सगरमाथाको छायामा कोशीका गन्तव्य
संसारकै सर्वोच्च शिखर सगरमाथा सहितका देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेको कोशी प्रदेशले पर्यटनबाट फाइदा भने लिन सकेको छैन।
समुद्री सतहबाट ७० मिटरको उचाइमा रहेको कचनकवलदेखि आठ हजार ८४८.८६ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म छन्, कोशी प्रदेशमा। सगरमाथासँगै आठ हजार मिटरभन्दा अग्ला पाँच वटा हिमाल कोशीमै पर्छन्।
उच्च हिमशृंखलासँगै रमणीय पहाड, पर्वत तथा फाँट रहेको कोशी प्रदेशमा थुप्रै पर्यटकीय गन्तव्य पनि छन्। उच्च हिमशृंखलाले बर्सेनि हजारौं पर्यटकलाई आकर्षित पनि गरिरहेका छन्। तर कोशीले पर्यटनको प्रतिफल पाउन सकेको छैन।
बरु उच्च हिमशृंखलाको छायामा परेका छन् कोशी प्रदेशका कैयौं पर्यटकीय गन्तव्य। हिमालसँगै पहाड तथा तराईमा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन हुन सकेको छैन। प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता अखिलेशकुमार गुप्ता पनि कोशी प्रदेशका पर्यटकीय क्षेत्रको पहिचान र प्रचारमा कमी भएको स्वीकार गर्छन्। “कोशीमा पर्वतारोहणदेखि पदयात्रासम्मका लागि उत्कृष्ट ठाउँहरू छन्, जुन प्रचारप्रचार कुरेर बसिरहेका छन्,” गुप्ता भन्छन्।
हिमशृंखला बाहेकका प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न सकिए ग्रामीण अर्थतन्त्रसँगै स्थानीय बासिन्दाको जीवनस्तर उकासिने विज्ञहरू बताउँछन्। जसले गर्दा कोशी प्रदेशले हिमालमा मात्रै भर पर्न नहुने उनीहरूको भनाइ छ।
अझ पूर्वी नाकाहरू विराटनगर र काँकडभिट्टा लगायतबाट थुप्रै भारतीय पर्यटक भित्रिने गरेका छन्। उनीहरूलाई ध्यानमा राखेर पनि पर्यटन प्रवर्द्धनका काम हुन सकेका छैनन्।
प्रदेशका ओझेल परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र प्रचारप्रसार गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि सारेको प्रवक्ता गुप्ताको भनाइ छ। उनी वृत्तचित्र निर्माण, होमस्टे सम्मेलन र मन्त्रीसँग पर्यटन लगायत कार्यक्रमको उदाहरण दिन्छन्।
कोशीका पर्यटकीय गन्तव्य
कञ्चनजंघा क्षेत्र : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा पर्यटकले कम आरोहण गर्ने हिमालमध्ये पर्छ। भौगोलिक विकटता र कठिन यात्राका कारण कञ्चनजंघा थोरै आरोहीको रोजाइमा पर्छ। दुई वटा आधारशिविर रहेको कञ्चनजंघाका उत्तर र दक्षिण दुवै आधारशिविरको फन्को लगाउन दुई साताभन्दा बढी लाग्छ। कञ्चनजंघासँगै कञ्चनजंघा दक्षिण, फक्ताङलुङ, किरात चुली, जोङसाङ, काब्रु लगायत हिमाल पनि पर्यटकीय गन्तव्य हुन्।
