कामदत्त सेन कहिले भएका थिए विजयपुरका राजा?
कामदत्त सेनले विजयपुरको राजसिंहासन सम्हालेको संवत्बारे इतिहासकारहरूले लेखेका फरक फरक मतलाई खण्डन गर्ने गरी सक्कली कागजात नै भेटिएका छन्।
विसं १८३१ साउन २२ को सन्धि मार्फत गोर्खा राज्य मातहतमा पुग्नुअघि विजयपुर छुट्टै राज्य थियो। विजयपुर राज्यको अन्तिम समयतिर राजा र देवान (मन्त्री)बीचको कलह उत्कर्षमा पुगेको थियो। शक्ति संघर्षकै क्रममा उति वेलाका शक्तिशाली देवान बुद्धिकर्ण राय (राई)ले राजा कामदत्त सेनको हत्या गराएका थिए।
विजयपुरमा शासन गर्ने सेन राजाका तुलनामा पुस्तैनी दिवान हुने अधिकार पाएका लिम्बूहरू शक्तिशाली हुन्थे। कामदत्त ल्याइतेतिरका भएकाले उत्तराधिकारी हुन योग्य नरहेको भन्दै तत्कालीन देवान विचित्र राय उनलाई राजा मान्न तयार भएनन्। त्यो स्थितिमा कामदत्त सेनले अनेकौं हन्डर खानुपरेको इतिहास पढ्न पाइन्छ। अनेक उपाय लगाएर तथा त्यहाँका देवानहरूलाई रिझाएर आफ्नो पुस्तैनी राज्याधिकार लिन त उनी सफल भए, तर विसं १८२६ मा तत्कालीन देवान बुद्धिकर्ण राय (विचित्र रायका छोरा)को योजना अनुसार उनी मारिए।
पुरातत्त्व विभागको प्रकाशन प्राचीन नेपाल (संख्या ११३, भदौ–असोज २०४६ः४)मा इतिहासकार तथा संस्कृतिविद् रमेश ढुंगेलले उल्लेख गरे अनुसार त्यस वेला किरात प्रदेशमा सेन राजाहरूको राजनीतिक अधिकार आदर्शका रूपमा रहे पनि स्थानीय शासनमा भने त्यस क्षेत्रका स्थानीय सामन्त रहेका र पुस्तैनी रूपमा कार्यरत किरात देवान र हाङहरूकै हात हुन्थ्यो। अर्थात् हिन्दूपति सेनहरूलाई राजा माने पनि किरातहरूको आफ्नै किसिमको परम्परागत शासन चल्थ्यो। पल्लो किरातमा पनि लिम्बूहरूका १० जना दलपति हाङहरूले नै वास्तविक शासन चलाउँथे।
कामदत्त सेन विजयपुरको राजा कहिले भएका थिए त? यस प्रश्नको उत्तर खोज्दा इतिहासकारहरूबीच एकमत देखिंदैन। इतिहास शिरोमणि बाबुराम आचार्यले कामदत्त सेन राजा भएको साल भनी २८ वर्ष फरक पर्ने गरी दुई वटा संवत् उल्लेख गरेका छन् भने इमानसिंह चेम्जोङले पनि एउटा साल किटेका छन्। तर यी सबै लेखनलाई खण्डन गर्ने सक्कली कागजपत्रहरू नै भेटिएका छन्।
राजा कामदत्त सेन राजा भएको सालको खोजीमा यो लेख केन्द्रित छ।
विसन्तर सेन
कामदत्त सेनको चर्चा गर्नुअघि राजा विसन्तर सेनका बारेमा चर्चा गर्नु आवश्यक हुन्छ।
विसं १८०८ मा विजयपुरमा बसेर राज्य चलाउने सेन राजाहरूमध्ये विसन्तर सेन नामका एक राजा देखिन्छन्। उनको नाममा प्रसारित स्याहामोहर प्रकाशित छ। शंकरमान राजवंशीको सम्पादनमा प्रकाशित पुरातत्त्व पत्र संग्रह– दोस्रो भाग (२०१८ः९)मा विसन्तर सेनले विसं १८०८ माघ सुदी ११ मा विजयपुर मुकामबाट मानसिंह नामका भारदारलाई लेटाङको मौजा जागीर दिएको स्याहामोहर छापिएको छ। यस मोहरमा देवान सिरीकान्त रायले रुजु गरेका छन्। यसबाट विजयपुरमा बसेर शासन गर्ने सेन राजाहरूमध्ये विसन्तर पनि एक थिए भन्ने देखिन्छ।
