प्रतिपक्षी दलको बहिष्कारकै बीच यादवले पाए विश्वासको मत
मधेश प्रदेश सभाका सम्पूर्ण प्रतिपक्षी दलहरूको बहिष्कारकै बीच मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन्।
मत विभाजन हुँदा मुख्यमन्त्री यादवका पक्षमा ६१ जनाले मतदान गरेका थिए। प्रस्तावको विपक्षमा शून्य मत परेको थियो भने मतदानको क्रममा उपस्थित प्रदेश सभा सदस्यहरूको संख्या ६१ रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
आज विश्वासको मत लिने कार्यसूची सहित बैठक शुरू हुनासाथ जनमत पार्टीका प्रदेश सभा सदस्यहरूले रोस्ट्रममा पुगेर विरोध जनाएका थिए। यसपछि सभामुख मण्डलले जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलाई बैठकबाट निकाल्न भन्दै मर्यादापालकलाई भनेपछि जनमतका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए।
यसपछि नेपाली कांग्रेसका सांसदहरू पनि बैठक बहिष्कार गर्दै बाहिरिएका थिए।बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य उपेन्द्र महतोले विपक्षीविहीन बनाएर संसद् चलाउन नहुने भन्दै आफ्नो पार्टीले समेत बैठकमा सहभागिता नजनाउने भनेर सरकारलाई दिएको समर्थन फिर्ता लिंदै बैठक बहिष्कार गरेका थिए।
यससँगै प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ।