प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी यूएई
एसीसी टी-२० प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ।
ओमनमा जारी प्रिमियर कप अन्तर्गत समूह चरणको खेलमा बुधबार घरेलु टोलीले जित हासिल गरेसँगै नेपालको प्रतिस्पर्धी यूएई तय भएको हो। कुवेतलाई ४६ रनले पराजित गर्दै ओमन समूह ‘बी’ को शीर्षस्थानमा उक्लिएको छ। ओमनले चारै खेल जितेर आठ अंक जोडेको हो।
त्यस्तै, यूएई पनि बुधबार कम्बोडियालाई पराजित गर्दै समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको छ। यूएई आफूले खेलेका चार खेलमध्ये तीनमा जित हात पारेर ६ अंक सहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो।
समूह ‘ए’ बाट भने यसअघि नै नेपाल र हङकङ सेमिफाइनलमा पुगिसकेका छन्। नेपाल समूह चरणका चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ।
त्यस्तै, हङकङ चार अंक जोड्दै रनरेटका आधारमा दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो। चारमध्ये दुई खेल जितेको कतारको चार अंक भए पनि रनरेटमा पछि परेर समूह चरणबाटै बाहिरिएको छ।
अब समूह ‘ए’ को शीर्षस्थानमा रहेको नेपाल र समूह ‘बी’ को दोस्रो स्थानमा रहेको यूएई तथा समूह ‘ए’ को दोस्रो स्थानमा रहेको हङकङ र समूह ‘बी’ को शीर्षस्थानमा रहेको ओमनबीच सेमिफाइनल खेल हुनेछ। दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछन्।
प्रिमियर कपमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्दै आएका छन्। जसले गर्दा नेपाली खेलाडीको आईसीसी वरीयतामा पनि सुधार भएको छ। एकै ओभरमा ६ छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरीले भने आईसीसी टी-२० वरीयतामा छलाङ मारेका छन्।