जनकपुरधाममा जलेर युवती र बालिकाको मृत्यु
जनकपुरधामस्थित पोखरीको डिलमा जलेर एक युवती र बालिकाको ज्यान गएको छ।
गएराति धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६, पुल्चोकस्थित रेलमार्ग नजिकै पोखरी डिलमा शव जलिरहेको भन्दै प्रहरीलाई खबर आएको थियो। राति करीब ९ बजेतिर खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले बताए।
डीएसपी अवाका अनुसार प्रहरी टोली पुग्दा युवतीको शव पूर्ण रूपमा जलिसकेको थियो। “युवतीको शव पूर्ण रूपमा जलिसकेकाले चिन्न सक्ने अवस्था थिएन, मृत्यु भइसकेको थियो,” उनले भने।
युवतीको छेउमै आठ-नौ महीनाकी एक बालिका थिइन्। बालिका पनि जलेर घाइते अवस्थामा भेटिएको डीएसपी अवाले बताए। “तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुरधाममा लगेका थियौं, केही समयपछि बालिकाको पनि ज्यान गयो,” उनले भने।
जलेर मृत्यु भएकी युवती महोत्तरीको मनरा सिसवा नगरपालिकाकी प्रियंका महतो रहेको खुलेको उनले बताए। शव पहिचानका लागि उनका परिवारजनलाई बोलाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवाले बताए।