मधेश प्रदेश सरकारबाट बाहिरियो लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट फिर्ता भएको छ।
पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिंदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ। योसँगै लोसपाबाट सरकारमा सहभागी वन तथा वातावरणमन्त्री रमेश पटेलले पदबाट राजीनामा दिएका छन्।
सरकारको कामकारबाही राम्रो नभएकाले आफूहरू मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने पक्षमा खडा भएको र सरकारबाट समेत फिर्ता आउने निर्णय गरिएको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए। लोसपाका सांसद उपेन्द्र महतोले प्रदेश सरकारको कामबाट सन्तुष्ट नरहेकाले आफूहरू सरकारबाट बाहिरिएको जानकारी दिए। उनले आज सदनमा मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने समेत बताए।
यता, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले खाली भएको मन्त्रालयको जिम्मा मुख्यमन्त्री यादवलाई नै दिएकी छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम कार्यजिम्मेवारी र कार्यविभाजन सहित मन्त्रिपरिषद् पुनर्गठन गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए।
यस्तै, जनमत पार्टीको अवरोधका कारण संसद् बैठक अवरुद्ध भएको छ।