सलमान रुश्दी भन्छन्- आँखा गुमाउनुको पीडाले दिनहुँ पोल्छ
दुई वर्षअघि एक आक्रमणकारीको प्रहारबाट आफ्नो दाहिने आँखा गुमाएका प्रसिद्ध लेखक सलमान रुश्दीले त्यति वेलाका त्रासदीपूर्ण दिन सम्झिएका छन्।
मिडनाइट्स चिल्ड्रेन उपन्यासका लागि बूकर पुरस्कार पाएका सलमान रुश्दीले आक्रमण लगत्तै आफ्नो आँखा ‘उमालेको नरम अन्डा’ जसरी अनुहारमा झुन्डिएको र आँखा गुमाउनुको पीडाले आफूलाई प्रत्येक दिन दिक्क बनाउने गरेको बताएका छन्। “म मर्छु कि होला भन्ने सोचेको थिएँ,” रुश्दीले भने, “धन्न, म गलत थिएँ।”
रुश्दीले आफ्नो प्रकाशोन्मुख पुस्तक नाइफ (चक्कु)लाई यही दुर्घटनासँग प्रतिरोध गर्ने माध्यम बनाइरहेको पनि बताए।
१२ अगस्ट २०२२ मा न्यूयोर्कको एक शैक्षिक संस्थामा अन्तरक्रियामा सहभागी भएका वेला उनीमाथि आक्रमण भएको थियो। आक्रमणकारी सिंढी उक्लिंदै आएर आफूलाई १२ पटक प्रहार गरेको रुश्दीले बताए। करीब २७ सेकेन्डको उक्त आक्रमणमा उनको घाँटी र पेटमा १२ पटक चक्कु प्रहार गरिएको थियो। “म ऊसँग लड्न सक्ने थिइनँ,” लेखक रुश्दीले भने, “न त म भाग्नै सक्थें।”
आक्रमणपछि उनी भुइँमा पछारिंदा रगतको आहाल बन्यो। उनलाई तत्काल हेलिकोप्टरबाट अस्पताल लगियो, जहाँ उनले ६ साता बिताए।
भारतीय मूलका ७५ वर्षीय बेलायती-अमेरिकी लेखक रुश्दी आधुनिक समयका एक प्रभावशाली स्रष्टा मानिन्छन्। उनी आक्रमणमा परेको समाचार विश्वभर फैलिएको थियो।
यसअघि पनि सन् १९८८ मा द सेटनिक भर्सेस उपन्यासको प्रकाशनपछि ज्यान लिने धम्की आएकै कारण उनी केही वर्ष भूमिगत हुनुपरेको थियो।
उनले ‘दर्शकदीर्घाबाट कोही आएर आक्रमण गर्ला’ भन्ने कहिल्यै कल्पना समेत नगरेको बताए। “त्यो कुरा मेरो दिमागमा कहिल्यै किन आएन भन्ने कुराले मलाई अचम्मित बनाउँछ,” उनले भने।
घटना हुनुभन्दा दुई दिनअघि रुश्दीले आक्रमणकै डरलाग्दो सपना देखेको पनि बताए। साथै, सो दिन आफू कार्यक्रममा जान नचाहेको पनि उनले खुलाए। “अनि मैले सोचें- आखिर त्यो सपना मात्र त हो। त्यसमाथि मलाई आयोजकले आकर्षक पारिश्रमिक पनि दिएका थिए। फेरि धेरैले टिकट काटिसकेका छन्। म जानुपर्छ,” उनले भने।
दिनहुँको दिक्दारी
आक्रमणमा परी रुश्दीको कलेजो र हातमा क्षति पुग्यो, दाहिने आँखाको नसा पनि काटियो। उनको आँखा सुन्निएर ठूलो पनि भएको थियो। “आँखा त उमालेको नरम अन्डा जस्तो भएर मेरो गालामा झुन्डिन पुगेको थियो। र अन्धो थियो,” उनले भने।
