भीरपाखामा घोडा कुदाउनेका कथा
सानैदेखि घोडा चढ्न थालेका देवेन्द्र ठट्यौली पारामा भन्छन्- अलिकति रक्सी पिउँदा पनि बाइकले भित्तामा पुर्याउँछ, घोडाले घरमा।
प्रायः बालबालिका स्कूल जान गाह्रो मान्छन्, देवेन्द्र श्रीपालीलाई भने असाध्यै मन लाग्थ्यो। लेखपढ गर्ने ध्येयले होइन कि घोडा चढ्नका लागि।
कास्कीको अन्नपूर्ण गाउँपालिका-११, उरीका देवेन्द्रलाई स्कूल पढ्न लामो बाटो हिंडेर अर्को गाउँ अन्नपूर्ण-१०, घान्द्रुकमा आउनुपर्थ्यो। मिल्ने साथी मीनबहादुर तिलिजाको घोडा थियो। घरबाट स्कूलको बाटोसम्म घोडा चढ्न पाइन्थ्यो। त्यही क्रममा साथीसँगै घोडा चढ्न सिके।
घान्द्रुक सहित सेरोफेरोका गाउँ भएर हिंड्ने पदयात्रीका सामानदेखि माथि लेकसम्म सामान ढुवानी गर्न खच्चड, घोडाको प्रयोग हुन्थ्यो। स्कूल आउजाउ गर्दा पनि त्यस्तो दृश्य देख्थे। उनलाई पनि घोडा चढ्ने रहर लाग्यो। तर घोडा चढ्नु, घोडालाई दौडाउनु उनका लागि सानो कुरा थिएन। त्यसैले केही बेर साथीकै घोडा चढेर रहर मेटेका थिए।
पढाइ सकिएपछि भने उनी गाउँमै घोडा, खच्चड व्यवसायीकहाँ गएर काम गर्न शुरू गरे। घोडा, खच्चडको आनीबानी बुझे, स्याहारसुसार गर्ने तौरतरीका सिके। त्यसपछि लाग्यो- घोडा किन्नुपर्छ। घोडाको दाम बुझ्दा त झस्किए। “लाख रुपैयाँभन्दा बढी पर्दो रहेछ,” देवेन्द्र भन्छन्।
काम गर्दागर्दै पैसा पनि जोडे। लामो समय खच्चडबाट सामान ढुवानीको काम गरेपछि अहिले उनी व्यवसायी बनेका छन्। “एउटा घोडा र नौ वटा खच्चड छन्,” खुशी हुँदै उनी सुनाउँछन्।
अहिले ती सबैको रेखदेख, बजारदेखि माथि लेकका गाउँमा सामान पुर्याउने काम गर्छन्। व्यवसायी बने पनि उनलाई बाल्यकालको रहरले भने छोडेको छैन। घोडा र खच्चडमा सामान ओहोरदोहोरसँगै घोडा चढ्छन् पनि। घोडामा हिंड्नु २६ वर्षीय देवेन्द्रको सोख पनि हो।
त्यसैले गाउँघरमा आयोजना हुने मेला, महोत्सव, घोडा दौड प्रतियोगितामा सहभागी भइहाल्छन्। “घोडा कुदाउन आनन्द लाग्छ,” उनी छोटो बोल्छन्।
अहिलेसम्म उनी १२ वटा घोडा दौड प्रतियोगितामा सहभागी भए। जसमध्ये १० वटा प्रतियोगितामा उपाधि जितेका छन्। त्यसमा पनि पाँच वटामा प्रथम नै भएका छन् भने बाँकीमा दोस्रो।
गत चैत मसान्तमा घान्द्रुक गाउँमा भएको घोडा दौड प्रतियोगितामा पनि उनले प्रतिस्पर्धा गरे। नौ किलोमिटरको दूरी २२ मिनेट ३९ सेकेन्डमा पूरा गरेर प्रथम भए। प्रतियोगितामा सहभागी २३ जनालाई पछि पार्दै ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाए। देवेन्द्र भन्छन्, “ट्वीन्सले जितायो।”
