परोपकारको मानक बनाएकी ओल्गा मरे
कैयौं पटक कमलरीहरूको मुक्तिका लागि सडकमा समेत उत्रिएकी ओल्गाकै पहलमा तत्कालीन १४ वटै अञ्चल अस्पतालमा पोषण शाखा समेत स्थापना गरिएको थियो।
गत फागुन ८ गते अमेरिकाको क्यालिफोर्नियामा ९८ वर्षीया नामी कानूनवेत्ता ओल्गा मरेको निधनले काठमाडौंकी निर्मला ज्ञवालीलाई शोकाकुल बनायो। ओल्गालाई सम्झिंदै निर्मला भन्छिन्, “ममा जस्तोसुकै कठिन हालतमा पनि जीवनलाई उठाएर हिंडाउनुपर्छ भन्ने वजनदार चेत भर्नुभएकी ओल्गा ममीलाई म असाध्यै माया गर्छु।”
निर्मला दृष्टिविहीन हुन्। उनलाई गुल्मीको दुर्गम भेगबाट काठमाडौं ल्याएर पढाइलेखाइको बन्दोबस्त मिलाउने उनै ओल्गा हुन्। निर्मलासँगै उनका दाजु बलराम र दिदी सीतालाई पनि ओल्गाले काठमाडौं ल्याएकी थिइन्। “उहाँ (ओल्गा) ठूलो पुण्यकर्म गरेर अस्ताउनुभयो। बिरानो मुलुकका दुःखीगरीबहरूका लागि उहाँले लगाएको गुन अनन्त छ,” बलरामले भने।
सन् २०२२ मा सउसालिटो क्यालिफोर्नियास्थित आफ्नै निवासमा ओल्गा। तस्वीर : नेपाल यूथ फाउन्डेशन
ओल्गासँग बलरामको अन्तिम भेट एक वर्षअघि काठमाडौंमा भएको थियो।
अमेरिकी नागरिक ओल्गाले आफ्नो जीवनकालमा ३८ पटक नेपाल भ्रमण गरिन्। भ्रमणकी सोखिन उनी पहिलो पटक सन् १९८४ मा नेपाल आएकी थिइन् जति वेला बहालवाला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याले भारत अशान्त थियो। त्यसअघि उनले नेपालबारे खासै सुनेकी थिइनन्। “तर यहाँ आएपछि मलाई यहाँको अद्भुत प्राकृतिक सौन्दर्य र जीवनशैलीले लोभ्यायो,” पाँच वर्षअघि हिमाल खबरपत्रिकाका लागि संवाद गर्न जावलाखेलस्थित मुर्रेको निवास पुग्दा पंक्तिकारसँग उनले भनेकी थिइन्, “तर त्यसअघि चीन र भारतको बीचमा कतै एउटा शान्त मुलुक छ भन्नेसम्म मात्र सुनेकी थिएँ।”
उक्त भेटमै ओल्गाले जीवनलाई करुणाको कसीमा घोटेर हेर्न चाहेको बताएकी थिइन्।
किन सम्झने ओल्गालाई?
पश्चिम नेपालमा कमलरी बसेका थारू महिलाहरूलाई बँधुवा मजदूरको हालतबाट बाहिर निकालेर चेतना भर्न ओल्गाको ठूलो योगदान छ। जमीनदारको ऋणबाट मुक्त गर्न उनले १२ हजार ८०० थारू परिवारलाई सुँगुर र बाख्राका पाठापाठी बाँडेकी थिइन्। यसपछि जमीनदारको घरमा बँधुवा मजदूर बसेका बालिकाहरूको बाटो मोडियो र उनीहरू विद्यालय गए।
ओल्गा कैयौं पटक कमलरीहरूसँगै मुक्तिका लागि मुट्ठी उचाल्दै सडकमा समेत निस्किएकी थिइन्। उनकै पहलमा तत्कालीन १४ वटै अञ्चल अस्पतालमा पोषण शाखा समेत स्थापना गरिएको थियो।
ओल्गाले ललितपुरको चुनिखेलमा स्थापना गरेको ओल्गापुरीमा ८० बालबालिकाले आवासीय शिक्षा लिइरहेका छन्। नेपालमा परोपकारकर्मलाई स्थायी रूपमा अघि बढाउन उनले सन् १९९० मा स्थापना गरेको नेपाल यूथ फाउन्डेशन (एनवाईएफ)ले हरेक वर्ष ७०० भन्दा बढीलाई सीपमूलक तालीम दिइरहेको छ।
सन् २०१४ मा मुक्त कमलरी दिवसका अवसरमा आयोजित र्यालीमा पूर्व कमलरीहरूसँग ओल्गा। तस्वीर : सन्जोग मानन्धर/नेपाल यूथ फाउन्डेशन
यस्तै, वार्षिक ४०० भन्दा बढीले उच्च शिक्षा पढ्न छात्रवृत्ति पनि पाइरहेका छन्। यसका अलावा प्रत्येक वर्ष २०० जना अपांगता भएकाहरूले पनि पढाइका लागि यस संस्थाबाट छात्रवृत्ति पाउँदै आएका छन्।
एनवाईएफका अध्यक्ष सोम पनेरू संस्थाले वार्षिक चार हजार ५०० चिकित्साकर्मीलाई पोषण सम्बन्धी विशेष तालीम दिंदै देशैभर पोषण शिविर पनि सञ्चालन गर्ने गरिएको बताउँछन्। सोम आफैं पनि ओल्गाद्वारा प्रदत्त छात्रवृत्ति पाएरै उच्च शिक्षा अध्ययन गरेका व्यक्ति हुन्।
ओल्गाका परोपकारी गतिविधिबाट हालसम्म कम्तीमा ६० हजार नेपाली लाभान्वित भएको बताइएको छ। ३४ वर्षदेखि नजिक रही काम गरेको बताउँदै सोमले ओल्गाबारे भने, “उहाँ सधैं अर्थपूर्ण र सम्मान सहितको सहयोगले मात्र जीवन बदल्न सक्ने बताउनुहुन्थ्यो।”
जीवनको उत्तरार्धमा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा रहँदा ओल्गालाई एक नेपाली सन्तोष बस्नेतले हेरचाह गरेका थिए। ३० वर्षदेखि ओल्गाको साथ, सहयोग र प्रेरणा पाएको बताउने सन्तोष ओल्गाबाटै आफूले ममत्व सहितको न्याय र करुणाले भरिएको व्यवहार पाएको बताउँछन्।
ओल्गाले स्मरणशक्ति गुमाउँदै गए पनि अरूका लागि समेत बाँच्नुमा मान्छेको जीवनको सार्थकता हुने बताउने गरेको उनी सम्झन्छन्। “संसारलाई थप सुन्दर बनाउन अरूलाई सके जति मद्दत गर,” ओल्गाको भनाइ उद्धृत गर्दै बस्नेत भन्छन्।
१ जून १९२५ मा जन्मिएकी उनी ६ वर्षको उमेरमा परिवारसाथ अमेरिका पुगिन्। अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट कानूनमा स्नातक गरेकी थिइन्। रोमानियामा जन्म र अमेरिकामा हुर्के पढेकी ओल्गाले आफ्नो करीब सम्पूर्ण आर्जन र उमेरको अधिकांश समय नेपालका लागि खर्चिएकी थिइन्।
यो पनि पढ्नुहोस् : अमेरिकी हजुरआमाको नेपाल मोह