एमालेको प्रतिनिधि परिषद् बैठक शुरू
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरको गोदावरीमा शुरू भएको छ।
परिषद् बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएको बताएका छन्। ओलीले वैचारिक र भावनात्मक एकता सहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन्।
अध्यक्ष ओलीले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक रहेको जिकिर गरे। गत महाधिवेशनयताका २९ महीनामा उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा आइपुगेको उनले स्मरण गराए।
गत निर्वाचनमा एमाले विरुद्ध घेराबन्दी गरिएको उनको भनाइ थियो। “प्रतिपक्षमा रहेको हाम्रो दल विरुद्ध सत्तामा रहेका ६ दलको घेराबन्दी थियो। प्रतिपक्षका विरुद्ध सत्तापक्षको त्यस्तो गठबन्धन अलोकतान्त्रिक मात्रै थिएन। अराजनीतिक पनि थियो,” ओलीले थपे, “हाम्रा विरुद्ध सत्तापक्षले साधन र स्रोतको दुरुपयोग गर्यो। निर्वाचन आयोगलाई पनि प्रभावित पार्यो। निर्वाचन होइन, पार्टीले एक किसिमले युद्ध नै लड्नुपरेको थियो।”
कांग्रेस कमजोर भइसकेको र नयाँ भनिएका शक्ति पनि गलत बाटोमा हिंडिरहेको उनको भनाइ थियो। “असन्तुष्टिलाई एकातिर पपुलिज्मले उजागर गर्न सक्छन्, तर त्यसको समाधान भने छैन,” ओलीले भने, “सही दर्शन र विचारधारा नभएको, अर्थ-राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि अस्थिर र डोलायमान रहने शक्तिहरू विकल्प हुन सक्दैनन्।”
उनले राजतन्त्रको वकालत गर्नेहरू पनि सफल नहुने जिकिर गरे। “आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउने प्रयास सफल हुने कुनै सम्भावना छैन,” ओलीले भने, “यसबाट ढुक्क भए हुन्छ, अब इतिहासको चक्र पछाडि फर्किनेछैन।”
दुई दिनसम्म चल्ने परिषद् बैठकमा एमालेका केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार ४५४ जना सहभागी छन्। बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।