विसं १८०८ माघ सुदी ११ कै स्याहामोहर इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो पुस्तक किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (२०५९ः५६–५७)मा प्रकाशन गरेका छन्। यस पुस्तकमा भने राजा विश्वम्भर सेनले प्रसारित गरेको भनी उल्लेख छ। चेम्जोङले यो स्याहामोहरको स्रोत भने उल्लेख गरेका छैनन्। उक्त पुस्तक लेखनका क्रममा उनले प्रयोग गरेको सन्दर्भ ग्रन्थमा पुरातत्त्व पत्र संग्रह– दोस्रो भाग (२०१८) भन्ने परेको छैन। उनले अन्य स्रोतबाट उक्त स्याहामोहर फेला पारेका हुन सक्छन्।
चेम्जोङको किरातकालीन विजयपुरको संक्षिप्त इतिहास विसं २०३० मा प्रकाशन भएको हो। उनी त्रिभुवन विश्वविद्यालयको तत्कालीन नेपाल र एशियाली अध्ययन संस्थान (इनास)को किरात भाषा तथा साहित्य संस्कृति विशेषज्ञ पदमा कार्यरत रहँदा यो पुस्तक निकालेका हुन्।
एउटै स्याहामोहर जारी गर्ने राजाको नाम एउटा पुस्तकमा विसन्तर सेन र अर्कोमा विश्वम्भर सेन हुँदा यसले अन्योल सिर्जना गरेको छ। यसलाई एक ढंगले विचार गरिहेर्दा विसन्तर र विश्वम्भर सेन एउटै व्यक्ति हुन् कि भन्ने पनि लाग्छ। स्याहामोहर सार्दा गल्ती भएका कारण एउटै व्यक्तिका दुई नाम लेखिन पुगेको हुन पनि सक्छ।
‘सेन वंश र विजयपुर राज्य’ शीर्षकमा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालयको इतिहास विभागका प्राध्यापक रमेशकुमार श्रेष्ठले विश्वविद्यालयलाई विसं २०७१ मा बुझाएको आफ्नो शोधग्रन्थ (अप्रकाशित)को पृष्ठ १३२ मा भने धेरैजसो विद्वान्ले विश्वम्भर र विसन्तर सेन बेग्लै राजा भएको विवरण दिएको प्रसंग राख्दै विजयपुरको इतिहासमा विसन्तर सेन नामका राजाले शासन गरेको नपाइएको र विसन्तर सेन मान्धाता सेनको अर्को नाम हुन सक्ने अनुमान गरिएको छ। यसबाट ठोस निष्कर्ष निस्कने देखिंदैन।
चेम्जोङ (२०५९ः५६)ले राजा जगत सेनको अर्को नाम विश्वम्भर सेन भएको ठोकुवा गरेका छन्। उनले विजयपुरका देवान विचित्र रायले महिपति वा मान्धाता सेनका उत्तराधिकारीका रूपमा कामदत्त सेनलाई नस्विकारी मकवानपुरका राजा मानिक सेनका छोरा जगत सेनलाई ल्याई सिंहासनमा राखेको र जगत सेनले आफ्नो नाम विश्वम्भर सेन राखी विजयपुरको शासन सम्हालेर मोरङको पश्चिमी भागमा मात्र हक राखी पूर्वी भाग कामदत्त सेनलाई छाडिदिएको लेखेका छन्।
यसका आधारमा जगत सेनको अर्को नाम विश्वम्भर भएको मान्नुपर्ने हुन्छ। अर्कातिर, धेरैजसो इतिहासकारले महिपति सेन र मान्धाता सेन एकै व्यक्ति भएको उल्लेख गरेका छन्।
चेम्जोङले विश्वम्भरलाई जगत सेन मान्ने र श्रेष्ठले विसन्तरलाई मान्धाता वा महिपति सेन मान्ने हो भने एउटै मिति र एउटै व्यहोराको स्याहामोहर दुई राजाको नाममा कसरी प्रसारित हुन पुग्यो भन्ने प्रश्न उठ्छ।