फुङफुङे झरना : ताप्लेजुङ सदरमुकाम फुङलिङबाट दुई घण्टा मोटरबाटोको यात्रापछि फुङफुङे झरना अवलोकन गर्न सकिन्छ। झरना नजिकै सावाँगाउँमा बनेका होमस्टे पाहुनाको स्वागतका लागि तम्तयार छन्। लिम्बू समुदायको परम्परागत धान नाच, हाक्पारे ख्याली, च्याब्रुङ नाच र बिजुवा नाच पनि हेर्न पाइन्छ। त्यस्तै, परम्परागत खाना तोङ्बा, सुकुटी, सिन्सु, ढिंडो र लोकल कुखुराको मासुका पारखीका लागि होमस्टे नयाँ गन्तव्य बनेका छन्।
तिम्बुपोखरी : ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा रहेको तिम्बुपोखरी पर्यटकका लागि आकर्षक गन्तव्य हो। भदौदेखि कात्तिकसम्म यो पोखरी झनै रमणीय हुन्छ। हिउँदमा पनि पदयात्रा गर्दै तिम्बुपोखरी पुग्न सकिन्छ। पाँचथर सदरमुकाम फिदिमदेखि एक दिनको मोटरबाटो र एक बिहानको पदयात्रा गरेर तिम्बुपोखरी पुग्न सकिन्छ।
पाथीभरा मन्दिर : ताप्लेजुङको उत्तरी हिमालबीच पाथी जस्तै थुम्को भएर पाथीभरा मन्दिर अटल छ। समुद्री सतहबाट तीन हजार ७९४ मिटरको उचाइमा रहेको मन्दिर पुग्न पाँच घण्टा पैदल उकालो चढ्नुपर्छ।
पाथीभराको दर्शनले मनोकामना पूरा हुने जनविश्वास लिएर नेपालसँगै भारतबाट पर्यटक आउने गरेका छन्। पाथीभराबाट कञ्चनजंघा, कुम्भकर्ण, काङबाचेन, मकालु, ल्होत्से, नोत्से, डोम लगायत हिमालको अवलोकन गर्न सकिन्छ।
सुकेपोखरी : फागुनदेखि वैशाखसम्म लालीगुराँसले ढकमक्क हुने सुकेपोखरी लोहाकिला क्षेत्र फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र इलामको सन्दकपुर गाउँपालिकाको त्रिवेणी हो। जहाँ गुराँसले पाखापखेरा नै रातै हुन्छन्। मेची राजमार्ग अन्तर्गत पाँचथरको पौवाभन्ज्याङ बजारबाट सुकेपोखरी पाँच किलोमिटरको दूरीमा छ। सुकेपोखरीबाट पनि आधा घण्टा पैदलयात्रा मार्फत सुकेपोखरी लोहाकिला पुगिन्छ।
कन्याम : इलाम भन्ने बित्तिकै मानसपटलमा चियाबारीको दृश्य आउँछ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चारआलीबाट उत्तरतर्फ लागेपछि शुरू हुने चियाका बोटहरूको हरियाली हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक कन्याम पुग्छन्। पछिल्लो समय स्थानीय वेशभूषा र घोडा सवारीले पर्यटकलाई मनोरञ्जन थपेका छन्।
अर्जुनधारा मन्दिर : धार्मिक पर्यटकीय स्थलमध्ये झापाको अर्जुनधारा मन्दिर पौराणिक महाभारतकालका कथाहरू बोकेको स्थल हो। यस पवित्र भूमिमा अर्जुनले वाण हानी पानी निकालेको किंवदन्ती रहेको छ। बिर्तामोडबाट उत्तरतर्फ अर्जुनधारा नगरपालिकामा पर्ने मन्दिरमा बालाचतुर्दशी, साउने सोमबार र शिवरात्रिमा मेला लाग्छ।
कीचक वध : मेची नदी किनारमा रहेको कीचक वध महाभारतकालीन कथामा आधारित छ। राजा विराट्का सेनापति कीचकलाई भीमसेनले घाँटी थिचेर मारेको किंवदन्तीमा कीचक वध प्रख्यात छ। स्वस्थानी पूर्णिमाको दिन मेला लाग्ने कीचक वधमा नेपालसँगै भारतबाट पनि श्रद्धालु आउँछन्।
श्रीअन्तु : समुद्री सतहबाट दुई हजार ३२८ मिटर उचाइमा रहेको अन्तुडाँडाबाट सूर्योदय हेर्न आन्तरिक तथा बाह्य पर्यटक श्रीअन्तु पुग्ने गरेका छन्। सामुदायिक होमस्टे र श्रीअन्तुमा शुरू भएको स्काई ब्रिजले आकर्षण थपेको छ।
