डेढ सय किलो गाँजा सहित सात जना पक्राउ
डेढ सय किलोग्राम गाँजा सहित प्रहरीले मकवानपुरबाट सात जनालाई पक्राउ गरेको छ।
पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेना र कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका-४, माथिल्लो मसिनेबाट उनीहरूलाई पक्राउ गरेको हो। राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिंडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए।
शंका लागेर खानतलासी गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-३ का दुई जना किशोर छन्। उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
त्यस्तै, कैलाश गाउँपालिका-४ का २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार प्रजा, २७ वर्षीय वीरमान प्रजा, मनहरी गाउँपालिका-३, हाँडीखोलाका ४४ वर्षीय रामहरि लुइँटेल र मनहरी-५ का ३६ वर्षीय दीपक थापा मगर रहेको प्रहरीले जनाएको छ।