इतिहास शिरोमणि आचार्यले भने विसन्तर सेन महिपति सेनका छोरा भएको उल्लेख गरेका छन्। आचार्यले आफ्नो पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (२०६१ः४१५)मा राजा महिपति सेनको समयमा राजा र देवानहरूबीच कलह भएको तर यिनका छोरा विसन्तर सेनको समयमा देवानहरूसँग कलह भएको नदेखिएको प्रसंग जोड्दै विसन्तरका छोरा कामदत्त सेनले देवानहरूको शक्ति दबाउन खोज्दा कहिले राजा र कहिले देवान सिक्किम या पुर्णियातिर भाग्नुपरेको उल्लेख गरेका छन्।
आफ्नो विद्यावारिधिको शोधमा मान्धाता सेन र विसन्तर सेन एउटै व्यक्ति हुन सक्ने अनुमान गरेका श्रेष्ठले अध्ययनका क्रममा पूर्व कार्य समीक्षा गर्दा इतिहास शिरोमणि आचार्य लिखित श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीको पनि अध्ययन गरेको देखिन्छ। तर उक्त पुस्तकमा आचार्यले विसन्तर सेन महिपति सेनका छोरा र कामदत्त सेनका बाबु हुन् भनी उल्लेख गरेको प्रसंगलाई भने श्रेष्ठले आफ्नो शोधग्रन्थमा बेवास्ता गरेका छन्। त्यसबारे खण्डन वा पुष्टि गर्नुपर्ने जोखिम मोल्न उनले नचाहेको देखिन्छ।
श्रेष्ठले आफ्नो शोधमा विसन्तर सेनको प्रसंग मात्र उल्लेख गरेका छैनन्, ‘विजयपुरका राजा विसन्तर सेनको पत्र’ भनी (२०७१ः१९७) राजा विसन्तर सेनले विसं १८०८ माघ सुदी ११ मा मानसिंह नामका मन्त्रीलाई लेखेको पत्र परिशिष्ट १२ मा राखेका छन्। उनले यस पत्रको स्रोतमा विष्णुप्रसाद घिमिरेको पाल्पा राज्यको इतिहास– भाग २ (पृ. २०७–८) उल्लेख गरेका छन्।
विसन्तर सेनलाई महिपति सेनका छोरा र कामदत्त सेनका बाबु भनी उल्लेख गर्ने आचार्यकै अर्को लेखनमा भने बीचका विसन्तर सेन गायब छन्। उनले इतिहासप्रधान पत्रिका पूर्णिमाको पूर्णांक ४९ (असोज २०३८ः८–९)मा ईसं १७२८ (विसं १७८५) तिर विजयपुरका राजा महिपति सेन परलोक हुँदा तिनका छोरा कामदत्त सेन राजा भएका थिए भन्ने उल्लेख गरेका छन्।
आचार्यका यी दुई फरक लेखनबाट विजयपुरका राजा कामदत्त सेनलाई महिपति सेनका छोरा मान्ने कि नाति?
अर्कातिर, राजा विसन्तर वा विश्वम्भर र कामदत्त सेनसम्म आइपुग्ने राजवंशावलीको अभावका कारण माथि उल्लेख भएका अन्योल चिरेर टुंगोमा पुग्न कठिन छ। योगी नरहरिनाथको इतिहास प्रकाशमा सन्धिपत्र संग्रह– भाग १ (२०५५ः५२२–२४) र मोहनप्रसाद खनालको सेन राज्यको राजनैतिक इतिहास (२०६१ः१८४)मा मकवानपुरका राजा लोहाङ सेनका उत्तराधिकारीहरूमा राघव सेन, हरिहर सेन र शुभ सेनसम्म आउँदा मकवानपुर राज्यको जिम्मा पाउने शुभ सेनका छोरा मानिक सेनका छोरा हेमकर्ण र उनका छोरा दिग्बन्धन सेनसम्म उल्लेख छ भने विजयपुरका राजाहरूमा महिपति सेनपछिका उत्तराधिकारीहरूको नाम उल्लेख छैन। त्यसैले विसन्तर वा विश्वम्भर सेनबारे अनुमान मात्र गर्न सकिने अवस्था छ।
त्यसो भए चेम्जोङको लेखनलाई आधार मान्दा विश्वम्भर वा विसन्तर सेन उनै मानिक सेनका छोरा जगत सेन हुन् त?
