लेजर लाइटबाट बाँदर भगाउँदै छन् सिफलका स्थानीय
बढ्दो बाँदर आतंकसँग जुध्न स्थानीयले लेजर लाइट प्रयोग गरे पनि यो उपाय दीर्घकालीन नहुने विज्ञ बताउँछन्।
पशुपति क्षेत्रको भण्डारखाल जंगलभन्दा पश्चिमपट्टि सिफलका बासिन्दा मोहन ढकाल साँझबिहान बाँदर धपाउन घरको छतमा उक्लने गरेका छन्। बाँदर धपाउन उनले अपनाएको उपाय भने नौलो छ, लेजर लाइट देखाएर।
“लेजर लाइटले गर्दा बाँदर धपाउन सजिलो भएको छ,” ढकाल भन्छन्, “अचेल त म छानामा उक्लेको देख्नासाथै बाँदर भाग्छ।”
ढकालले बाँदर धपाउन लेजर लाइट देखाउने उपाय नजिकैको गुम्बाका एक बौद्ध भिक्षुबाट थाहा पाएका हुन्। तिनले पनि एक जना भारतीयबाट थाहा पाएका रहेछन्। अहिले यस क्षेत्रमा बाँदर धपाउन लेजर लाइट उपयोग गर्ने क्रम बढ्न थालेको छ। तिनैमध्येका अर्का हुन्- राजु घले।
घलेका अनुसार बाँदर लेजर लाइट देख्नासाथ उफ्रिंदै भाग्ने गरेको छ। “हामीले हजार रुपैयाँ पर्ने लाइट चलाउने गरेका छौं,” घले भन्छन्, “लेजर लाइट शरीरमा परेको देख्दा बाँदरले त्यसलाई आगो भन्ठान्दो रहेछ क्यार, टकटक्याउँदै भाग्छ।”
सिफल क्षेत्रमा २०३५ सालदेखि बसोबास गर्दै आएका रामजीप्रसाद उपाध्याय पछिल्लो १०-१२ वर्षयता मात्र बाँदरले समस्या गराउन थालेको बताउँछन्। “पहिला पनि एक-दुई वटा बाँदर नआउने होइन,” उपाध्याय भन्छन्, “अहिले त बिहान, राति, दिउँसो जुनै पनि वेला बाँदरको हुल आएर दुःख दिन्छ।”
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बाँदरले उपद्रव गर्ने गरेको छ। खासगरी बाँदर खानेकुराका निम्ति बस्ती छिर्ने गरेको छ। बारीमा रोपिएका तरकारी र फलफूल बाँदरले नाश गर्ने गरेको स्थानीयहरू सुनाउँछन्। “अहिले फलेको पीपलको गेडा खान बाँदर आउँछ। बाँदर आएपछि कुकुर कराउँछ। कुकुर कराउन थालेपछि लेजर देखाइदिन्छौं अनि भाग्छ,” घले भन्छन्।
तर विज्ञ यो उपाय दीर्घकालीन नभएको बताउँछन्। बाँदरले एउटा निश्चित समयपछि लेजर लाइटलाई पनि पचाउने प्राणी अनुसन्धानको क्षेत्रमा नेपालमा पनि काम गरेका वाशिङटन विश्वविद्यालयका प्राध्यापक र्यान्डल सी काइज बताउँछन्। बाँदर देखासिकी गर्ने प्राणी भएकाले लेजर लाइटले अहिले भागे पनि दीर्घकालमा यसैले बाँदर भाग्छ भन्न नसकिने उनको मत छ। “बाँदरले लेजर लाइटको लामो धर्सो र रातो रङलाई आगो भन्ठानेर भागेको हुन सक्छ,” काइज हिमालखबरसँग भन्छन्।
सिफलका पुराना बासिन्दा उपाध्यायको धारणा पनि करीब यस्तै छ। उनी बाँदरको बढ्दो संख्या नियन्त्रणतर्फ कदम नचालेसम्म यो समस्या हल नहुने ठान्छन्। गैंडा जस्तै मित्रराष्ट्रलाई उपहारमा दिएर हुन्छ वा अरू केही उपाय अपनाएर हुन्छ, यो विषयमा सम्बन्धित निकायले अविलम्ब कदम चाल्नुपर्ने उनको भनाइ छ।
बाँदरलाई चिकित्सकीय परीक्षणका लागि विदेश निर्यात गरेर पनि यो समस्या हल गर्न सकिने बाँदरविज्ञ डा. मुकेश चालिसे बताउँछन्। मानव स्वास्थ्यमा औषधिको अनुकूलता वा प्रतिकूलता छुट्याउन विश्वभरि नै रातो बाँदर प्रयोग गरिंदै आएको उनी बताउँछन्।
यस्तै, सातै प्रदेशमा प्रयोगशाला खोलेर आठ-दश हजार बाँदर खपत गर्न सकिने पनि उनी तर्क गर्छन्। “बाँदरको संख्या नियन्त्रणका लागि भारतमा जस्तै प्रयोगशालामा राखेर बन्ध्याकरण गर्नुको विकल्प छैन,” चालिसे भन्छन्।
कुन क्षेत्रका बाँदरको संख्या कति छ, तिनको आनीबानी कस्तो छ भन्ने अध्ययन नगरी बाँदर नियन्त्रणका लागि कदम चाल्न नसकिने उनी बताउँछन्। यो कामको मुख्य जिम्मेवारी सरकारले लिनुपर्ने उनको सुझाव छ। “यद्यपि पर्यावरणीय र मानवीय प्रयोजनमा काम नदिने, बाली मात्र नाश गर्ने रोगी बाँदरलाई निषेध गर्दा हुन्छ,” चालिसे भन्छन्, “भारतमा पनि बिगबिगी ज्यादा रहेको ठाउँमा सरकारको आँखा छलेर मार्ने गरिएको पाइन्छ।”