सगरमाथा आरोहणका लागि ३५२ जनाले लिए अनुमति
वसन्त याममा सगरमाथा आरोहणका लागि ३५२ जनाले आरोहण अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ समूहका ६५ महिला र २८७ पुरुष गरी ३५२ जनाले आरोहणको अनुमति लिएका हुन्। हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।
विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रूपमा आरोही आइरहेको बताए। यस वर्ष ४०० भन्दा बढी आरोही आउने विश्वास गरिएको छ। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए।
सगरमाथा सहित विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत हालसम्म ५६ करोड ४० लाख ३१ हजार १८१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।