कचनकवल : नेपालको सबैभन्दा होचो ठाउँका रूपमा कचनकवल परिचित छ। झन्डै चार बिघा जमीन अत्यन्तै होचो भएकाले वर्षाको समयमा जमेको पानीको दलदल नै हुन्छ। अल्पसंख्यक आदिवासी गनगाईं (गणेश) जातिको बसोबास रहेको केचना क्षेत्रमा दुई वटा पोखरी पनि छन्। २० फिट अग्लो स्तम्भ कछुवाको आकृतिमा कचनकवलमा स्थापना गरिएको छ।
सन्दकपुर : सबैभन्दा अग्लो डाँडाका रूपमा रहेको सन्दकपुर सूर्योदय र सूर्यास्त हेर्नका लागि प्रख्यात छ। सन्दकपुरबाट कुम्भकर्ण, सगरमाथा, कञ्चनजंघा, मकालु लगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ। सन्दकपुर डाँडाबाट नेपालसँगै सिक्किमको सुन्दर दृश्यावली पनि हेर्न सकिन्छ।
कन्काई माई मन्दिर : झापाको प्रसिद्ध मन्दिर कन्काई माईको किनारमा रहेको माई नदीमा नुहाएर दर्शन गर्ने प्रचलन छ। माघे संक्रान्तिको समयमा यहाँ ठूलो मेला लाग्छ। सँगै रहेको कन्काई धाम कोटिहोम नदी किनारमा खुला र शान्त छ। २०४२ सालमा योगी नरहरिनाथको अगुवाइमा धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ भएको थियो।
माईपोखरी : समुद्री सतहबाट दुई हजार १०० मिटरको उचाइमा रहेको माईपोखरी रामसार क्षेत्रमा सूचीकृत छ। माईपोखरी सन्दकपुर गाउँपालिकामा पर्ने पोखरामा रैथाने गलैंचे झ्याउ र दुर्लभ ठकठके वनस्पतिको अवलोकन गर्न सकिन्छ। यसैसँगै संकटापन्न तथा लोपोन्मुख प्रजातिमा रहेका वनस्पति र वन्यजन्तुको अवलोकनका लागि पनि माईपोखरी र यो क्षेत्र निकै प्रसिद्ध छ।
बेतना सिमसार : मोरङको बेलबारीमा रहेको बेतना सिमसार पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ। ३०० भन्दा बढी कछुवा पाइने बेतनामा अजिंगर, दुम्सी, खरायो, नील गाई, बाँदर लगायत वन्यजन्तु पाइन्छ। कछुवा प्रजनन केन्द्रका रूपमा रहेको यस स्थानमा अध्ययनकर्ता पनि आउने गरेका छन्। मानिसहरू बेतनामा बोटिङ र वनभोजका लागि पनि पुग्ने गरेका छन्।
सुखानी पार्क : पञ्चायतकालमा भएको झापा विद्रोहमा ज्यान गुमाएका पाँच शहीदको शालिक निर्माण गरिएको स्थान हो, सालबारी सुखानी पार्क। यस क्षेत्रमा सुन्दर पोखरी पनि बनाइएको छ भने संगीतको धुनसँगै पानीका फोहोरा नाच्न थाल्छन्। पोखरीमा डुंगा मार्फत जलविहार पनि गर्न सकिन्छ।
धनपालगढी : धनपाल राजाको दरबार भएको बेलबारी–५, कसेनीमा रहेको छ, धनपालगढी। नवदम्पतीले वैशाखको मेलामा पोखरीबीचमा गएर पूजा गर्दा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ। सात वटा पोखरी रहेको क्षेत्रमा चार पोखरी भत्किएका छन् भने तीन वटाको मर्मतसम्भार गरिएको छ।