ट्वीन्स उनको घोडाको नाम हो। अहिले पाँच वर्ष पुगेको छ। यसलाई उनले चीनबाट ल्याएका हुन्। १८ महीनाको हुँदा डेढ लाख रुपैयाँ तिरेर ल्याएको उनी सुनाउँछन्। “जुम्ल्याहा थिए, एउटा मैले ल्याएँ,” उनी थप्छन्, “एउटै भए पनि शुरूशुरूमा ट्वीन्स भनेर बोलाएँ। अहिले त नामै ट्वीन्स भइगो।”
देवेन्द्रले ट्वीन्सलाई माया गरेर हुर्काएका छन्। दैनिक मकै र चनासँगै अन्डा खुवाउँछन्। प्रायः घोडाको खान्की यस्तै हुन्छ। डेढ वर्षको बच्चालाई हुर्काउँदै जवान बनाइसकेका छन्। ट्वीन्स उनीसँगै हिंड्न थालेको पनि साढे तीन वर्ष भइसकेको छ।
यसबीचमा उनले ट्वीन्ससँगै कति उकालीओराली गरिसकेका छन्। तराईका फाँटदेखि हिमालका फेदसम्म पुगेका छन्। कहिले सरसामान ओसार्न त कहिले घुम्दैफिर्दै।
सानैदेखि घोडा चढ्न थालेका उनी अहिले त शहरबजार जाँदा पनि ट्वीन्सलाई लिएर जान मन लाग्ने बताउँछन्। गाउँमै सडक पुगेको छ, कतिपय बाइक पनि हुइँक्याउँछन्। चिनजानका मान्छेले बाइक किन्न सुझाव पनि दिने गरेका छन्। उनलाई भने घोडा नै लिएर हिंड्न सहज लाग्छ। “अलिकति रक्सी खाएर बाइक चलाए पनि भित्तामा पुर्याउँछ, घोडाले घर नै पुर्याउँछ,” देवेन्द्र ठट्यौली पारामा भन्छन्।
विश्वभर नै घोडा दौडको ‘क्रेज’ छ। घोडा दौडमा सट्टेबाजी राख्ने जमात पनि ठूलै हुन्छ। नेपालमा भने सट्टेबाजी राख्ने गरी आयोजना हुने घोडा दौड प्रतियोगिता चल्न सकेनन्। त्यसैले अचेल गाउँमा हुने मेलामहोत्सवमा घोडा दौड प्रतियोगिता हुने गरेका छन्।
गाउँमा हुने त्यस्ता प्रतियोगितामा पनि घोडा दौडाउनेहरूको बाक्लो उपस्थिति हुने गरेको छ। तर घोडा दौडमा अपनाउनुपर्ने सुरक्षाको पाटोमा भने अझै ध्यान पुगेको देखिंदैन। सुरक्षाका सामग्री विना नै घोडा दौडाउनेहरू गाउँका भीरपखेराका बाटोमा ज्यानको बाजी थापेर कुदाइरहेका हुन्छन्। देवेन्द्र पनि भीरपाखामा दौडाउन सकस नै हुने गरेको सुनाउँछन्। “सुरक्षाको विशेष व्यवस्था त हुँदैन,” उनी भन्छन्, “ज्यानको बाजी लगाएरै दौडमा सहभागी हुन्छौं।”
त्यस्तै अनुभव विनोद र कृष्ण थापा दाइभाइको पनि छ। २२ वर्षीय विनोद र २० वर्षीय कृष्ण पनि घोडा दौडाउन सोखिन छन्। भीरपाखामा डर लाग्ने गरे पनि घोडा चढ्दा आनन्द मान्छन्। पहिलो पटक प्रतियोगितामा सहभागी भएका विनोद तेस्रो भए भने भाइ कृष्ण दोस्रो। “हाम्रो घोडा छैन,” विनोद भन्छन्, “साथीभाइको घोडा दौडाउँछौं।”
दाजुभाइको घोडाप्रति लगाव बढेको सानैदेखि हो। घान्द्रुकमा अरूले घोडा चढेको देख्दा उनीहरूलाई पनि चढ्ने रहर लाग्थ्यो। खच्चडले सामान ओसारपसार गरेको हेरिराख्थे। त्यही क्रममा घोडा चढ्न सिकेको उनीहरू बताउँछन्। “शुरूशुरूमा डर लाग्थ्यो,” कृष्ण भन्छन्, “जति जति घोडा चढेर हिंड्न थाल्यो, त्यति नै रमाइलो लाग्न थाल्यो।”