रुश्दीले एउटा आँखा गुमाउनुपर्दाको पीडाले आफूलाई प्रत्येक दिन दिक्क बनाउने बताए। उनले भर्याङ ओर्लंदा, बाटो काट्दा र गिलासमा पानी खन्याउँदा पनि अलि बढी नै विचार गर्नुपर्ने बताए। तर मस्तिष्कमा कुनै क्षति नपुगेकोमा भने उनले आफूलाई भाग्यमानी ठाने। “यसको अर्थ मैले आफ्नोपन गुमाएको छैन,” उनले भने।
रुश्दीमाथि चक्कु प्रहार भएका वेलाका कार्यक्रमका सहजकर्ताले आक्रमण रोक्न आफूले केही गर्न नसकेको बीबीसीसँग बताए। “मैले छिटै प्रतिक्रिया जनाएको भए शायद घटना रोक्न सकिन्थ्यो,” कार्यक्रमका सहजकर्ता हेनरी रिजले भने।
त्यस दिन सलमानलाई सहयोग गर्ने रिज तथा उपचारमा संलग्न चिकित्सकहरूप्रति लेखक रुश्दीले प्रकट गरेको कृतज्ञता नाइफको पहिलो पृष्ठदेखि नै मुखर छ। उनले सो पुस्तकको समर्पणमै ‘मेरो ज्यान जोगाउने पुरुष तथा महिलालाई’ भनेका छन्।
रुश्दीका आक्रमणकारी
रुश्दीले आक्रमणयता पहिलो पटक आफ्ना आक्रमणकारीलाई लक्ष्यित गर्दै अभिव्यक्ति दिएका छन्।
न्यू जर्सी निवासी २६ वर्षीय हादी माटरलाई छुरा प्रहारको अभियोग लगाइएको छ। माटरले भने आफू निर्दोष भएको दाबी गर्दै आएका छन्। तथापि उनलाई थुनामा राखिएको छ।
कारागारबाटै उनले न्यूयोर्क पोस्टसँग गरेको अन्तर्वार्तामा आफूले रुश्दीको अन्तरवार्ताहरू यूट्यूबमा हेरेको बताएका थिए। “मलाई ती जस्ता कपटी मान्छे मन पर्दैनन्,” उनले भनेका थिए।
आफ्नो किताब सार्वजनिक हुनै लाग्दा रुश्दी आक्रमणबारे एलान एन्तोबसँग विस्तारमा कुरा गरेका छन्। नाइफमा लेखक रुश्दीले आफ्ना आक्रमणकारीसँग काल्पनिक वार्ता गरेका छन्।
“धेरै अमेरिकी इमानदार भएको नाटक गर्छन्, तर उनीहरू मुकुण्डो ओढेर झूट बोलिरहेका हुन्छन्। के त्यो नै तिनीहरूलाई मार्ने कारण हो त?” रुश्दीले प्रश्न गरेका छन्।
रुश्दीले अदालती सुनुवाइका क्रममा बाहेक आफ्ना आक्रमणकारीसँग भेट गरेका छैनन्। प्रतिवादीका वकीलहरूले भने सलमानको पुस्तक प्रमाणका रूपमा प्रस्तुत गर्न सकिने भन्दै आफूहरूले पाण्डुलिपि अध्ययन गर्न पाउनुपर्ने तर्क गरेपछि सुनुवाइ केही ढिला भएको थियो। अब छिटै सुनुवाइ पुनः शुरू हुने अपेक्षा गरिएको छ।
किन विवादित भयो सेटनिक भर्सेस ?
