दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
एकीकृत समाजवादीको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सोडारीको नाममा सहमति गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
सत्ता गठबन्धनमा मंगलबार सूदुरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको बताइएको थियो। तर सोडारीलाई मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न मंगलबार बिहान आयोजित बैठकमा सत्ता साझेदार नेकपा (एमाले) नेताहरू गएका थिएनन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ। हाल नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुख सहित ११, नेकपा (एमाले)का १०, नाउपाका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन्। रिक्त एक पदका लागि यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।
प्रदेश प्रमुख नजिर मियाँले वैशाख ६ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न समय दिएका छन्। यसअघि १० दिनको समय दिएका थिए।
त्यसमा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए। त्यस्तै, एमाले र माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले दाबी पेश गरेका थिए। लक्ष्मण नाउपा संरक्षक रेशम चौधरी पक्षका हुन् भने कैलाश अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन्।
दुवै पक्षको दाबीका कारण निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले पुन मिलिजुली सरकार गठन गर्न समय दिएका हुन्। यस पटक भने एमाले र माओवादीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेका हुन्। यसअघि एमाले र माओवादीले नाउपालाई मुख्यमन्त्री दिने सहमति गरेका थिए।