सात महीनादेखि सञ्चालन अनुमति पर्खिरहेको अत्याधुनिक रक्तसञ्चार केन्द्र
गुणस्तरीय रक्तसञ्चार सेवा दिन खोलिएको त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति नपाउँदा अलपत्र अवस्थामा छ।
बुटवलका ४५ वर्षीय चतुर ज्ञवाली ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएको एक साता भएको थियो। यसअघि आठ पटक शल्यक्रिया गरिसकेको कुहिनामा जटिल संक्रमण देखिएको भन्दै चिकित्सकले जोर्नी प्रत्यारोपण गर्न शल्यक्रिया गर्नुपर्ने बताए। शल्यक्रियाको मिति चैत पहिलो साता तोक्दै अस्पतालले १३ पिन्ट ‘बी नेगेटिभ’ रगत व्यवस्थापन गर्न बिरामीको परिवारलाई भन्यो।
रगत जुटाउन ज्ञवालीको परिवार काठमाडौं उपत्यकामा भएका नेपाल रेडक्रस सोसाइटी र निजी अस्पतालका रक्तसञ्चार केन्द्रमा पटक पटक धायो। सामाजिक सञ्जालमा सूचना राख्यो। तर रगत पाइएन। एउटा रक्तसञ्चार केन्द्रबाट अर्कोमा ट्याक्सीमा गुड्दा अनावश्यक खर्च भइरहेको थियो। रगत नपाएकै कारण थप तीन दिन अस्पताल बस्दा बिल बढिरहेको थियो। तीन दिनपछि पोखराको एक रक्तसञ्चार केन्द्रबाट रगत पाइएको जानकारी आयो। ज्ञवाली परिवारले पोखराबाट रगत ल्याएपछि शल्यक्रिया सफल भयो।
माथिको घटना रगत पाउन बिरामीको परिवारले कति धेरै भौंतारिनुपर्छ भन्ने एउटा दृष्टान्त हो। नेपाल रेडक्रस सोसाइटीका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करीब साढे ४०० पिन्ट रगत आवश्यक पर्छ, तर दैनिक १५० पिन्ट मात्र रगत संकलन हुन्छ। यसले काठमाडौं उपत्यकामा मात्र करीब ३०० पिन्ट रगतको चरम अभाव रहेको देखाउँछ। आकस्मिक रूपमा चाहिने रगत खोज्न अधिकांश बिरामीले हैरानी बेहोर्छन्।
त्यति मात्र होइन, नेपाल रेडक्रस सोसाइटी र निजी अस्पतालका रक्तसञ्चार केन्द्रले रगतको संकलन, भण्डारण, प्रशोधन र वितरणमा मापदण्ड पालना नगर्दा बिरामीको जीवनमै खेलबाड भइरहेको छ। हिमालखबर पत्रिकाले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सञ्चार केन्द्रले गुणस्तरको मापदण्ड पालना नगर्दा एचआईभी संक्रमित र अन्य संक्रामक रोग सरेको तथ्य २०७८ माघमा उजागर गरेको थियो।
आकस्मिक शल्यक्रिया तथा प्रत्यारोपण गर्न समेत रगत नपाइने, रगत/रक्तदाता खोज्न बिरामीको आफन्त आफैं दौडिनुपर्ने र रगतकै कारण घातक संक्रामक रोग सर्ने समस्या अन्त्य गर्न भन्दै लायन्स क्लबले रक्तसञ्चार केन्द्र खोल्न आठ वर्षअघि काम शुरू गरेको थियो। भवन निर्माण, उपकरण र जनशक्ति सबै तयार भइसकेको त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले सञ्चालन अनुमति नदिंदा सञ्चालनमा आउन सकेको छैन। त्रिभुवन विश्वविद्यालय (त्रिवि) र लायन्सको सहकार्यमा रक्तसञ्चार केन्द्र तयार पारिएको हो।
त्रिविले कीर्तिपुरमा तीन रोपनी जग्गा उपलब्ध गराएपछि लायन्स क्लबले रक्तसञ्चार केन्द्र बनाउन आफ्ना सदस्यबाट २५ हजार रुपैयाँको दरले चन्दा उठाएको थियो। त्यस्तै, विभिन्न दातृ निकायले पनि आर्थिक सहयोग गरेपछि करीब १४ करोड रुपैयाँ लागतमा २०८० असोजमा रक्तसञ्चार केन्द्रको पूर्वाधार तयार भएको थियो।
