तोयम राया महालेखा परीक्षक नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार तोयम रायालाई महालेखा परीक्षक नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले सरकारको सिफारिशमा रायालाई महालेखा परीक्षक नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम महालेखा परीक्षक पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।
यस उपधारामा संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने व्यवस्था छ। गत चैत १८ मा बसेको संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षक नियुक्तिका लागि सिफारिश गरेको थियो।
त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। उनले संसदीय सुनुवाइ समितिको बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
यसअघि राया राष्ट्रिय तथ्यांक कार्यालयका सचिव थिए। महालेखा परीक्षकमा सिफारिश भएपछि उनले सचिवबाट राजीनामा दिएका थिए।