इमर्जिङ कपमा छनोट हुन हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल
एससीसी इमर्जिङ टीम्स एशिया कपमा स्थान बनाउनका लागि आज नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै छ।
ओमनमा जारी एससीसी प्रिमियर कपबाट नै एशिया कप र इमर्जिङ टीम्स कपका लागि टोली छनोट हुनेछन्। नेपालको एशिया कपको यात्रा टुंगिएको छ।
वैशाख ७ मा सेमिफाइनलमा यूएईसँग पराजित भएपछि एशिया कपको बाटो बन्द भएको हो। प्रिमियर कपको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ।
त्यस्तै, प्रिमियर कपमा पहिलो, दोस्रो र तेस्रो हुने टोली इमर्जिङ टीम्स कपका लागि छनोट हुनेछन्। फाइनलमा पुगेका ओमन र यूएई छनोट भइसकेका छन्।
अब तेस्रो स्थानमा रहने टोली छनोट हुनेछ। त्यसका लागि नेपाल र हङकङ प्रतिस्पर्धा गर्न लागेका हुन्। सेमिफाइनलमा नेपाल यूएईसँग र हङकङ ओमनसँग पराजित भएका थिए।
तेस्रो स्थानका लागि नेपाल र हङकङको खेल आज अपराह्न ४ः१५ बजे शुरू हुनेछ।
इमर्जिङ टीम्स कपमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तान, श्रीलंका, भारत, अफगानिस्तान र बाङ्लादेशका ‘ए’ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै, प्रिमियर कपको फाइनलमा पुगेसँगै ओमन र यूएईले पनि आफ्नो स्थान सुरक्षित बनाइसकेका छन्। अब अन्तिम टोलीका रूपमा नेपाल र हङकङबीचको खेलको विजेता टोली छनोट हुनेछ।