सुप्रिम सहकारीका अध्यक्ष थुनामा, दिपेश सहित ६ जनालाई धरौटीमा छोड्न आदेश
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व सञ्चालक दिपेशकुमार पुन सहित ६ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा राख्ने आदेश दिएको हो। त्यस्तै, बाँकी प्रतिवादीलाई भने धरौटीमा छाड्न भनेको छ।
जिल्ला अदालतका वैतनिक वकील कृष्णप्रसाद ढकालका अनुसार दिपेशकुमार पुनसँग चार लाख धरौटी माग गरिएको छ। उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।
त्यस्तै, सुप्रिम सहकारीको भैरहवा सेवा केन्द्रकी कर्मचारी प्रमुख दुर्गा चापागाईं पाण्डेलाई १८ लाख रुपैयाँ, कर्मचारी नवीन अछामीलाई १० लाख रुपैयाँ, दीपक न्यौपानेलाई चार लाख ४५ हजार रुपैयाँ, निता थापा मगर र रोशनी गुरुङलाई दुई–दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
जीबी राई, दिपेश पुन, सागर केसी लगायत २८ जनालाई प्रतिवादी बनाएर वैशाख ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीमध्ये दुई जना कास्की कारागारमा छन्। त्यस्तै, पाँच जना थुनामा छन् भने १९ जना फरार सूचीमा छन्।