जेफाले : एकै छिनमा कुहिराले डाँडाकाँडा ढाक्ने अनि एकै छिनमा सिमसिम पानी पर्ने र तुरुन्तै छोड्ने विशेषताले भरिएको छ, जेफाले। मोरङको सुन्दरहरैंचाको खोर्सानेबाट उत्तरतिर ३४ किलोमिटरको दूरीमा रहेको जेफाले पुग्न गाडीमा दुई घण्टा लाग्छ। माघदेखि भदौसम्म पर्यटकको घुइँचो लाग्ने यस क्षेत्रमा होमस्टे सञ्चालन गरिएको छ।
तालतलैया : वनभोजका लागि पहिलो रोजाइको क्षेत्र हो, सुनसरीको तालतलैया। ससाना सात वटा ताल करीब २० हेक्टरमा फैलिएका छन्। कोशी राजमार्गमा पर्ने तरहराबाट पाँच किलोमिटर पूर्वमा रहेको तालतलैयामा डुंगा सयर, घोडचडी दौडमा रमाउन सकिन्छ।
बूढासुब्बा मन्दिर : सुनसरीको धरानस्थित बूढासुब्बा मन्दिर अर्को पर्यटकीय गन्तव्य हो। मन्दिरभित्र दुई वटा माटाका ढिस्का छन् जसलाई बूढासुब्बाका रूपमा पूजा गरिन्छ। बूढासुब्बा मन्दिर प्रांगणमा रहेका बाँसमा प्रेमीप्रेमिकाको नाम कुँदे प्रेम अमर रहने जनविश्वास छ।
वराह क्षेत्र : वर्षभरि नै नागरिकको आवतजावत हुने क्षेत्र हो, वराह क्षेत्र। कात्तिक पूर्णिमा र मकर संक्रान्तिका समयमा यस क्षेत्रमा मेला लाग्छ। वराह क्षेत्रमा विष्णुले वराहको अवतार लिएको जनविश्वासमा पूजा गरिन्छ।
भेडेटार : धरानबाट उत्तरमा रहेको भेडेटार सानो र सुन्दर बजार हो। चिसो हावा बहने भेडेटार भ्यू-पोइन्टबाट धरानको सुन्दर दृश्य देख्न सकिन्छ। छिनमा हुस्सु र छिनमा बदली हुने मौसमले भेडेटारको सुन्दरता बढाएको छ। साहसिक खेल जीपलाइन, प्याराग्लाइडिङको व्यवस्था भएसँगै आकर्षण थपिएको छ।
नमस्ते झरना : धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना पूर्वमा पर्यटक झुम्मिने अर्को गन्तव्य हो। गर्मी यामको शुरूआत भएसँगै नमस्ते झरनामा पर्यटकको भीड लाग्छ। करीब ८० मिटर उचाइबाट झरेको पानीको फोहराले पर्यटकलाई मोहित बनाउँछ।
उदयपुरगढी : उदयपुरको पुरानो सदरमुकाममा प्रायः मौसम चिसो रहन्छ। गर्मीबाट शीतलता प्राप्त गर्न र गढीबाट तराईको समथर भूभाग हेर्न पनि उदयपुरगढी पुग्ने गरिन्छ। १०० वर्षभन्दा पुराना ठूल्ठूला वरपीपलका रूखले गढीको सुन्दरता बढाएका छन्। राजा उदय सेनले राज्य गरेको ठाउँका रूपमा उदयपुरगढी प्रख्यात छ।
चौदण्डीगढी : ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको स्थल हो, चौदण्डीगढी। सेनवंशीय राजा जगत सेनका चार पुस्ताले चौदण्डीगढी दरबारबाट राज्य सञ्चालन गरेको इतिहास छ। पुरातात्त्विक महत्त्व बोकेका देवीदेवताका मूर्ति, ढुंगामा कुँदिएका सामग्री अहिले पनि भेटिन्छन्।
हिले बजार : तोङ्बा र सुकुटीका लागि प्रख्यात हिले बजारमा सधैं चिसो मौसम रहन्छ। तेह्रथुम र भोजपुर जिल्ला लाग्ने बाटो छुट्टिने हिले बजार व्यापारिक केन्द्र पनि हो। चिसो मौसममा रमाउनेहरूको रोजाइमा पर्छ, हिले बजार।
रौतापोखरी : रौतामाई भाकेर कामना पूरा हुने जनविश्वासमा नेपाल तथा भारतका श्रद्धालु रौतापोखरी पुग्छन्। डाँडाबीचमा रहेको पोखरी सधैं सङ्लो र सफा देखिन्छ। सदरमुकाम गाईघाटबाट तीन घण्टा उकालो गाडीमा हुइँकिएपछि रौतापोखरी पुगिन्छ।