जगत सेनको राज्यकाल
राज्य विभाजित हुन पुग्दा मकवानपुरमा शुभ सेन र विजयपुरमा उनका भतिज विधाताइन्द्र सेनले राज्य गरिरहेका थिए। तर उनीहरू पूर्णियाका नवाव इस्कन्दर खाँको कब्जामा परेपछि किरात प्रदेशमा शरण लिन पुगेका उनका छोराहरूमध्ये जेठो महिपति (मान्धाता) विजयपुरको र कान्छा मानिक सेन मकवानपुरको राजसिंहासनमा बसे (साफल्य अमात्य, प्राचीन नेपाल संख्या ४९–५२–पुस २०३५–साउन २०३६ः१५–१८)।
फ्रान्सिस ह्यामिल्टनले एन एकाउन्ट अफ् द किङडम अफ् नेपाल (सन् १८१९ः३९)मा उल्लेख गरे अनुसार महिपति सेनको वास्तविक नाम मान्धाता थियो। उनले आफ्ना विवाहिता रानीहरूलाई बेवास्ता गरेका थिए। उनका ल्याइते रानीहरूका तर्फबाट १८ सन्तान जन्मिएका थिए।
त्यस समय विजयपुरमा शक्तिशाली देवानका रूपमा विचित्र राय कार्यरत थिए। राजा महिपति सेनसँग उनको राम्रो सम्बन्ध थिएन। यिनीहरूका बीचमा वैमनस्य पैदा हुँदा एक पटक राजा महिपति आफ्नो राज्यबाट पलायन भई शरणार्थीका रूपमा तिब्बतको राजधानी ल्हासा पुग्नुपरेको थियो। त्यस्तो अवस्थामा विजयपुरका देवान वा मन्त्रीहरू राजभार–सामर्थ भई स्वयम् स्वतन्त्र प्रशासकका रूपमा काम गर्थे (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त –२०६३ः१८५)।
ह्यामिल्टन (सन् १८१९ः१३९–४०)का अनुसार १८ देखि २० वर्षसम्म शासन चलाएर महिपति (मान्धाता) सेनले आफ्ना छोरा कामदत्त सेनलाई राज्य छाडिदिएका थिए। तर कामदत्तसँग पनि देवान विचित्र रायको राम्रो सम्बन्ध हुन सकेन। फलतः कामदत्त ल्हासातिर भाग्नुपरेको थियो। त्यसपछि विचित्र रायले उनको स्थानमा जगत सेनलाई राजा बनाए। पछि जगत सेनले कमला र कोशी नदीबीचको भूभाग मात्र आफ्ना लागि राखेर पूर्वको भूभाग कामदत्तलाई छाडिदिए, जसका कारण मकवानपुर राज्य तीन भागमा विभाजित हुन पुग्यो।
योगी (२०५५ः५२२–२४) र खनाल (२०६१ः१८४)ले प्रकाशमा ल्याएको सेन वंशावली अनुसार जगत सेन मकवानपुरका राजा मानिक सेनका चार भाइ छोरामध्ये माहिला छोरा हुन्। जगत सेन विजयपुरका राजा भएका वेला उनका जेठा दाजु हेमकर्ण सेन मकवानपुरको सिंहासनमा थिए।
ह्यामिल्टन (सन् १८१९ः१३९–४०)ले देवान विचित्र रायसँग मतभेद भएपछि राजा कामदत्त सेन ल्हासा पलायन भएको उल्लेख गरेका छन् भने आचार्य (२०६३ः१८५)ले विचित्र रायसँग बेमेल भएपछि राजा महिपति सेन ल्हासा पलायन भएको लेखेका छन्। तर दुवै लेखकमा विचित्र रायले जगत सेनलाई राजा बनाएकोमा एउटै मत देखिन्छ।
राजा जगत सेनको राज्यकाल कहिले हो भन्नेबारे चाहिं लेखकहरूमा फरक फरक मत छ। विश्वम्भर सेन नै जगत सेनको अर्को नाम हो भन्ने चेम्जोङ (२०५९ः५६–५७)ले उनको राज्यकाल विसं १८०७–१८१८ उल्लेख गरेका छन्। यस्तै, आचार्य (२०६३ः१८५)ले देवान विचित्र रायले जगत सेनलाई विसं १७८७ को आसपासमा राजा बनाएको लेखेका छन्। ह्यामिल्टनले भने जगत सेन राजा भएको मिति उल्लेख गरेका छैनन्।
