपुरेजीले कल रिसिभ गरे। रसिकजी फोनमा उपल्लो पट्टि, हामी यतापट्टि अम्रिकामा। बिर्सिसकेको, आज वसन्तपञ्चमी रे!
‘लेकाली’ ले पहिलो प्रकृति पाएको दिन। त्यही दिनदेखि हो, लेकालीले नवसंस्कार र संस्कृति भेट्टाउँदै गएको। अर्थात् लेकाली जन्मेको दिन। अलि अलि नमीठो लाग्यो- छ्या! यो तिथिमिति मैले कसरी बिर्सेको, गणेश रसिकले सम्झाउने गरी...!
रसिक बोले, “लु, दिदीलाई पनि बधाई! कस्तो छ अहिले उहाँको स्वास्थ्य?”
मैले सुनिरहें। भोजपुरेजीले भने, “लु, तपाईं नै कुरा गर्नुस्!”
रसिकजीले मलाई पनि बधाई दिए र मेरो बिसन्चोबारे सोधपुछ गरे। मैले बेलिबिस्तार लगाएँ।
म ‘बेड रेस्ट’ मा छु। एक साताअघि मोटरमा बेहोश भएछु। अनि उठेछु। ग्रोसरी गर्न हिंडेका हामी। होलफुडमा। हामी कोलोराडोको डेनवरमा बस्छौं। नजिकैको होलफुड मुश्किलले १० मिनेटको बाटो होला। मोटरमा बेहोश बनेर ढलेपछि बौरेछु, केही समय सापेक्षतापछि। शिरीषले ‘के भो मा!’ भन्यो रे’ कैयौं चोटि।
भोजपुरेजीले ‘के भो, के भो’ भनेर निकै नै खिप्नु खोजे रे मलाई। भोजपुरेजीले ढोका खोलेछन् मोटरको। उनी अगाडिको सीटमा बसेका। तर त्यतिखेरै म ब्युँतेछु, अचम्मले। म सामान्य भएँ। छोरा शिरीषले इमर्जेन्सी लैजान्छु भन्दा मैले मानिनँ!
मैले त्यसलाई ‘सामान्य’ भनें। हो, त्यो संघटना सामान्य रहेछ। र त मैले मजैले झन्डै झन्डै दुई घण्टा ‘होलफुड’ चहारें! खै मलाई क्यै भएन त! तर फेरि भयो।
घर फिर्यौं। दाल, भात, तरकारी बनायौं, खायौं।
आज झलमल्ल घाम लागेको छ बाहिर। घरभित्र उत्तिकै उज्यालो छ। सूर्यकिरणका छिर्का छिरेर किचेनका धेरै अन्तरकुन्तर पनि झलमल्ल छन्। बाहिर पार्क चहुर चकमन्न छ। रूखका सुक्खा डालीबाट हिउँ झरिसकेको छ। लमतन्न पार्क चहुरको चकमन्नतामा हिउँको उपस्थिति बाँकी छैन।
डेनवरको ब्यूटी नै हो, तगडा हिउँ पर्छ, थोरै समयमा नै घामको किरणले हिउँको मानमर्दन गरिदिन्छ र वातावरण सामान्य बनिहाल्छ।
शिरीष टेबल सफा गर्दै थियो। उब्रेको रायोको साग पहेंलो हुन थालेको थियो। त्यसलाई गुन्द्रुक पार्छु भनेर आँगनतिरको ढोका खोल्न खोजेछु। म ड्याङ्र्याङ्ङ ढलेछु। मलाई क्यै था’भएन।
शिरीषले दौडेर मलाई उठाएछ। म उठिनँ रे!
अब भने भएन। भोजपुरेजीले तत्काल कान्छो छोरा शिरुलाई फोन गरेछन्, ‘स्मृतिलाई तुरुन्त लिएर यता आउनु’ भनेर। स्मृति एमडी डाक्टर। कान्छो छोरा शिरुकी पत्नी। काइजरको चेन-अस्पतालमा काम गर्छिन्।
उनीहरू तुरुन्त आए। मलाई तत्काल इमर्जेन्सीतिर दौडाए। छोराछोरी सबै जम्मा भए। यताका देउता डाक्टरको अमूल्य उपचारले, छोरी-ज्वाइँ, छोरा-बुहारी अनि असंख्य आफन्तका शुभेच्छाले म बाँचें। अब भने मेरो मुटुले काम नगरेको वेला ‘पेसमेकर’ ले मलाई बचाउनेछ!
धन्य पेसमेकर! धन्य आधुनिक विज्ञान!!
*** *** ***
भोजपुरेजी भन्दै छन् “...खै, मलाई पटक्कै याद छैन। रसिकजी कुन सड्कोमा हाम्रो परिचयको दायराभित्र छिरे।”
मलाई भने टड्कारैसित याद छ। गणेश रसिक २०२२ चैत २० गते रेडियो नेपालको आधुनिक संगीत प्रतियोगितामा भाग लिन आएका थिए। त्यहीं हाम्रो सामान्य परिचय भएको हुनुपर्छ! रेडियो नेपालले हरेक वर्ष चैत २० गते गायनमा आधुनिक संगीत प्रतियोगिताको आयोजना गर्ने गर्थ्यो। त्यो साल बहिनी निर्मला र मैले पनि भाग लिएका थियौं, अप्रतियोगी भएर। लाग्छ- त्यो प्रतियोगिताले म पहिलो पल्ट गायिका बनें। बहिनी निर्मला गायिका बनिन्।
अझ स्वादिलो कुरो के छ भने, नातिकाजी जस्ता विहंगम संगीतकर्मीले हाम्रो गीतको तारीफ गर्नसम्म गरे। लाग्छ, त्यो ‘लाइभ शो’ मा नातिकाजी दाइ सभापति थिए। शायद हाम्रो रिहर्सल उनले हेरेका थिए। त्यो राष्ट्रव्यापी कार्यक्रममा गाउन लाग्दा नाति दाइ ‘दुगुरेर’ स्टेजमा आए र पियानो एकोर्डियन बजाइदिए। संगीतकार शुक्रराज शाक्यले हार्बिन समाते र हामी दुई दिदीबहिनी- निर्मला र म गाउन थाल्यौं।
खोलाको तीर नाचेर हिंड्छ त्यो सानो जुरेली,
त्यो सानो जुरेली
म सँगसँगै गाएर हिंड्छ यो मेरो मुरली
यो मेरो मुरली....!
(शब्दः हिरण्य भोजपुरे)
पछि आफ्नो भाषणमा सभापति नातिकाजी श्रेष्ठले हाम्रो गीतको तारीफ गर्नसम्म गरे। “नेपाली गीत भनेको यस्तो हुनुपर्छ रे! ...खोलाको तीर आहा! स्वर पनि उर्मिला र निर्मलाको कति मिलेको, मिलेको र माझिएको....।”
*** *** ***
गणेश रसिकसँग प्रतिभा छ, प्रतिभाका प्रतीति छन्। भोजपुरेसँग पनि त्यस्तै खाले जाँगर र जिजीविषा छ। यी दुवैको सिर्जनशीलतामा समदूरी छ जस्तो लाग्छ, गीत रचना अनि संगीत रचनाका अर्थमा पनि। भोजपुरे र रसिक लेकालीका धुरी हुँदै हुन्, उर्मिला जोडिएर पनि लेकाली बनेको हो। निर्मला, उर्मिला, इन्द्रनारायण, शशि भण्डारी, न्हुच्छे डंगोल, नवीनकिशोर, निरा श्रेष्ठ आदि मिलेर र जुटेर समाहित समूह भएको संस्था पनि हो, लेकाली।
अलि ठीकैको उचाइ भएका किराती, भोजपुरको छिनामखुका सम्भ्रान्त किराती। र त उनले सानैदेखि स्कूलको मुख देख्न पाए।
त्यति खेर छिनामखु निकै दुर्गम पहाडी गाउँ! आज जस्तो कहाँ मोटर सरर! हत्तेरी, हन भोजपुर बजार पुग्नै डेढ दिन लाग्थ्यो रे!
