साहित्यकार प्रकट पंगेनीको फूलबारीमा अन्तिम बिदाइ
साहित्यकार प्रकट पंगेनी ‘शिव’ को बुधबार पोखराको फूलबारी घाटमा अन्त्येष्टि गरिएको छ।
७० वर्षको उमेरमा पंगेनीको मंगलबार दिउँसो निधन भएको थियो। निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
प्रणय गजलकारका रूपमा चर्चित पंगेनीले पोखरालाई नै आफ्नो साहित्य साधनाको भूमि बनाएका थिए। शृंगारिक गजल लेख्ने पंगेनीलाई साहित्यप्रेमीले प्रणय गजलका बादशाहको उपमा नै दिएका थिए। उनले लेखेको ‘चुलेसीमा’ बोलको गीत गायक सञ्जीव सिंहले गाएपछि उनको चर्चा थप चुलिएको थियो।
किन रोयौ भन तिमी मनको बलेसीमा,
किन राख्यौ चोखो मुटु तिखो चुलेसीमा...।
चुलेसीसँगै उनको लेखन र विमल पराजुलीको स्वर रहेको ‘तगारो छेउ’ बोलको गीतले पनि उस्तै चर्चा बटुलेको थियो।
तगारो छेउ आएर पनि आँगनी टेकिनौ
आँखाको डिल भत्किंदा पनि तिमीले देखिनौं...।
साहित्यप्रेमी शुभचिन्तकले उनी अस्पतालबाट फर्कने आश लिंदै स्वास्थ्यलाभको कामना गरिरहेका थिए। उनको उपचारका लागि पोखरेली युवा सांस्कृतिक परिवारले आर्थिक सहयोग संकलन गरिरहेको थियो। तर स्वास्थ्यमा जटिलता आएसँगै उनी कहिल्यै नफर्कने गरी बिदा भएका छन्।
उनका समकालीन साहित्यकार सरुभक्तले सामाजिक सञ्जालमा लेखेका थिए, ‘साथी, हाँसोठट्टा गर्न पुगेकै छैन, चाँडै स्वस्थ हुनु।’
पछिल्लो समय उनी जन्मस्थान कास्कीको रुपाकोट, देउरालीमा यजश्वी कटेजको निर्माणमा व्यस्त थिए। जसलाई मूर्त रूप दिन नपाउँदै उनी अस्ताएका छन्।
पंगेनीको यो मन कतै अल्झेको छ र जूनको चिठी जुनालाई गरी दुई गीतसंग्रह प्रकाशित छन्। त्यस्तै, उनका प्रणयवेदका ऋचाहरू गजलसंग्रह र अक्षरभरि अक्षता कृति प्रकाशित छन्।