आठ ओभरको खेलमा नेपाललाई ७४ रनको लक्ष्य
एसीसी टी-२० प्रिमियर कप अन्तर्गत बुधबारको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ।
पानी परेका कारण नेपाल र साउदी अरबको खेल आठ ओभरमा छोट्याइएको छ। नेपालले टस जितेर फील्डिङ गरेको हो।
पहिले ब्याटिङ गरेको साउदी अरबले ६ विकेटको क्षतिमा ७२ रन बनाएको हो। साउदी अरबका लागि अब्दुल वाहीदले ३७ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि करण केसी र अविनाश बोहराले दुई-दुई तथा ललित राजवंशी र प्रतिश जीसीले एक-एक विकेट लिए।
नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। तीन खेल जितेको नेपालको ६ अंक छ। समूह ‘ए’ मा रहेका हङकङ र कतारको चार-चार तथा साउदी अरब र मलेशियाको दुई-दुई अंक छ।
त्यस्तै, समूह ‘बी’ को ओमन ६ अंक सहित शीर्षस्थानमा छ। कुवेत र यूएईको चार-चार तथा बहराइनको दुई अंक छ। कम्बोडियाले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन।