सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान
सुदूरपश्चिम प्रदेशका प्रमुख नाजीर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आज पुनः आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुखले गत चैत २३ गते मुख्यमन्त्रीमा दाबी पेश गर्न गरेको आह्वान अनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई जना प्रदेश सभा सदस्यबाट दाबी पेश हुँदा दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको उल्लेख छ।
विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गर्नका लागि स्पष्ट दाबी सहित २०८१ वैशाख ६ गते अपराह्न ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको समेत उल्लेख छ।
प्रदेश प्रमुखले आह्वान गर्नुअघि नै आज नेकपा (एकीकृत समाजवादी)ले नाउपाका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दिएको समर्थन फिर्ता लिएको थियो। तीन दिनअघि मात्रै एकीकृत समाजवादी, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यको समर्थनमा लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
सोही दिन नाउपाकै कैलाश चौधरीले पनि केन्द्रीय गठबन्धन अनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। लक्ष्मणकिशोर नाउपाका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षधर र कैलाश चौधरी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन्।
नाउपाका प्रदेश सभा सदस्य विभाजित हुँदा अहिले सुदूरपश्चिममा चार प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादी सरकार गठनमा निर्णायक बनेको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ। हाल नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख सहित ११, एमालेका १०, नाउपाका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन्। रिक्त एक पदका लागि यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।