हिमचिम हुन थालेपश्चात् रसिकजी दिनदिनै आउँथे, हाम्रो चोकैचोकभित्रको चोके घरभित्र। पहिले पहिले हाम्रो जमात ठूलो थिएन। निर्मला, भोजपुरे, रसिक र म। पछि तीर्थ शेरचन आए र आए शशी भण्डारी।
रहँदाबस्ता हाम्रो एउटा सांगीतिक जमात जम्नुपर्यो भन्ने कुरो उठ्यो। सबैको कुरो मिल्यो र लेकालीको जन्म भयो। लेकालीको जन्म त भयो, तर तीर्थ शेरचन बेपत्ता भए।
*** *** ***
मैले बुझेको गणेश रसिक। अलि अलि रिसाहा। अरू वेला हैन, भोकाको वेला। भोक पनि भोक! आगो। भोकको आगो। भोग्नेलाई नै थाहा हुन्छ- भोकको आगो! भोकाको आगोले आगो मात्र दिंदैन, आक्रोश पनि दिन्छ। आक्रोशको आगो! भोकाको त म पनि हुन्थें। भोजपुरे, निर्मला र सबै हुन्थ्यौं। तर रसिकजीलाई भोकले अलि बढी नै औडाहा दिने गर्थ्यो झैं लाग्छ।
हिजो मात्र भोजपुरेजीको लेख पढेको थिएँ। रसिकजीबारे कुरा तिनै हुन्। उनका केही शब्दहरू सापटी लिन मन लाग्यो, लिएँ है!
....समयका सिस्नुहरू टेक्तैटेक्तै बबण्डरका बबण्डर हण्डर खानसम्म खाएका गणेस रसिक विसं. २०२३ सालतिर काठमाडौं खाल्डो छिरे र हामीमाझ आइपुगे। म ढाक्रे। रसिक ढाक्रे। उर्मिला मात्र जागिरे। तेसै ताका शाखा अधिकृत। लेकाली लेकाली बन्न अघिदेखि नै हरेक भने जसो साँझ उर्मिलाको घर असनको त्यौडमा हामी भेला हुन्थ्यौं। खाजा खान्थ्यौँ। पैलो काम क्षुधातृप्ति!
उमेर भनेको उमेरै हुँदो रैछ। दिनभरि अपिसमा अन्धाधुन्ध कामपछि पनि उर्मिलामा जाँगर मर्दैनथ्यो। भान्सामा पसेर पकाउँंथिन् कैले राँगा मासुको झुर्झुरे। खाजा बजी झुर्झुरे! कहिले ख्वाउथिन् आलुबजी त कैले छोयलाबजी....।
भोकाएका भोकहरूको आफ्नै भूमिका! उनीहरूले ‘भोक लाग्यो’ भने पुग्यो। अझ हाम्री बूढी बजै त मुखै फोरेर भन्थिन्, “हन यो रसिकलाई कति भोक लाग्ने हँ। जतिखेर पनि भोकै मात्र लागिरहने। भातै नखाई आउँछ कि कसो!’
मेरो मनभरि भने बेग्लै भुमरी घुमिरहेको हुन्थ्यो।
हाम्रो परिवार। निम्न मध्यमवर्गीय परिवार। बाबु वत्सलाल श्रेठ। उनको नायब सुब्बाको खान्गीले परिवारको भरणपोषण गर्नुपर्ने! तेत्रो ठूलो परिवार! मलाई मेरो दायित्वबोध हुन्थ्यो र म महीना मर्ने बित्तिकै तलब आमाको हातमा राखिदिन्थें। म २०२२ सालमै शाखा अधिकृत भइसकेकी थिएँ। त्यति खेर शाखा अधिकृत भनेपछि निकै ठूलो पद मानिन्थ्यो। उर्दिमा कालो कोट लाउने भनेपछि धेरै मानिसको मनमा बेग्लै आदरभाव उम्लन्थ्यो।
आज यसो सम्झन्छु- ओहो, हाम्रा आमाबाउ निकै उदारमना रहेछन्। खासगरी हाम्री बजै। बजै कृष्णकुमारी श्रेष्ठ। म सानो छँदादेखि नै बजैले आशीर्वाद दिने गर्थिन्, ‘तिमी ठूलो हाकिम हुनुपर्छ’ भनेर! बरा, उनले देख्न पाइनन्। आशीर्वाद भने लाग्यो। म ठूलो हाकिम भएँ, सरकारी सचिव, लोक सेवा आयोगको सदस्य।
घरमा यो आउँछ, त्यो आउँछ भन्ने थिएन। जातीय भेदभाव भएको समाज! तर बाउआमाको त के कुरो, बूढी बजैले समेत चुइँक्क नबोल्ने घरमा दुई-दुई जना तरुनी छोरी-नातिनी अनि अरू भुराभुरी। भो कुरा नगरौं!
आमालाई घरखर्च भनेर सुम्पेको रकममध्ये सामान्य रकम पकेटखर्च भनेर जोहो गरेको हुन्थें। अनि त्यही पैसाले साँझ खाजा खानुपर्ने। कैलेकैले त हत्ते नै पर्थ्यो। घरका र लेकालीका कसैले सुइँको पाउँदैनथे। मैले मेरो अकबरे सुनको औंठी कैयौं पटक बन्धक राखेको छु। हामी आफूहरू मात्र खाने हो र! ख्वाउनु पनि पर्ने वेलाबखतमा। कहिले लेखक कविहरूलाई त कहिले रेडियोका वाद्यवादक कलाकारहरूलाई। त्यौडको त्यो चौकैचोकको चोकेघरमा नपुगेका तत्कालीन कमै कवि-कलाकार होलान्।
*** *** ***
मैले फेरि पनि एकफेर भोजपुरजीको बेलो समातें है!
....भोकको मुखमा बूझो लागिसकेपछि रसिक हार्बिन समात्थे। म खुँडे गितार समात्थेँ। अनि त रिहर्सल। अन्धाधुन्ध। घण्टौंसम्म। उर्मिला श्रेष्ठ। निर्मला श्रेष्ठ। गणेस रसिक। हिरण्य भोजपुरे। अनि पछिपछि थपिए शशि भण्डारी, इन्द्रनारायण, उर्मिला, नवीन किशोर, नीरा र न्हुच्छेहरू। शायद हामीबीच एउटा ‘जुनून’ले जन्म लिन्थ्यो! अनि त्यो ‘जुनून’ जुनकिरी बन्दै मनचरीले मदहोशी अनि आनन्दको उपल्लो आधारतिर उज्यालाका अनन्त आँखा-झिल्काहरू छरपस्ट पार्दै जाने गर्दथ्यो...।
*** *** ***
गणेश रसिकका गीतले एउटा बेग्लै वर्चस्व बोकेको हुन्छ। उनी कल्पनामा कुद्छन्, भावमा बहन्छन्। ती भाव र कल्पना पनि नितान्त प्राकृतिक हुन्छन्। प्रकृतिलाई नितान्त नजिकबाट नियालेर आफूबाट प्रकृतितुल्य शब्द र संगीत दिन सक्ने ज्वान् हुन् रसिक। गणेश रसिक! ‘ए है है, आज भेंडा-बाख्रा कता लाने...’ यो गीत बज्नसम्म बज्यो रेडियो नेपालबाट। ‘रातो भाले... सुत्केरीलाई ख्वाएं....’ यो गीत त झनै बढी बज्यो।
हुन पनि ‘ए है है’ र ‘रातो भाले’ मलाई लाग्छ, आयामिक गीत हुन्। यी गीतमा प्राकृतिकता छ। प्राकृतिक प्रयोग छ। प्रकृति र संस्कृतिको सुरम्य सम्मीलन अरूतिर विरलै देख्न पाइन्छ।
२०२० को दशकमा हिरण्य भोजपुरे र गणेश रसिक एकअर्काका पूरक जस्तो बनिसकेका थिए। रेडियो नेपालबाट त्यस ताका यी दुईको जोर स्वर घन्कनसम्म घन्कन्थे। रसिकद्वारा सिर्जित र संकलित लोक छिमलका गीतहरूले उपल्लो दर्जाको लोकप्रियता पाउनसम्म पाए। गीतको प्रसिद्धिका साथै यी दुवैको नाम पनि उर्लिने नै भयो। हुँदाहुँदा मानिसहरू रसिकलाई हिरण्य र हिरण्यलाई रसिक भनेर अलमलिन थाले। धेरैले मलाई सोध्थे, ‘हन भोजपुरे कुन र रसिकजी नि?’
