अमेरिकामा बढ्दो आत्महत्या, छोरा गुमाएकी आमा भन्छिन्- ठीकै छ भन्नु ठीक नहुँदो रहेछ
अमेरिकी युवामा बढ्दो आत्महत्याले अनेक प्रश्न उब्जाएका छन्, तर स्पष्ट जवाफ भने छैन।
क्याथरिन र टोनी सालासलाई उनीहरूका छोरा बेनले द्वैध जीवन बाँचिरहेको भेउ थिएन। “एकातिर उनले आत्महत्या गर्ने योजना बनाइरहेका रहेछन्,” टोनी भन्छन्, “अर्कातिर उनले बिहानको टीकाटालो गर्न औंठी किन्ने योजना बनाइरहेका थिए।”
आमा क्याथरिन छोराबारे कुराकानी गर्दा पनि भक्कानिन्छिन्। “उनले कम्तीमा पनि एउटा मौका दिएको भए हामी सहयोग गर्न सक्थ्यौं,” आमा भन्छिन्, “सबैभन्दा दुःख लाग्ने कुरा नै यही हो। मैले यसबारे उनीसँग कुरा गर्ने मेलो नै पाइनँ।”
गत अप्रिलमा २१ वर्षीय बेनले आत्महत्या गरे। उनी अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयमा अपराधशास्त्रका राम्रै विद्यार्थीमा दरिएका थिए भने उनलाई उदीयमान खेलाडीका रूपमा पनि हेरिएको थियो। उनका धेरै साथी थिए र उनी एउटा मायालु परिवारका सदस्य थिए। त्यस बाहेक उनी एक जनासँग लामो समयदेखि प्रेम सम्बन्धमा पनि थिए।
गत वर्ष अमेरिकामा दर्ता भएका ५० हजार आत्महत्यामध्ये उनको मृत्यु एक थियो, जुन संख्या अमेरिकामा भएको आत्महत्यामा अहिलेसम्मकै उच्च हो। त्यसअघि सन् २०२२ मा अमेरिकामा ४९ हजार ४४९ जनाले आत्महत्या गरेका थिए, जुन गत वर्षपछिको दोस्रो उच्च संख्या हो।
छोरो गुमाउनुपर्दाको पीडाले ग्रसित टोनी र क्याथरिनले घरको एउटा साझा कोठालाई ‘स्मरण भित्ता’ बनाएका छन्। त्यस भित्तामा उनीहरूले बेनले पाएका डिप्लोमाका प्रमाणपत्र, पुरस्कार र मरणोप्रान्त सम्मान झुन्ड्याएका छन्। “उनी राम्रा अलराउन्डर थिए,” टोनी भन्छन्, “हाम्रो आत्मामा ठूला भ्वाङ परेको छ। हाम्रो एक अंश नै हराएको छ।”
बेनले किन आत्महत्या गरे भन्ने प्रश्नको उत्तर पाउन सालास परिवार संघर्षरत छ। बेनको परिवारले जनाए अनुसार सन् २०२० मा उनलाई हल्का डिप्रेशनले सताएको थियो, तर उनी ठीक भइसकेका थिए।
“मानसिक रूपमा विक्षिप्त भएको कुनै संकेत उनमा देखिएका थिएनन्। तर उनी गइहाले,” टोनी भन्छन्।
बेन आफ्ना आमाबुबासँग नजिक थिए। उनीहरूबीच कुराकानी भइरहन्थ्यो। टोनीले छोरो बित्नुभन्दा केही समयअघि फोन गरेका थिए। “उसले ‘मलाई ठीक छ। म सन्चै छु’ भनेका थिए। तर त्यसको केही घण्टापछि उनी बितिहाले,” टोनी भन्छन्।
नर्थ क्यारोलिना विश्वविद्यालयमा हालैका दिनमा आत्महत्याका अरू घटना पनि भएका छन्। अघिल्लो वर्ष विश्वविद्यालयमा बेन सहित सात जना विद्यार्थीले आत्महत्या गरेका थिए। यस शैक्षिक सत्रको गत जनवरीसम्म तीन जनाले आत्महत्या गरिसकेका छन्।
यसरी आत्महत्याको संख्या बढिरहँदा विश्वविद्यालयका कर्मचारी र विद्यार्थीलाई अवस्था सामना गर्न गाह्रो हुँदै गएको उपकुलपति जस्टिन होलिङसेड बताउँछिन्। अमेरिकामा आत्महत्या ‘राष्ट्रिय रोग’ बन्दै गएको छ, जुन क्याम्पसमा मात्रै सीमित छैन।
“यदि हामीलाई कारण थाहा हुने हो भने त्यसको निदान खोज्न सकिन्थ्यो। हामीले यो समस्यालाई बेवास्ता वा अनदेखा गर्न खोजेका होइनौं। तर चेतावनीको संकेत नै पाइँदैन,” उनी भन्छिन्, “व्यक्तिले आफ्नो कुरा परिवार वा साथीभाइलाई भन्दैनन् न त कुनै सहयोगको अपेक्षा गर्छन्। अनि आफैं निर्णय गर्छन्। के भएको हो भन्ने हामीलाई पत्तै हुँदैन।”