पूर्वाधार तयार हुनासाथ एनपीएचएलले अनुमति दिने ठानेर केन्द्रले रगत परीक्षण गर्न ४० लाख रुपैयाँ बराबरको रिएजेन्ट किनेको थियो। अहिले ती रिएजेन्ट म्याद गुज्रेर खेर जाने अवस्थामा छन्। त्यस्तै, आठ महीनादेखि १५ कर्मचारीलाई काम विना नै तलब खुवाउनुपरेको छ।
एनपीएचएलले उक्त रक्तसञ्चार केन्द्रलाई २०७८ साउन २६ गते रक्तसञ्चार सेवा सञ्चालनका लागि आशयपत्र दिएको थियो। आशयपत्र पाएपछि भौतिक पूर्वाधार, उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गरेर लायन्स क्लबले अनुगमन र स्वीकृतिका लागि २०८० असोज ९ गते एनपीएचएललाई पत्राचार गरेको थियो। तर एनपीएचएल हालसम्म अनुगमन गर्न नआएको त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रका जनरल मेनेजर ऋषिरमण खनाल बताउँछन्। उनका अनुसार ‘ब्लड इरेडिएटर मशिन’ नराखेको भन्दै एनपीएचएलले अनुगमन नगरेको हो।
एनपीएचएलका निर्देशक डा. रञ्जन भट्ट निर्देशिकाले तोकेको ब्लड इरेडिएटर मशिन नराखेकै कारण अनुगमनमा नगएको बताउँछन्। मापदण्डले चाहिन्छ भनेको मशिन आवश्यक छैन भनेर नराख्न नमिल्ने उनको भनाइ छ। “हामीले निर्देशिका हेर्ने हो। हालको अवस्थामा निर्देशिका अनुसार मापदण्ड नपुगेका कारण अनुमति दिन मिल्ने देखिएन,” डा. भट्ट भन्छन्।
नेपालमा हालसम्म ‘क’ र ‘ख’ वर्गको रक्तसञ्चार केन्द्र सञ्चालनमा छैन। रक्तसञ्चार केन्द्र सम्बन्धी मापदण्ड २०७६ सालमा बनेसँगै वर्गीकरण गर्ने व्यवस्था राखिएको हो। मापदण्ड बन्नु अगावै २०२३ सालमा सञ्चालनमा आएको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र केन्द्रीय रक्तसञ्चार सेवाका रूपमा चल्दै आएको छ।
लायन्स क्लबले चलाउन लागेको रक्तसञ्चार केन्द्रले भने ‘क’ वर्गको आशयपत्र लिएको छ। एनपीएचएलको निर्देशिकाले ‘क’ वर्गको रक्तसञ्चार केन्द्र सञ्चालन गर्न ‘ब्लड इरेडिएटर मशिन’ (रगत प्रशोधन गर्ने) आवश्यक पर्ने भनेको छ। उक्त मशिन राख्न र चलाउन विशेष सुरक्षा प्रबन्ध गरिएको ठाउँ ‘गामा चेम्बर’ बनाउनुपर्छ। ब्लड इरेडिएटर मशिनले विकिरण उत्पादन गर्छ र यसलाई सामान्य ठाउँमा राखेमा जनस्वास्थ्यमा गम्भीर असर पार्छ। सामान्य कोठाले विकिरण नछेक्ने हुँदा दुई मिटरसम्म गहिरो कंक्रिट ढलानको बंकर बनाउनुपर्छ, यसैलाई गामा चेम्बर भनिन्छ।
ब्लड इरेडिएटर मशिनको मूल्य ६ करोड रुपैयाँ हाराहारी पर्छ। यो मशिन विदेशबाट खरीद गरेर ल्याउन ‘जीटुजी’ (सरकारस्तरीय) सम्झौता गर्नुपर्छ। मशिन ल्याउन केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पहल गरिरहेको तर ठोस जवाफ नआएको केन्द्रले जनाएको छ।
नेपालमा ब्लड इरेडिएटर मशिन मीनभवनस्थित सिभिल अस्पतालमा मात्र छ। त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले आफ्नो रक्तसञ्चार केन्द्रमा आउने बिरामीको ब्लड इरेडिएशन सिभिल अस्पतालमा गर्ने गरी अस्पतालसँग सम्झौता समेत गरेको छ। यो मशिन अत्यन्त कम प्रयोग हुने र चाहिने अवस्थामा आफ्नै मशिन नआउँदासम्मका लागि सिभिल अस्पतालको प्रयोग गर्ने गरी रक्तसञ्चार केन्द्र सञ्चालनको अनुमति दिन स्वास्थ्य मन्त्रालयसँग पटक पटक आग्रह गरेको केन्द्रका जनरल मेनेजर खनाल बताउँछन्।
“२०८० असोजयताको सात महीनामा यसअघि र हालका स्वास्थ्यमन्त्रीलाई भेटेर हाम्रो पूर्वाधार र अवस्थाबारे जानकारी दिंदै अनुमतिका लागि सहजीकरण गरिदिन आग्रह गरेका थियौं, तर पहल भएन,” उनी भन्छन्।