रुश्दीले आफ्नो चौथो उपन्यास मिडनाइट्स चिल्ड्रेनबाट प्रसिद्धि कमाएका थिए। सो उपन्यास बेलायतमा मात्रै झन्डै १० लाख प्रति बिक्री भएको थियो। उपन्यासमा इस्लामिक धर्मगुरु मोहम्मद र इस्लाम धर्मको निन्दा गरिएको प्रसंग छ। त्यसैले सो पुस्तक कैयौं इस्लामिक देशहरूमा प्रतिबन्ध गरिएको थियो।
सन् १९८९ मा इरानका तत्कालीन धर्मगुरु आयोतोल्ला रोहल्ला खोमेनीले फतवा जारी गर्दै रुश्दीको हत्या गर्नेलाई ३० लाख अमेरिकी डलर दिने घोषणा गरेका थिए। त्यो फतवा अझैसम्म रद्द भएको छैन। परिणामस्वरूप रुश्दीले कैयौं ज्यान मार्ने धम्की सामना गर्नुपर्यो र झन्डै एक दशक हतियारधारी अंगरक्षकहरू सहित भूमिगत हुनुपर्यो।
रुश्दी इस्लामिक परम्परा नअपनाउने एक नास्तिक हुन् र समकालीन विश्वमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा बोल्ने एक हिमायती पनि। तर पछिल्ला दिनहरू असहज बन्दै गएको उनको अनुभव छ।
“मलाई यो कुरा भन्दा दुःख लागेको छ कि युवा पुस्ता लगायत धेरै मानिसमा अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध लगाउनुपर्छ भन्ने सोच विकास भइरहेको छ,” रुश्दीले भने, “तर अभिव्यक्ति स्वतन्त्रताको चुरो कुरा के हो भने, तपाईंले आफू असहमत हुने विचारलाई पनि बोल्न दिनुपर्छ।”
रुश्दीले आक्रमणमा परेर आफू रगतको आहालमा डुब्दा पनि व्यक्तिगत सामग्रीका बारे ‘मूर्खतापूर्वक सोचिरहेको’ पनि सम्झिए। त्यो वेला उनी राल्फ लाउरेन ब्रान्डको सूट बिग्रेकोमा चिन्तत भइरहेका थिए भने घरको साँचो र क्रेडिट कार्ड खल्तीबाट खस्लान् भन्ने पीरमा थिए।
“त्यो वेला यस्तो सोच्नु पक्कै पनि हास्यास्पद हो। तर अहिले ती क्षण सम्झँदा मलाई के लाग्छ भने, मभित्र कुनै अंश थियो त्यो मर्न चाहिरहेको थिएन। मेरो अन्तरमा रहेको त्यो चेतनाले मलाई घरको साँचो चाहिनेछ र मलाई ती क्रेडिट कार्डहरू चाहिनेछन् भनिरहेको थियो,” उनले भने।
उनका भनाइमा त्यो ‘जिजीविषा’ थियो, जसले भनेको थियो- ‘तँ बाँच्नुपर्छ, बाँच्नुपर्छ, बाँच्नुपर्छ।’
आक्रमणको एक वर्षअघि सलमानले अमेरिकी कवि तथा उपन्यासकार रेचेल एलिजा ग्रिफिटसँग पाँचौं विवाह गरेका थिए। ग्रिफिटले बीबीसीलाई बताए अनुसार सो आक्रमणबारे सुनेपछि उनी चिच्याउन थालेकी थिइन्।
चिकित्सकले रुश्दीको आँखाको पट्टी सिलाइरहँदा उनी पनि सँगै थिइन्। “मलाई उनका आँखा मन पर्थे र उनी दुई वटा आँखा लिएर घरबाट निस्केका थिए, तर त्यसपछि हाम्रो संसार नै परिवर्तित भयो,” उनले भनिन्, “अहिले मलाई त्यही एउटा आँखा अझ मन पर्छ, किनभने त्यसैले उनले संसारलाई देखिरहेका छन्।”
रुश्दीले नाइफ कैयौं प्रेमकथामध्ये एउटा डरलाग्दो प्रेमकथा सरह भएको पनि बताए। “यसमा दुई विपरीत धारको संगम छ। एउटा हिंसा, कट्टरता, एकांकीपनको धार छ भने अर्कातिर प्रेमको शक्ति छ,” उनले भने, “प्रेमको धार मेरी श्रीमती एलिजामा आधारित छ।”
अन्त्यमा आफूले घृणाभन्दा प्रेमको शक्ति नै सबल रहेछ भन्ने बुझेको पनि उनले बताए।
रुश्दीले आउँदा दिनमा पनि सार्वजनिक समारोहमा सहभागी हुने बताए। “तर अब म अलि सतर्क हुनेछु,” उनले भने, “अब सुरक्षाको मुद्दा पहिलो प्राथमिकतामा पर्नेछ र जबसम्म म सुरक्षाका बारेमा ढुक्क हुन्नँ तबसम्म म जानेछैन।”
आफू एक जिद्दी व्यक्ति भएको बताउँदै उनले भने, “म प्रतिबन्धित र सीमित जीवन चाहन्नँ। म आफ्नो जीवन जिउन चाहन्छु।”
(बीबीसीबाट महेश्वर आचार्यले गरेको अनुवाद।)