कांग्रेसको बहिष्कारले ६ मिनेटमै सकियो गण्डकी प्रदेश सभा बैठक
नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक ६ मिनेटमै सकिएको छ।
कांग्रेसले बहिष्कार गरेका कारण शुक्रबारको प्रदेश सभाको बैठक कार्यसूची अनुसार अघि बढ्न सकेन। गण्डकी प्रदेश सभा बैठकमा पहिलो पटक प्रतिपक्षी दलका सांसद उपस्थित भएनन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको बैठक आह्वान गरेपछि कांग्रेस रुष्ट बनेको हो। शुक्रबार बिहानै बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का सांसद उपस्थित रहेको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले पटक पटक कांग्रेसका सांसदलाई बैठकमा उपस्थित हुन आह्वान गरेका थिए। प्रतिपक्षी उपस्थित नभएपछि उनले अर्को सूचना जारी नहुँदासम्मका लागि प्रदेश सभाको बैठक स्थगन भएको घोषणा गरे।
कांग्रेसले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दै बैठक बोलाउनु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरीत भएको भन्दै विरोध जनाएको हो। केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि सभामुखलाई समेत गन्ती गरेर एमालेका खगराज अधिकारी गत चैत २५ मा मुख्यमन्त्री बनेका थिए।
उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका थिए। त्यसलाई प्रदेश प्रमुख भट्टले मान्यता दिएर मुख्यमन्त्री नियुक्त गरेका थिए।
त्यस विरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गत चैत २७ मा सर्वोच्च अदालत पुगेका थिए। त्यसको भोलि पल्ट चैत २८ मा सर्वोच्चले सरकारले नियमित कार्यसञ्चालन बाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश दिएको थियो। यसमा वैशाख १० गते सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ तोकिएको छ।
त्यसैलाई लिएर कांग्रेसले प्रदेश सभाको बैठक बहिष्कार गरेको हो। प्रदेश सभाको बैठक यसअघि गत फागुन २१ मा बसेको थियो। त्यसयता राजनीतिक दल सत्ता फेरबदलमा लाग्दा प्रदेश सभाले काम गर्न सकेको छैन।