म भनिदिन्थें, “लामो नाक हुने भोजपुरे अनि न्याप्टो नाक र ठूलो कान हुने रसिक!”
हो, मैले त्यही कुरा डा. भेषबहादुर थापा र डा. रीता थापालाई पनि भनेकी थिएँ क्यानडामा। यो सन् १९७१ तिरको कुरो हो।
डा. भेषबहादुर थापा क्यानडामा कार्यरत थिए। कुनै अन्तर्राष्ट्रिय संस्थाको क्षेत्रीय डाइरेक्टर। म अफिसबाट क्यानडा गएकी थिएँ, सहकारी तालीममा। टूरको सिलसिलामा उनीहरूकै घरमा बसेको थिएँ, एक साता जति! शायद डा. रीता थापाले सोधेकी थिइन्, “हामीलाई थाहा छ, तपाईंको बूढा भोजपुरे भनेर। तर कुन रसिक, कुन भोजपुरे, कसरी खुट्टयाउने?”
मैले भनें, “लामो नाक हुने भोजपुरे!”
रसिक र भोजपुरे मात्र होइन, उर्मिला र निर्मलालाई छुट्याउन पनि मानिसलाई हम्मे पर्न थालेको थियो। उर्मिला र निर्मलालाई सबैभन्दा पहिला र बढी प्रसिद्धि दिने गीत थियो, ‘रनवन घुमी, वनवन डुली, काफल पाक्यो बोल्छ चरीले...।’
(शब्द : गणेश रसिक, संगीत : भोजपुरे, रसिक।)
काफल पक्यो गीतको प्रसिद्धिपछि निर्मलासित मैले थुप्रै युगल गीत गाइसकेकी थिएँ। जस्तैः ‘ऐया नि आमै म मरें बहैले’ (संकलन : लक्ष्मीदेवी श्रेष्ठ), ‘घर मेरो पाटन गारो भयो जिन्दगी काटन’ (संकलन : हरिबहादुर रञ्जितकार)। यी दुवैका साथै अरू पनि थुप्रै गीतहरूले हामी दुइटैलाई चिनाउने क्रम बढ्दो थियो।
रसिक-भोजपुरे, जोरसोरका केही लोकप्रिय गीतहरूः
ए है है, आज भेंडबाख्रा कता लाने, रातो भाले...कुकुरी काँ, काले काले मिलेर खाउँ भाले, म त तेस्तो हैन हजुर पीरतिले जोगी बनायो, यता हेर सानी नानी केहि भन्छु सुन, (संकलन: चन्द्रकला शाह), नबस झ्यालैमा फूल भनि टिपौंला, ए माइला, के साइँला, काँको दर्जी भनौला विष्ट, सैसै सैसै हाम्रो झाँक्री नाच्दै आयो।
र यस्तै प्रसिद्ध गीत धेरै नै छन्।
*** *** ***
लाग्छ, गणेश रसिक लोक र वर्तमान युगबोध बोकेका शब्द-संगीतशिल्पी हुन्। लेकालीमा छिरेपछि रसिकका गीतसंगीत बढी प्रायोगिक बने। लेकालीले त्यतिखेर बाहिर ल्याउन नसकेका गीतहरू धेरै थिए र छन्। हामीले गैरलेकालीका गीत गाएको गन्ती कमै होला। हामीबीचका शब्द-संगीतमै रम्थ्यौं। अरूको गीत गायो भने बिछुक लाग्ला झैं गरी उतर्सिन्थ्यौं।
र पनि हामीले हेम हमालका दुइटा गीत गाएका छौं। एउटा भोजपुरेजीको संगीतमा:
तिम्रो आँगनमा दिनभरि पहरा बस्न सक्छु,
तिम्रो न्वारानको दिनमा आंखाभरि घाम बन्न सक्छु।
(कार्यक्रम उपत्यका)।
यस गीतमा नायक गायक स्वर हुने गर्थ्यो, इन्द्रनारायण मानन्धरको! अर्को गीत गणेश रसिकको सांगीतिक जलप लागेको गीत हो।
ओ, पर्यटक
यो शहर छोडी जानुभन्दा पैले
ओ पर्यटक
यो शहरको मान्छेलाई भेटेर जानु...।
(कार्यक्रम: उपत्यका)
यी दुवै गीत हेम हमालका। उच्च साहित्यिक उच्छ्वास बोकेका गद्य गीत। हेम हमालले धेरैका लागि गीत लेखेको साक्ष्य मसित छैन। हो, बच्चु दाइ अर्थात् बच्चुकैलाश दाइले भने उनका गोडा दुईतिनेक गीतमा संगीत राख्नुभएको मलाई हेक्का छ।
तीमध्ये यौटा गीत हो,
निठुरीलाई पर्खि बसी
बित्यो मेरो जीवन जति
सुनसान र मौन संधै नै
मेरा जीवनका गति!
