कोशीका मुख्यमन्त्री विरुद्धको संकल्प प्रस्ताव बहुमतले पारित
कोशी प्रदेश सभाको शुक्रबारको बैठकले मुख्यमन्त्री केदार कार्की विरुद्धको संकल्प प्रस्ताव बहुमतले पारित गरेको छ।
प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेश सभामा संकल्प प्रस्ताव पेश गरेका थिए। प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रस्तावका पक्षमा ५२, तटस्थ तीन जना र विपक्षमा रहने सदस्य सहभागी हुन नचाहेकाले प्रस्ताव बहुमतले पारित भएको सभामुख विष्टले घोषणा गरेका थिए।
इन्द्रबहादुर आङ्बो, नारायणबहादुर मगर, गोम्बू शेर्पा, गीता तिमल्सिना, सपना दर्जी, लीलाबल्लभ अधिकारी, कमला दर्नाल, विदुरकुमार लिङ्थेप, तिलचन पाठक र निर्मला लिम्बूले संकल्प प्रस्तावको समर्थन गर्दै मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने वा विश्वासको मत लिनुपर्ने बताए। संकल्प प्रस्तावमा मुख्यमन्त्री कार्कीले वैशाख २५ सम्म राजीनामा दिनुपर्ने वा विश्वासको मत लिनुपर्ने उल्लेख छ।
छलफलकै क्रममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले संकल्प प्रस्तावको समर्थन नगरे पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिई संविधान पालना गर्नुपर्ने बताए। कांग्रेसका प्रदेश सभा सदस्य खगेनसिं हाङ्गाम र विनोद राईले प्रस्तावकर्तालाई प्रदेशको विकास, समृद्धि र गरीबी निवारणका निम्ति संकल्प प्रस्ताव ल्याउन आग्रह गर्दै उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।
छलफलमा उठेका विषयको जवाफ दिंदै मुख्यमन्त्री कार्कीले ८६ जनाको विश्वासको मत प्राप्त गरेको स्मरण गराए। आफूले प्रक्रिया पूरा गरी विश्वासको मत लिएको उनको भनाइ थियो।
संवैधानिक संकटबाट पार लगाउन र राजनीतिक निकास दिन आफू मुख्यमन्त्री बन्दा संसद् विघटन हुनबाट जोगिएको उनको भनाइ थियो। प्रदेश सरकारले थोरै समयमा जनहितका धेरै काम गरेकाले संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरे।
संविधान र विधान पालना गर्ने प्रतिबद्धता जनाउँदै उनले आफ्नै नेतृत्वमा सर्वदलीय सरकार बनाई प्रदेशको बृहत् हितमा काम गर्न अपील गरेका थिए।