केन्द्रले यही वैशाख २ गते बढीमा आगामी दुई वर्षभित्र मशिन ल्याउने प्रतिबद्धता गरेको पत्र एनपीएचएलमा बुझाएको छ। मशिन ल्याउने प्रतिबद्धतापत्र आए सञ्चालन अनुमति दिन एनपीएचएललाई निर्देशन दिने स्वास्थ्यसचिव डा. रोशन पोखरेल बताउँछन्।
सबै बिरामीलाई दिइने रगतको इरेडिएशन गर्नुनपर्ने भएकाले तत्काल उक्त मशिन आफ्नै हातामा नभए पनि समस्या नहुने केन्द्रको भनाइ छ। “हामीले अध्ययन गर्दा ब्लड इरेडिएशन गरेर रगत चढाउनुपर्ने बिरामी सिभिल अस्पतालमा बढीमा पाँच-सात जना हुने रहेछन्,” केन्द्रका जनरल मेनेजर खनाल भन्छन्।
बोनम्यारो प्रत्यारोपण, क्यान्सरका बिरामी र जटिल किसिमका शल्यक्रिया तथा प्रत्यारोपणमा दिइने रगत मात्र ‘ब्लड इरेडिएशन’ गर्नुपर्ने नेपालका एक मात्र ब्लड ट्रान्सफ्युजन विशेषज्ञ डा. विपिन नेपाल बताउँछन्। उनका अनुसार यस्ता बिरामीलाई रगत दिंदा रगत नमिल्ने, गलत प्रतिक्रिया जनाउने भएकाले ब्लड इरेडिएशन गर्नुपर्छ।
प्रविधिमा अब्बल
अहिले नेपाल रेडक्रस सोसाइटी र केही अस्पतालका रक्तसञ्चार केन्द्र सञ्चालनमा छन्। सरकारले रेडक्रसको रक्तसञ्चार केन्द्रलाई केन्द्रीय रक्तसञ्चार केन्द्र तोकेको छ। तर रेडक्रसको रक्तसञ्चार केन्द्रले एनपीएचएलबाट कुनै पनि वर्गको मान्यता पाएको छैन। यसको अर्थ, रेडक्रससँग ‘क’ वर्गको रक्तसञ्चार केन्द्रलाई चाहिने पूर्वाधार र उपकरण छैन। जसका कारण रगत संकलन भण्डारणदेखि वितरणमा गुणस्तरको मापदण्ड पालना भएको छैन।
जस्तो कि, रक्तसञ्चार सेवा सञ्चालनको मापदण्ड, २०७६ मा रगत संकलन गर्दा सम्पूर्ण संकलित रक्त एकाइमा इक्लिया, इलाइजा, र्यापिड वा अन्य मान्यताप्राप्त विधिबाट परीक्षण गर्नुपर्ने भनिएको छ। नेपालका अधिकांश रक्तसञ्चार केन्द्रमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट प्रयोग गरिन्छ। जबकि योभन्दा इक्लिया र इलाइजा विधि गुणस्तरीय मानिन्छ।
आरडीटी किटले रगत दिने मानिसमा कुनै रोगको एन्टिबडी भए/नभएको मात्र देखाउँछ, हालसालै कुनै सरुवा रोगको संक्रमण भए पनि पहिचान गर्दैन। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आकस्मिक अवस्थामा बाहेक यो किट प्रयोग नगर्न सुझाव दिए पनि नेपालमा भने मापदण्डमै उल्लेख गरेर यसको प्रयोग हुँदै आएको छ। जसका कारण कतिपय अवस्थामा खराब रगत पनि वितरण भइरहेको विज्ञहरू बताउँछन्।
त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रमा भने इक्लिया प्रविधिबाट रगत परीक्षण गर्ने मशिन राखिएको छ। जसबाट आरडीटी किटबाट परीक्षण गरेकोभन्दा सही नतीजा निस्किन्छ। त्यस्तै, रक्तसञ्चार सेवा सञ्चालनको रक्तदाता छनोट मापदण्डमा हेमोग्लोबिन प्रति डेसिलिटर १२ ग्रामभन्दा कम हुन नहुने उल्लेख छ। हेमोग्लोबिन कम भएका व्यक्तिले रगत दिंदा रक्तदाताको स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्या पर्न सक्छ। तर हालसम्म रेडक्रस लगायत अन्य रक्तसञ्चार केन्द्रमा प्रविधि र जनशक्तिको सीमितता तथा महँगो शुल्कका कारण हेमोग्लोबिन परीक्षण विना नै रगत संकलन भइरहेको छ।