अरू गीत बिर्सें। बच्चुकैलाश दाइ सितिमिति अरूको गीत गाउँदैनन्। न आफ्ना गीत अरूलाई गाउन दिन्छन्। पुष्प नेपाली दाइसितको हेमखेम बेग्लै खाले हो। तर किन र कसरी हो, हेम हमालका सुरम्य शब्दहरूमा बच्चु दाइबाट अनन्य संगीत सिर्जना भयो र ती गीतमा स्वर भर्ने सौभाग्य पाए गायक पीएल श्रेष्ठले।
गणेश रसिकले वासु शशीको गीतमा पनि मार्मिक संगीत भरी मनोरम स्वर सम्पन्नता दिएका छन्, तिमीलाई मैले....।
गणेश रसिकका सबैजसो गीत मलाई मन पर्छन्। उनले भोजपुरेजी र मलाई ‘ड्वैट’ गाउन लगाए।
रानीको रुमाल देशी भो जीउ भन्दा माया बेसी भो
के गरूँ लौन नि सोल्टिनी हजुर...।
शायद यो गीत भोजपुरेजी र मैले गाएको पैलो र अन्तिम ‘ड्वैट’ गीत हो।
मैले धेरैजसो समूह र ‘ड्वैट’ गाएकी छु। गीतसंगीतमा भोजपुरे र रसिकले मलाई एकलकाटे लठारोभित्र बांधे जस्तै भो! उनीहरू दुईबाट उम्केको भनेको भोजपुरेको गीत र नातिकाजी दाइको संगीतमा मैले गाएको गीत ‘तिमीलाई भनेर हो यो माला गाँसेको...।’
त्यस्तै, भोजपुरे-रसिक इतरका संगीतकारमा गणेश परियार पर्छन्। संकलकमा पाण्डव सुनुवार रहेका छन्। सीके रसाइली दाइसित पनि एउटा गीत गाउन पुगेछु भोजपुरेको संगीतमा, ‘एक बनौं, हामी एक बनौं...।’ तर मेरा पहिलो सांगीतिक गुरु हुतराज शर्मा हुन्। रसिकजीहरूलाई भेट्नुअघिका।
*** *** ***
गणेश रसिकलाई उभ्याउन मसित धेरै धेरै शब्दहरू छन्। तर उनलाई मैले उभ्याइरहनु पर्दैन। ठडिइसकेकालाई अझ के ठड्याउनु र!
*** *** ***
गणेश रसिकले सोचेका पनि थिएनन् होला- आफू यति उच्च स्थानमा पुग्छु भनेर! गाँस, वास र सामान्य नाम भए पुग्छ जस्तो लाग्थ्यो होला उनलाई, अलि अलि गाएर र साहित्यमा लागेर। तर उनको आकांक्षाको उच्छ्वासले उनलाई पूर्णविराम दिन मानेन! र उक्लँदै गयो, उक्लँदै उक्लँदै उनी अझ उँभो जाँदै छन्। अब सानोतिनो मापकले उनलाई नाप्न सक्दैन।
हिरण्य भोजपुरेको त्यस्तै खाले विगत र आगत छ। बिचरा उनी भन्ने गर्छन्, “म उपसचिवभन्दा माथि उठ्न सकिनँ ...!”
तर सरकारी जागीरमा उपसचिव कमको पद हो र? उनकी स्वास्नी सचिव हुँदैमा पद ठूलो-सानो हुने हो र! फेरि भोजपुरेको उचाइको मापन कल्ले गर्ने! भनिरहनुनपर्ने, बहुप्रतिभाशाली। बहुउन्नयनशील! स्वर, संगीत र साहित्यका अनन्य ऊर्जा!!