कृष्णले अहिले प्रतियोगितामा लिएर हिंड्ने घोडाको नाम कालु हो। कालु २७ वर्षको भयो। यो बूढो भइसकेको उनी सुनाउँछन्। हुन पनि घोडाको औसत उमेर २५ देखि ३० वर्ष हुन्छ। कालुकै सहायतामा उनले दुई वटा प्रतियोगितामा द्वितीय भएर पुरस्कार जितेका छन्।
कृष्णका साथीभाइ बाइक चढ्छन्। कहिलेकाहीं त बाइक किन्ने रहर लाग्ने गरेको उनी सुनाउँछन्। तर घोडा चढ्न पाउँदा आनन्द लाग्ने गरेको उनको अनुभव छ। “हाम्रो गाउँघरको माउन्टेन बाइक त घोडा नै हो नि!” उनी हाँस्दै भन्छन्।
विनोदको अधिकांश समय भैंसीगोठमा बित्छ। भैंसी पालेका छन्, खेतीपाती गर्छन्। व्यस्त दैनिकीबीच पनि समय निकाल्छन्, घोडा दौडाउन। उनले चढेको घोडाको नाम हो- टीका। पहिलो प्रतियोगितामै टीकाले तेस्रो स्थानमा पुर्याएको उनी सुनाउँछन्।
घोडा दौडमा सहभागीमध्ये अलि गम्भीर पनि छन्, विनोद। उनी पनि आफूसँगै घोडाको सुरक्षामा ध्यान दिनुपर्ने बताउँछन्। त्यसका अतिरिक्त घोडा दौडको तौरतरीकामा पनि उनले ध्यान पुर्याउने गरेका छन्। “घोडा र आफ्नो शरीरलाई नियन्त्रणमा राखेर दौडिनुपर्छ,” विनोद भन्छन्।
घान्द्रुकमा घोडा दौड प्रतियोगिता हुन थालेको पाँच वर्ष भयो। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र मनोरञ्जन दिन घोडा दौड प्रतियोगिता आयोजना गरिंदै आएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ बताउँछन्। “घोडा दौडले नयाँ आकर्षण थपेको छ,” गुरुङ भन्छन्।
घान्द्रुक मात्रै होइन, यस क्षेत्रका गाउँघरमा मेलामहोत्सवमा घोडा दौड प्रतियोगिता हुन्छ। विशेष गरेर कास्की आसपासका मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र लमजुङमा प्रतियोगिता हुने गरेका छन्। यी क्षेत्रमा अझै पनि घोडा र खच्चडबाट मालसामान ढुवानी गरिंदै आएको छ।
अझ हिमाली भेगका थुप्रै गाउँमा त ढुवानीका लागि सजिलो माध्यम नै घोडा र खच्चड हुन्। हिमाल आरोहण तथा पदयात्रामा निस्किने आन्तरिक तथा बाह्य पर्यटकका सरसामान बोकाउन पनि घोडा र खच्चडको प्रयोग हुँदै आएको छ। गाह्रोसाह्रो भएका यात्रीका साथी पनि घोडा नै हुन्छन्।
कतिपय पर्यटक सोखले पनि घोडा चढ्छन्। जसले स्थानीय बासिन्दालाई घोडा पाल्न प्रेरित गरिरहेको हुन्छ। कतिपय स्थानीय बासिन्दाको व्यवसाय नै घोडा र खच्चडपालन पनि हो। उनीहरू यसबाटै दैनिकी चलाइरहेका छन्।
घोडापालन व्यवसाय र पेशालाई बचाइराख्न पनि घोडा दौड प्रतियोगिता गरिन थालेका छन्। जसले नयाँ पुस्तालाई पनि घोडापालनतिर आकर्षित गरिरहेको छ।