प्रत्याक्रमण नगर्न अमेरिकी सल्लाहका बावजूद इरानमा इजरायलको आक्रमण
इजरायली सेनाले शुक्रबार बिहानपख इरानतर्फ लक्ष्यित हवाई आक्रमण गरेको छ।
दुई इजरायली र तीन इरानी अधिकारीहरूको स्रोत उल्लेख गर्दै द न्यूयोर्क टाइम्सले आक्रमण भएको समाचार प्रकाशन गरेको छ।
इरानी अधिकारीका अनुसार मध्य इरानको इस्फहान नजीकैको सैन्य विमानस्थल नजीकै आक्रमण भएको छ। वैशाख २ मा इरानले इजरायललाई लक्ष्यित गर्दै गरेको ड्रोन र मिसाइल आक्रमणपछि इजरायलले गरेको यो पहिलो जवाफी हमला हो।
साना ड्रोनहरूको प्रयोग गरेर आक्रमण भएको इरानी अधिकारीहरूले जनाएका छन्। अर्को अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराले इरानी सरकारी मिडियाको हवाला दिंदै इरानले तीन वटा ड्रोन खसालेको जनाएको छ।
इरानको सरकारी टेलिभिजनका अनुसार इस्फहानमा विस्फोट भएसँगै इरानले हवाई प्रतिरक्षा प्रणाली सक्रिय बनाएको छ भने तेहरान, इस्फहान लगायतका ठाउँबाट हुने हवाई यात्रा स्थगन गरिएको छ।
इस्फहान इरानका लागि रणनीतिक रूपले महत्त्वपूर्ण स्थान हो जहाँ सैन्य अनुसन्धान केन्द्र छ भने त्यस नजीकैको नातान्ज शहरमा इरानको आणविक केन्द्र छ। इरानको तास्निम समाचार एजेन्सीले ‘विश्वसनीय स्रोत’ को हवाला दिंदै इजरायलको यो आक्रमणमा इस्फहानमा रहेको आणविक केन्द्र ‘पूर्णतः सुरक्षित’ रहेको जनाएको छ।
अमेरिका पहिले नै जानकार
इजरायलले अहिले गरेको आक्रमणबारे उसको सहयोगी महाशक्ति संयुक्त राज्य अमेरिका पहिले नै जानकार रहेको अरब न्यूजले उल्लेख गरेको छ। यो आक्रमणबारे पूर्व सूचना पाए पनि अमेरिकाले कुनै भूमिका खेलेको थिएन।
अमेरिकी सञ्चारमाध्यमहरूको हवाला दिंदै अरब न्यूजले उल्लेख गरे अनुसार वैशाख ६ मा नै इजरायलले इरानमा आक्रमण गर्ने जानकारी दिएको थियो। “हामीले कुनै प्रतिक्रिया दिएनौं,” सीएनएनलाई एक जना अमेरिकी सैन्य अधिकारीले भनेका छन्।
१ अप्रिलमा सिरियाको दमास्कसस्थित इरानी दूतावासमा इजरायलले गरेको हवाई आक्रमणमा आफ्ना सैन्य अधिकारी मारिएपछि इरानले इजरायलमा आक्रमण गरेको थियो। उक्त हवाई आक्रमणको जवाफ नदिन अमेरिकी राष्ट्रपति जो बाइडेनले सुझाएका थिए। इजरायलले जवाफी आक्रमण गरे क्षेत्रीय युद्ध चर्किने भय उनले व्यक्त गरेका थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समक्ष त्यस्तो आक्रमण गरे आफू संलग्न नहुने समेत बाइडेनले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन्।
इजरायलले गरेको यो हमलाबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिइसकेको छैन।