चेम्जोङले जगत सेन वा विश्वम्भर सेन विसं १८१८ सम्म विजयपुरको राजा भएको प्रमाण भने दिन सकेका छैनन्। उनले राजा विश्वम्भर सेनको नामबाट विजयपुर मुकाम गरी जारी भएका विसं १८०७ आश्विन सुदी ३ र विसं १८०८ माघ सुदी ११ को मोहर मात्रै प्रकाशन गरेर उनको राज्यकालको वर्णन टुंग्याएका छन्। त्यसैले विसं १८१८ सम्म जगत सेन विजयपुरका राजा थिए भन्ने चेम्जोङको दाबी प्रामाणिक देखिंदैन।
बरु विसं १८०७ तथा विसं १८०८ मा जारी मोहरबाट देखिएको सक्रियता अनुसार विश्वम्भर वा विसन्तर सेन एकै व्यक्ति हुन सक्ने र यी व्यक्ति जगत सेन नै हुन सक्ने अनुमान गर्न सकिन्छ। इतिहासकार ज्ञानमणि नेपालले पनि नेपाल निरुक्त (२०७४ः२८०)मा विसं १८०८ को मोहरका आधारमा विसन्तर र विश्वम्भर सेन एउटै व्यक्ति भएको उल्लेख गरेका छन्।
कामदत्त सेन कहिले राजा भए?
परम्परागत सेन राजवंश अनुसार कामदत्त सेन विजयपुरका अन्तिम राजा हुन्। देवान बुद्धिकर्ण रायले कामदत्तको हत्या गरेपछि एक पटक रघुनाथ सेन विजयपुरको सिंहासनमा बसेको र उनीपछि बुद्धिकर्णले नै चौदण्डीबाट झिकाई कर्ण सेनलाई विजयपुरको पनि राजा बनाएको इतिहासमा पढ्न पाइन्छ।
कामदत्त सेन कहिले राजा भए भन्नेबारे इतिहासकारहरूको एकमत पाइँदैन। यसमा इतिहास शिरोमणि आचार्यले कामदत्त सेनले राज्य शुरू गरेको विषयमा दुई वटा फरक मिति उल्लेख गरेका छन्। उनले पूर्णिमाको पूर्णांक ४९ (असोज २०३८ः८)मा विसं १७८५ तिर कामदत्त सेन राजा भएका थिए भन्ने उल्लेख गरेका छन्। यसबारे आचार्यले ठोस प्रमाण प्रस्तुत गरेका छैनन्। अर्कातिर, नेपालको संक्षिप्त वृत्तान्त(२०६३ः१८६)मा महिपति सेनको मृत्युपछि विसं १८०८ मा विसन्तर सेन राजा भएका र त्यसको करीब पाँच वर्षपछि अर्थात् विसं १८१३ मा कामदत्त सेन राजा भएको भनेका छन्। आचार्यले २८ वर्षको फरक पारी कामदत्त सेन राजा भएका दुई वटा मिति दिएर अन्योल थपिदिएका छन्। पुरातत्त्व पत्र संग्रह दोस्रो भाग (२०१८ः१०)मा प्रकाशित विसं १८१३ पुस वदी ८ मा राजा कामदत्त सेनले रामचन्द्र पण्डितलाई दिएको मोहरका आधारमा आचार्यले कामदत्त विसं १८१३ मा राजा भएका थिए भन्ने निष्कर्ष निकालेको अनुमान गर्न सकिन्छ।
चेम्जोङ (२०५९ः४६)ले कामदत्त सेन विसं १८१८ मा विजयपुरको राजा भएको उल्लेख गरेका छन्। उनले विसं १८१८ सम्म विश्वम्भर अर्थात् जगत सेन विजयपुरको सिंहासनमा बसेको लेखे पनि यसबारे ठोस प्रमाण दिन नसकेको माथि चर्चा गरिसकिएको छ।
