गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन्।
प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख भट्टले वैशाख ७ गते अपराह्न ३ बजे अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जनाएका छन्। प्रदेश प्रमुखको कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी पोखराको नन्दीपुरस्थित प्रदेश सभा भवनमा अधिवेशन आह्वान गरिएको जनाएको छ।
प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अधिवेशन आह्वानका लागि सिफारिश गरेको थियो। यहि अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधिन छ। सभामुखलाई पनि गणना गरेर अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।
सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ। यस मुद्दामा वैशाख १० गते पेशी तोकिएको छ।