अनि मैले आफूबारे भन्नुपर्दा, लाग्छ म बिचरी हुँ। बिचरी पखेटा र निडविहीन चरी। बिचरी...म! र पनि म आफ्नै उफानमा उडें। मेरो सोच कहिले हुँडलिएन, मैले माथि माथि पुग्नुपर्छ भनेर।
इमानदारी र कार्य कर्तव्यनिष्ठालाई आफ्नो गन्तव्य बनाएँ। म उठ्दै गएँ। मैले सपनामै नदेखेको दिन देखें।
म शाखा अधिकृत हुँदै उपसचिव, सहसचिव, विशेष सचिव हुँदै सचिवसम्म भएँ। जागीरको म्याद सकिएपछि मलाई बनाउनेले लोक सेवा आयोगको सदस्य बनाए। रोलक्रम अनुसार सबै ‘क्राइटेरिया’ पुगेकैले म लोक सेवा आयोगको अध्यक्ष बन्नुपर्ने। त्यति खेरै मलाई ‘ब्रेस्ट क्यान्सर’ भो र कुजिएँ! त्यही कारण देखाएर शायद अध्यक्ष पद दिएनन्। तर मलाई क्लेश छैन। जुन ठामसम्म पुगें, मैले विश्राम गर्ने गन्तव्य त्यहींसम्म थियो!
म उर्मिला श्रेष्ठलाई आज धेरैले चिन्दैन। तर ‘काफल पाक्यो’ भन्ने गीत गाउने मानिस ‘मै हुँ’ भन्दा धेरैले चिन्छन् र मलाई लाग्छ, म सचिव हुनुभन्दा ठूलो पहिले मानिस हुँ...!
*** *** ***
लेकाली अहिले भने दुर्दशामा छ। हेर्नु त! निकै अघिको कुरो। म ‘ब्रेस्ट क्यान्सर’ बाट बचें। भोजपुरेजी हृदयाघातबाट बच्नुभो। सुन्छु- न्हुच्छेबहादुर डंगोल भाइ चाँदीको करङ बोक्दै थुप्रै ड्रम र मादल बजाउँदै हिंड्दै छन्। शशि भण्डारी, इन्द्रनारायण, उर्मिलाहरू त हराएर गए नै। अहिले आएर गणेश रसिक दुर्दान्त क्यान्सरबाट पीडित छन्। म ताजा मुटुरोगबाट।
अनि अलि अलि स्वस्थ भोजपुरेजी हामीलाई टुलुटुलु हेर्दै ‘म ठीक छु’ भन्दै ठमठम हिंड्दै गरेको देख्दै छु। नवीन किशोरको त्यस्तो खास केही सुनिएको छैन।
फ्यातुल्ले लाग्छ, हामी ज्यूँदा लेकाली ‘फ्यान्तुल्ले’ (यो शब्द भौजपुरेजीबाट साभार) छैनौं र मृत्युलाई लखेट्तै शतकलाई पछि पार्न उद्यत छौं। मृत्युले मलाई पनि त झन्नै लगेको। तर म मरिनँ त! भोजपुरेजी भन्छन्, म ‘जियाद्रो’ रे!
जियाद्रो मानिस सितिमिति मर्दैन रे’ उनका लेखा म, उनी अनि रसिकजी जियाद्रा रे! हिर्दोक। मर्नै मन नपराउने!!
*** *** ***
यो आलेखलाई बिट मार्नुअघि हामी तीनबीचको सानो सम्झना अघि सार्छु है!
तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान। हरेक वर्ष नेपाली कविता महोत्सव हुने। रसिकजी र भोजपुरेजीले त बिर्सी पनि सके होलान्। २०२६ सालको महोत्सवमा भोजपुरजीले तृतीय पुरस्कार पाए।
२०२७ सालमा मैले पाएँ दोस्रो पुरस्कार। २०२८ सालमा त रसिकजीले पड्काए प्रतिष्ठानको पहिलो पुरस्कार।
रसिकजी, चाँडै पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु! तपाईं डराउने मानिस होइन। र पनि भन्छु- रोगदेखि तपाईं नडराउनुस्! म पनि डराउन्नँ!!