चौथो पटक विश्वासको मत लिंदै मधेशका मुख्यमन्त्री
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै छन्।
प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने भएका हुन्। गत चैत ९ गते नेपाली कांग्रेसले यादवको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीलाई हटाएर नेकपा (एमाले)लाई सरकारमा सहभागी गराएपछि कांग्रेसले समर्थन फिर्ता लिएको थियो।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।
जस अनुसार मुख्यमन्त्री यादवले यो सहित चौथो पटक विश्वासको मत लिन लागेका हुन्। १०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।
अहिले जनता समाजवादी पार्टी (जसपा) नेपालकाे नेतृत्वको मधेश सरकारमा एमाले, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्। प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी र लोसपाका नौ-नौ र एकीकृत समाजवादीका सात सांसद छन्। यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादी पार्टीका एक-एक सांसद छन्।