लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, नाउपा पनि सरकारमा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
नेकपा (एमाले)बाट चार, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रबाट एक-एक सांसदलाई मन्त्री नियुक्ति गरिएको छ। मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले सात जनालाई मन्त्री नियुक्त गरेका हुन्।
बिहीबार एमालेबाट रुपन्देहीका भूमीश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्री मन्त्री बनेका छन्। त्यस्तै, एकीकृत समाजवादीबाट भगवती अधिकारी, नाउपाबाट धर्मबहादुर चौधरी र स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत पनि मन्त्री बनेका छन्।
सात जना मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश सरकार ११ सदस्यीय बनेको छ। यसअघि एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट रोल्पाका दिपेन्द्रकुमार पुन र जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर मन्त्रीमा नियुक्त भएका थिए।
एमालेका आचार्यलाई आर्थिक मामिला तथा योजना, पुनलाई स्वास्थ्य र जसपाका अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। अन्य मन्त्रीलाई जिम्मेवारी दिइएको छैन।
नवनियुक्त मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।