त्रिवि लायन्स रक्तसञ्चार केन्द्रका ल्याब इन्चार्ज देवी मानन्धर यो रक्तसञ्चार केन्द्रमा इक्लिया प्रविधिबाट रगत परीक्षण गर्ने, हेमोग्लोबिन जाँच्ने र क्रसम्याच भेरिफिकेशन गर्न आधुनिक उपकरण राखिएको बताउँछिन्। रेडक्रसको रक्तसञ्चार केन्द्रमा लामो समय काम गरेकी उनका अनुसार अन्य रक्तसञ्चार केन्द्रमा यो प्रविधि नहुँदा विगतमा रक्त समूह पहिचानमा गडबडी र रगत दिंदा समस्या देखिने गरेका थिए।
रक्त समूह ५०० वटा हुन्छन्। अन्य देशहरूमा कुनै पनि रक्त समूहको ५० किसिमका एन्टिबडी परीक्षण गरिन्छ। नेपालमा भने दुई किसिमका एन्टिबडी मात्र हेरिन्छ– ‘आरएच’ र ‘एबीओ’। यस बाहेकका एन्टिबडी परीक्षण नगरिंदा कहिलेकाहीं एउटै रक्त समूह भए पनि रगतका भित्री एन्टिबडीका कारण रगत दिएका बिरामीलाई असर पर्न सक्छ। त्यसका लागि नै एन्टिबडी हेरेर रक्ततत्त्व छुट्याउनुपर्छ। तर रक्ततत्त्व छुट्याउने जनशक्ति र प्रविधि नहुँदा नेपालका ७० प्रतिशत ठाउँमा बिरामीलाई ‘होल ब्लड’ चढाइने डा. नेपाल बताउँछन्। उनका अनुसार, ३० प्रतिशत ठाउँमा रक्ततत्त्व छुट्याइए पनि त्यसको ८० प्रतिशत खेर जान्छ।
डा. नेपालका अनुसार ‘होल ब्लड’ चढाउँदा प्लाज्मा, प्लेटलेट्स बाहेकका तत्त्व आवश्यक नपर्ने बिरामीलाई असर गर्ने त छँदै छ, अन्य बिरामीलाई प्रयोग गर्न सकिने रक्ततत्त्व खेर जान्छन्। विकसित देशमा एक जनाबाट रगत झिकेर तीन जनालाई दिन मिल्ने रक्ततत्त्व बनाइन्छ। तर नेपालमा होल ब्लड चढाइने भएकाले रक्ततत्त्व खेर जान्छ। नेपाल रेडक्रस सोसाइटीका अनुसार रक्ततत्त्व छुट्याउन नसक्दा देशभर संकलितमध्ये ३५ प्रतिशत रगत खेर जाने गरेको छ।
यही समस्या अन्त्य गर्न त्रिवि लायन्स रक्तसञ्चार केन्द्रले ‘ब्लड कम्पोनेन्ट‘ छुट्याउन आधुनिक प्रविधिको मशिन ल्याएको छ। यसरी छुट्याइएको फरक फरक रक्ततत्त्वलाई फरक तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। त्यसो नगर्दा रगतमा खराबी आई बिरामीलाई समस्या पर्न सक्छ। त्यस्तै, मापदण्डमा प्लाज्मालाई माइनस २० डिग्रीभन्दा कम र प्लेटलेट्सलाई २० देखि २४ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने उल्लेख छ। तर अधिकांश ठाउँमा प्लेटलेट्स, प्याक्ड सेल, होल ब्लड र प्लाज्मालाई मापदण्ड अनुसार राखिंदैन। लायन्सले यस्ता रक्ततत्त्व माइनस ४० डिग्रीभन्दा कममा भण्डारण गर्न मिल्ने फ्रिजको पनि व्यवस्था गरेको छ।
केन्द्रका जनरल मेनेजर खनाल भौतिक पूर्वाधार, जनशक्ति र उपकरणमा अन्य रक्तसञ्चार केन्द्रभन्दा अब्बल रहे पनि एनपीएचएलले सञ्चालन अनुमति नदिंदा निरुत्साहित भएको बताउँछन्। रक्तसञ्चार केन्द्रको अनुमतिका लागि आफूहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि धाएको तर सकारात्मक पहल वा सहजीकरण नभएको खनाल बताउँछन्। आधुनिक रक्तसञ्चार केन्द्रको आवश्यकता रहेकोबारे सरकारले नै विभिन्न प्रतिवेदनमा उल्लेख गरेको तर त्यस दिशामा चासो नदिएको उनको गुनासो छ।
“यस्तो गुणस्तरीय रक्तसञ्चार केन्द्र सरकारले बनाउनुपर्नेमा बनाएको छैन, गैरनाफामूलक संस्थाले चन्दा जुटाइजुटाई तयार पारेको केन्द्रलाई सञ्चालन अनुमति नदिइँदा जनता गुणस्तरीय रक्तसञ्चार सेवाबाट वञ्चित भइरहेका छन्,” खनाल भन्छन्।