पोकली झरना : देशकै ठूलोमध्ये पर्छ, पोकली झरना। ओखलढुंगाको लिखु गाउँपालिकास्थित १३० मिटर अग्लो झरना सुन्दर पहाडबीचबाट फोहोरा फाले झैं देखिन्छ। सबै याममा एकनास रहने पोकलीको विशेषता हो। झरनामा देखिने इन्द्रेणीले झन् सुन्दरता थप्ने गरेको छ।
रुम्जाटार : गुरुङ समुदायको बाहुल्य रहेको ओखलढुंगाको रुम्जाटार अर्को पर्यटकीय गन्तव्य हो। गुरुङ सभ्यता र संस्कृतिको अध्ययनका लागि पनि यो आगन्तुकको रोजाइमा पर्छ। नेपालका ठूला टारमध्ये रुम्जाटार एक हो।
गुफापोखरी : संखुवासभाको चैनपुर-१ मा पर्छ, गुफापोखरी। वसन्तपुरबाट ६ घण्टा गाडीमा हुइँकिएपछि गुफापोखरी पुग्न सकिन्छ। बाटोमा तोङ्बा, सुकुटी, गुराँसको जूस र छुर्पी खाँदै यात्रा गर्न पाइन्छ। गुफापोखरीमा चौंरी र चौंरीगाईका घण्टीको आवाजले बिहानीको संकेत गर्छ। मौसम खुलेको वेला मकालु हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ।
मेरा पीक : आरोहणका लागि सजिलो हिमालका रूपमा मेरा पीकलाई लिने गरिन्छ। छेस्काम र बुंगको सिमानामा रहेको मेरा पीक ६ हजार ६५४ मिटर अग्लो छ। लुक्लाबाट थुक्दिङमा, छेथरवा, कोठे, ठकनाक, खहरे हुँदै आधारशिविर पुगिन्छ। सगरमाथा आरोहण गर्नेहरूले मेरा पीकलाई अभ्यासस्थलका रूपमा पनि लिने गरेका छन्।
शिवधारा : संखुवासभा सदरमुकाम खाँदबारीबाट पाँच दिनमा पुगिन्छ, शिवधारा क्षेत्र। हिन्दू र बौद्ध धर्मावलम्बी विशेषगरी जनैपूर्णिमाका अवसरमा शिवधारा पुग्छन्। शिव र पार्वतीले वास गरेको स्थलका रूपमा शिवधारा क्षेत्रलाई लिने गरिन्छ। त्यस्तै, गुफामा रिम्पोछे लामाले तपस्या गरी भक्तलाई अभिषेक गरेको विश्वासका आधारमा बौद्ध धर्मावलम्बी त्यहाँ पुग्ने गरेका छन्।
घोर्ले झरना : पाँचखपन नगरपालिकामा रहेको घोर्ले झरना १९१ मिटर अग्लो छ। तीन तला भएर झर्ने झरनाको अन्तिम तला सबैभन्दा लामो छ। जसबाट प्रत्येक दिन इन्द्रेणी फैलिन्छ। सबैभन्दा माथिल्लो छाँगा नौ मिटर, दोस्रो ६५ मिटर र अन्तिमको छाँगा ११७ मिटरको हुन्छ।
टीएमजे : लालीगुराँसले प्रख्यात छ, तीनजुरे, मिल्के र जलजले (टीएमजे) क्षेत्र। फागुनदेखि वैशाख पहिलो सातासम्म गुराँसले वनै ढकमक्क परेको हुन्छ। तेह्रथुम, संखुवासभा र धनकुटाको सिमानामा पार्ने यस क्षेत्रमा गुराँससँग रमाउन पर्यटक आइपुग्छन्। तेह्रथुममा भने २८ प्रजातिका गुराँस पाइन्छन्।
भुलभुले दूधकुण्ड : खोटाङको भुलभुले दूधकुण्डमा स्नान गर्नाले रोगकष्ट हराउने विश्वास छ। मध्यपहाडी लोकमार्गमा पर्ने भुलभुले दूधकुण्ड सदरमुकाम दिक्तेलबाट १० किलोमिटरको दूरीमा पर्छ। भुलभुल पानी निस्किने भुलभुले कुण्ड नजीकै रुवालुङ झरना पनि छ। प्रेमीप्रेमिकाले परेवा उडाए प्रेम सफल हुन जनविश्वासले पनि पर्यटक आउने गरेका छन्।