श्रेष्ठ (२०७१ः१३३)ले भने कामदत्त सेन विसं १८०८ मा विजयपुरको राजसिंहासनमा बसेको उल्लेख गरेका छन्। श्रेष्ठले विसं १८०८ मा विश्वम्भर अर्थात् जगत सेनले मानसिंह नामका मन्त्रीलाई जागीर बापत मोहर दिएको र उनले कामदत्त सेन र बुद्धिकर्ण रायबीच भएको झगडा मिलाएर उनी चौदण्डीतर्फ फर्केको भन्ने इतिहासकारहरूबाट व्यक्त धारणाका आधारमा कामदत्त सेन विसं १८०८ मा विजयपुरको राजा भएको उल्लेख गरेका हुन् भन्ने देखिन्छ। उनले पनि कामदत्त सेनले सोही साल विजयपुरको शासन सम्हालेको ठोस प्रमाण प्रस्तुत गर्न सकेका छैनन्।
विसं १८१८ देखि कामदत्त सेन विजयपुरको राजसिंहासनमा बसे भन्ने चेम्जोङको धारणा गलत छ। किनकि विसं १८१८ भन्दाअघि कामदत्त सेनले जारी गरेका मोहरहरू उपलब्ध छन्। पुरातत्त्व पत्र संग्रह– दोस्रो भाग (२०१८ः१०)मा प्रकाशित विसं १८१३ पुस वदी ८ मा विजयपुर मुकाम उल्लेख गरी देवान सिरिकान्त रायलाई रुजु गराई रामचन्द्र पण्डितलाई उनले दिएको मोहर एउटा महत्त्वपूर्ण प्रमाण हो।
यसैगरी, विसं १८१४ फागुन सुदी १ मा विजयपुरबाटै सुनंदत्तु राय लगायतका नाममा कामदत्त सेनले जारी गरेको मोहरको सक्कल नै फेला परेको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–४, बुढिमोरङका देव इवाहाङको संकलनमा रहेको यो मोहर इतिहासकार भगिराज इङ्नामले लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (२०७७ः४०–४१)मा छापेका छन्। यसले पनि विसं १८१८ मा कामदत्त सेन राजा भएका थिए भन्ने चेम्जोङको लेखन स्वतः खण्डन गर्छ।
अझ महत्त्वपूर्ण अम्बिकाप्रसाद आङ्देम्वेले लिम्बूको संक्षिप्त इतिहास र आङ्देम्वे वंशावली (२०६६ः१८८)मा प्रकाशन गरेको कामदत्त सेनको सक्कली मोहरले उनी विसं १८०८ मा राजा भएको स्पष्ट देखिन्छ। यो मोहर कुम रायको नाममा जारी गरिएको छ र जारी गरिएको मिति विसं १८०८ वैशाख उल्लेख छ। यो मोहरको सक्कल पाँचथर जिल्लाको साविकको नवमीडाँडा गाविस (हालको फाल्गुनन्द गाउँपालिका वडा नम्बर १)का हर्कबहादुर आङ्देम्वेसँग सुरक्षित छ।
यसरी राजाको हैसियतबाट कुम रायका नाममा आफ्नो छाप सहितको मोहर जारी गर्दा कामदत्त सेन विजयपुरमा भने थिएनन्। मोहरको बायाँ किनारमा रोज मुकाम मूलघाट लेखिएको छ। उनको मोहरमा देवानले रुजु गरेको देखिंदैन। मूलघाट विजयपुरदेखि उत्तर धनकुटा हुँदै बग्ने तमोर नदीको किनारमा अवस्थित छ।
त्यस वेला विजयपुर राज्यमा रहेर विश्वम्भर वा विसन्तर सेनका नाममा त्यहाँका देवान जगत सेनले शासन गरिरहेका थिए भन्ने देखिन्छ। उनले कामदत्त सेनभन्दा १० महीनापछि विसं १८०८ माघमा विजयपुर मुकामबाट देवान सिरिकान्त रायलाई रुजुमा राखी मन्त्री मानसिंहलाई मोहर जारी गर्नुले त्यस वेला विजयपुरमा द्वैध शासन चलिरहेको थियो कि भन्ने पनि देखाउँछ। तर हालसम्मको ठोस प्रमाणले कामदत्त सेन विसं १८०८ वैशाखमा राजा भएका थिए भन्ने प्रमाणित हुन्छ।