लुम्बिनीमा विषयगत समितिको नेतृत्वमा भागबन्डा
लुम्बिनी प्रदेश सभामा संसदीय समिति गठन भएको डेढ वर्षपछि नेतृत्व चयन गर्न लागिएको छ।
राजनीतिक दलबीच भागबन्डा मिलेसँगै प्रदेश सभाका विषयगत समितिको सभापति चयनका लागि वैशाख ५ गते निर्वाचन तय गरिएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सोमबार सूचना जारी गरेर निर्वाचनको कार्यक्रम सार्वजनिक गरेका छन्।
प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समिति र विशेष अधिकार समितिको निर्वाचन हुन लागेको उनले बताए। वैशाख ४ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
यसैबीच विषयगत समितिको नेतृत्वका लागि नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सहमति भइसकेको एमालेका सचेतक तुलसी चौधरीले बताए।
उनका अनुसार एमालेले अर्थ, उद्योग तथा पर्यटन समिति र भौतिक पूर्वाधार विकास समिति, कांग्रेसले सार्वजनिक लेखा समिति र कृषि, वन तथा वातावरण समिति तथा माओवादीले प्रदेश मामिला तथा कानून समिति र सामाजिक विकास समितिको नेतृत्व पाउने सहमति बनेको छ। विशेष अधिकार समितिबारे भने छलफल भइरहेको उनले बताए।