हलेसी महादेव गुफा : पूर्वको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो, हलेसी महादेव गुफा। बाक्लो जंगलले ढाकिएको थुम्काको टाकुरामा आकाशतिर फर्किएको ठूलो चट्टानको गुफालाई महादेव गुफाका रूपमा पुजिन्छ।
हिन्दू धर्मावलम्बीले महादेवस्थानका रूपमा लिन्छन् भने किरात, बौद्ध धर्मावलम्बीले भिक्षु पद्मसम्भवले सातौं शताब्दीमा तपस्या गरेका पवित्र तपोभूमि मान्ने गर्छन्। मनोकांक्षा पूरा हुने विश्वासमा रामनवमी, शिवरात्रि, तीज र बालाचतुर्दशीमा टाढा टाढाबाट आन्तरिक पर्यटक आइपुग्छन्।
तुवाचुङ जायजुम : राई जातिको संस्कृतिको उद्गमस्थलका रूपमा मलाथुम्की डाँडालाई लिने गरिन्छ। यही भूमिमा किरात चतायामा खियाले धागो बनाई कपडा बनाउनका लागि तान बुन्न शुरूआत गरेको किंवदन्ती पनि छ।
ट्याम्के डाँडा : किरात राजाले राज्य गरेको भोजपुरको ट्याम्के डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य रोमाञ्चक देखिन्छ। डाँडामा रहेका सिद्धेश्वर महादेव र महांकाल देवीको मन्दिरले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्छ। सगरमाथा, मकालु, कञ्चनजंघा र गौरीशंकर लगायत हिमशिखर एउटै डाँडाबाट अवलोकन गर्न सकिन्छ। ढकमक्क फुलेका गुराँसले डाँडाको सुन्दरता बढाएको हुन्छ।
खुम्जुङ : हरित उपत्यका खुम्जुङ शेर्पाको पुरानो बस्ती हो। उस्तै रङ र उस्तै आकारका घर भएकाले पनि सोलुखुम्बुको यो गाउँ सुन्दर देखिन्छ। सगरमाथाको काखमा रहेको प्रमुख पर्यटकीय गन्तव्य हो। प्रथम सगरमाथा आरोही सर एड्मन्ड हिलरीले लामो समयसम्म आवतजावत गरेको यो बस्ती आन्तरिकसँगै बाह्य पर्यटकको पनि रोजाइमा पर्छ।
दूधकुण्ड पोखरी : समुद्री सतहबाट चार हजार ६३२ मिटरको उचाइमा रहेको दूधकुण्ड सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-१ मा पर्छ। गंगाजमुना, भूतपोखरी, आँखेपोखरी, महाकुण्ड लगायत १० वटा ताल दूधकुण्डको आसपासमा छन्। हिन्दू, किरात तथा बौद्ध धर्मावलम्बीको आस्थाका रूपमा मानिने पोखरी वर्षा याममा चौंरी गोठालाले पत्ता लगाएको जनविश्वास छ।
साल्पापोखरी : गंगा नदीको शिर मानिने साल्पापोखरी सोलुखुम्बु, भोजपुर, संखुवासभा र खोटाङको सिमाना छुट्याउने पोखरीका रूपमा चिनिन्छ। समुद्री सतहबाट तीन हजार ६७२ मिटरको उचाइमा रहेको साल्पापोखरी कचौरा आकारमा पहाडले घेरिएको छ। हिमाली जैविक विविधताले भरिपूर्ण साल्पा किरात समुदायको आस्थाको धरोहर पनि हो।
पत्ताले डाँडा : सोलुखुम्बु र ओखलढुंगाको सिमानामा रहेको पत्ताले डाँडा धार्मिक तीर्थस्थलका रूपमा चिनिन्छ। फागुनदेखि वैशाखसम्म फुल्ने लालीगुराँसले पत्ताले डाँडालाई सुन्दर बनाउँछ भने हिउँदमा सेताम्य हुन्छ। तीन हजार १५० मिटरको उचाइमा रहेको पत्ताले डाँडाबाट हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ।
डुलौं देश शृंखलाका थप सामग्री :