शान्त वातावरणमा रमाउन जैमिनी
जैमिनी ऋषिले साधना गरेको ठाउँका रूपमा परिचित बाग्लुङको जैमिनी शान्त वातावरणमा रमाउने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
राष्ट्रिय गौरवको आयोजनामा पर्ने कालिगण्डकी करिडोर हुँदै पुग्न सकिन्छ, जैमिनीधाम। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको जैमिनीमा पछिल्लो पटक पर्यटकीय सम्भावनाको खोजी गर्न थालिएको छ।
जैमिनीमा ऋषि वेदव्यासका शिष्य जैमिनी ऋषिले योग साधना गरेको जनविश्वास छ। त्यसैले यो जैमिनीधामका रूपमा परिचित छ। यसलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय बुद्धिजीवी बताउँछन्। तर पर्याप्त प्रचारप्रसार नहुँदा ओझेल परेको उनीहरूको गुनासो छ।
जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्मा पनि जैमिनीधामको प्रवर्द्धन हुन नसकेको स्वीकार गर्छन्। यसलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारले प्राथमिकतामा राखेको शर्मा बताउँछन्। “जैमिनीमा जैमिनीधामसँगै थुप्रै गन्तव्य छन्,” उनी भन्छन्, “यी सबैलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ।”
जैमिनीधामलाई गण्डकी प्रदेश सरकारले पनि प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा राखेको छ। यस धाममा हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने गरेको छ। माघे संक्रान्ति एवं बालाचतुर्दशीमा कालीगण्डकी स्नानका साथै शतबीज छर्न टाढा टाढाबाट सर्वसाधारण आउने गरेका छन्।
जैमिनीमा धामसँगै थुप्रै धार्मिक तथा सांस्कृति महत्त्वका सम्पदा छन्। गाजाको दह, माईस्थान मन्दिर, भैरवस्थान, हाँडीकोट, राधाकृष्ण मन्दिर यहाँका धार्मिक तथा पर्यटकीय स्थल हुन्। यससँगै डाँडाखानी, बलेवा, गाईथुने घाट, रुम्टा, देउराली लगायत स्थल पनि जैमिनी नगरमा पर्यटकीय सम्भावना बोकेका गन्तव्य रहेको उपमेयर शर्मा बताउँछन्।
सबै स्थानका ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय सरकारले जोड दिएको छ। जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ। जैमिनीमा पर्यटनको प्रचुर सम्भावना रहेको प्रमुख प्रशासकीय अधिकृत हरि भुजेल बताउँछन्।
स्थानीय र प्रदेश सरकारसँगै पर्यटन व्यवसायी पनि जैमिनीधामप्रति आकर्षित छन्। यसलाई उनीहरू गण्डकी प्रदेशकै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउँछन्। प्रदेशमा पर्यटकीय गन्तव्य पहिचानका लागि अभियान नै चलाइरहेको नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले पनि जैमिनीको प्रचारप्रसारका लागि सहकार्य थालेको छ।
नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी पर्यटकीय राजधानी पोखरालाई केन्द्र बनाएर आसपासका क्षेत्रलाई पनि उजागर गर्दै लैजानुपर्ने बताउँछन्। त्यसै अन्तर्गत जैमिनीलाई नयाँ गन्तव्यका रूपमा विकास गर्न सहकार्य शुरू गरिएको अधिकारी बताउँछन्। धार्मिक महत्त्व बोकेको जैमिनीधामको प्रवर्द्धन गर्दा देशभरका पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ छ।
कालीगण्डकी करिडोरको विस्तारले जैमिनीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बाटो खुलेको छ। पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल मुक्तिनाथ पुग्ने भारतीय पर्यटकलाई पनि कालीगण्डकी करिडोरबाट जैमिनीधाम ल्याउन सकिने बताउँछन्। यसका लागि स्थानीय र प्रदेश सरकारसँगै निजी क्षेत्रले प्रयत्न गर्नुपर्ने उनको भनाइ छ।
अर्कातिर, जैमिनी पुग्ने पर्यटकलाई लक्षित गरेर विभिन्न क्रियाकलाप हुन थालेका छन्। स्थानीय स्तरमै हस्तकलाका सामग्री उत्पादन हुँदै आएका छन्। त्यस्तै, गुन्द्रुक, भाङ, सिमी, मास, भटमास लगायत रैथाने उत्पादन पनि भइरहेका छन्। नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका द्वितीय उपाध्यक्ष कमला गिरी पनि जैमिनीधामसँगै स्थानीय मौलिक कला, संस्कृति र खान्कीलाई पनि प्रवर्द्धन गर्नुपर्ने बताउँछिन्।
सांस्कृतिक रूपमा पनि यो क्षेत्र धनी छ। रत्यौली, सालैजो, सोरठी, लोकदोहोरी, मारुनी र घाटु पनि चर्चित छन्। जैमिनीधाम धार्मिकसँगै आध्यात्मिक, सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने नाट्टा गण्डकीका महासचिव संगीता पौडेल बताउँछिन्। यसका लागि स्थानीय कला, संस्कृतिको पनि जगेर्ना गर्नुपर्ने महासचिव पौडेलको भनाइ छ।
कसरी पुग्ने?
जैमिनी पुग्ने चार वटा बाटा छन्। पहिलो, कालीगण्डकी करिडोर भएर जैमिनी पुग्न सकिन्छ। पोखराबाट बाग्लुङ, मालढुंगा हुँदै बलेवा विमानस्थल भएर पुग्न सकिन्छ।
दोस्रो बाटो पोखराबाट कार्किनेटा हुँदै जैमिनी पुग्न सकिन्छ। यो सजिलो बाटो पनि हो भने अहिले खुल्ने क्रममा छ।
त्यस्तै, बुटवलबाट पनि जैमिनी पुग्न सकिन्छ। यहाँबाट पनि दुई वटा बाटा छन्। पहिलो, बुटवलबाट रिडी, रुद्रबेनी हुँदै जैमिनी पुगिन्छ। दोस्रो, बुटवलबाट स्याङ्जा, मिर्मी हुँदै जैमिनी पुग्न सकिने उपमेयर शर्मा बताउँछन्।