एकीकृत समाजवादीले गठबन्धन भत्काउन खोजेको ओलीको आरोप
नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन भत्काउन खोजेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशमा भइरहेको राजनीतिक फेरबदललाई उदाहरण दिएका छन्। सुदूरपश्चिममा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठसँग मुख्यमन्त्री दिने सहमति गरेका थिए।
तर एकीकृत समाजवादी र नेपाली कांग्रेसले नाउपाका संरक्षक रेशम चौधरीसँग मिलेर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लगाएका छन्। कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका छन् भने एमाले र माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले दाबी पेश गरेका छन्।
त्यसलाई लिएर ओलीले गठबन्धन भत्काउन खोजेको आरोप लगाएका हुन्। त्यसलाई ओलीले एकीकृत समाजवादीको अराजनीतिक निर्णय भएका छन्।
“नयाँ समीकरणमा नेकपा (एस) भन्ने पार्टी छ एउटा, त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन सक्ने कुरा थियो,” त्यस विपरीत निर्णय गरेको भन्दै ओलीले थपे, “नेकपा एसमा अराजनीतिक निर्णय गर्यो। जुन सही दिनमा राजनीति फर्किंदै थियो।”
यसलाई ओलीले दक्षिणपन्थी अवसरवाद भनेका छन्। “आन्तरिक रूपमा त्यसका बार्गेनिङ छँदै थियो। यो समीकरणबाट नाउपालाई समर्थन नगर्ने कांग्रेस केन्द्रित समीकरणबाट गर्ने, दक्षिणपन्थी अवसरवादको चरित्र नांगो ढंगबाट देखियो, यस्तो नहुनुपर्ने थियो,” ओलीले भने, “कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिं समाजवाद पक्षधरहरूको विपक्षमा गर्दै छन्।”