पछिल्लो समय नर्थ क्यारोलिना स्टेटले परामर्शदाता र सहायता कक्षको संख्यामा उल्लेख्य बढोत्तरी गरेको छ। साथै, त्यहाँ ‘क्यूपीआरः क्वेस्चन, परसुएड, रिफर’ (प्रश्न गर्ने, सम्झाइबुझाइ गर्ने, सिफरिश गर्ने) प्रणाली विकास गरिएको छ। यस प्रणालीले विद्यार्थीलाई आफ्ना साथीमा कुनै खालको मानसिक समस्याको संकेत देखिएमा पहिचान गर्न मद्दत गर्नेछ।
विश्वविद्यालयका कर्मचारीलाई यदि विद्यार्थीले निरन्तर कक्षा छोडेमा वा आफ्नो काम बुझाउने समयसीमा बढाइदिन बारम्बार अनुरोध गरेमा त्यसबारे छलफल गर्न अनुरोध गरिएको छ। किनभने कतिपय अवस्थामा त्यो पनि समस्याको संकेत हुन सक्छ। “मलाई लाग्छ, अकल्पनीय अवस्थामा के गर्न सकिन्छ भन्ने सन्दर्भमा हामीले आफूले सकेको गरिरहेका छौं,” उपकुलपति होलिङसेड भन्छिन्।
नर्थ क्यारोलिना विश्वविद्यालयको राता इँटाको भवन ‘ओक रूखको शहर’ भनेर चिनिने रेलिहा शहरको बीचमा छ। तिनै भवनमध्ये एकमा विद्यार्थी युनियनको कार्यालय छ, जहाँ अध्ययन केन्द्र, क्याफे र पसल छन्।
“पहिलो पटक घटना हुँदा म एउटा डोर्मिटरीमा थिएँ,” लोरेलाई नामका विद्यार्थी भन्छन्, “मलाई लाग्छ, हाम्रो उमेरका युवालाई अनेकौं सांसारिक विषयले व्याकुल बनाइरहेका छन्। संसारमा धेरै नराम्रा कुरा भइरहेका छन् र जीवनयापन महँगो हुँदै छ।”
विश्वविद्यालयमा कम्प्युटर साइन्स विषय अध्ययनरत ब्रोडी कलेजले पठाउने इमेल मार्फत कलेजमा उपलब्ध परामर्श तथा सहयोगबारे थाहा पाएको बताउँछन्। “कलेजले अहिले मानसिक समस्याबारे जोड दिन थालेको छ,” उनी भन्छन्।
अन्य राज्यका विश्वविद्यालयमा पनि यही समस्या छ। अमेरिकामा ३५ वर्षमुनिका युवामा उच्च मृत्युको दोस्रो कारणमा आत्महत्या पर्दै आएको छ।
यसो हुनुको एउटा कारण कोभिड-१९ महामारी पनि हुन सक्ने अमेरिकाको मानसिक रोगको राष्ट्रिय सञ्जालमा आबद्ध मनोचिकित्सक डा. क्रिस्टिन क्रफोर्ड बताउँछिन्। “युवा पुस्तालाई आवश्यक पर्ने सामाजिक सीप र सहयोगी वातावरणको अभावमा उनीहरूलाई नराम्रो असर पर्न जाँदा यस्तो भएको देखिन्छ,” डा. क्रफोर्ड भन्छिन्, “उनीहरू घरै बसे, आफ्ना साथीसँगातीबाट टाढा भए र युवावस्थामा आवश्यक पर्ने स्वस्थ विकासका तत्त्वबाट दूर भए।”
युवा जसले आफ्ना ल्यापटप र कम्प्युटरमा धेरै समय बिताए, तिनको मस्तिष्कमा युद्धको विभीषिका, एकांकी राजनीतिक सन्देशको बारम्बार प्रहार भइरह्यो, जसले उनीहरूलाई व्याकुल र डिप्रेशन गराएको डा. क्रफोर्ड बताउँछिन्।
सन् २०२१ को डिसेम्बरमा अमेरिकी स्वास्थ्य अधिकारीले स्वास्थ्य सचेतना जारी गरी युवामा बढ्दो आत्महत्याबारे चिन्ता जाहेर गरेका थिए। यो सचेतना विज्ञप्तिमा ‘पहिल्यै दबाबमा रहेको युवा पुस्ताको तनावलाई सामाजिक सञ्जालले बढाइदिएको’ उल्लेख थियो।
हाल अमेरिकाभरि २०० भन्दा बढी आत्महत्या सहयोग केन्द्र छन्, जहाँ फोन गरेर आफूलाई परेको समस्याबारे परामर्श लिन सकिन्छ। ९८८ मा फोन गर्दा त्यस्तो परामर्श केन्द्रमा सम्पर्क हुन्छ। त्यस्ता परामर्श केन्द्रमा गत वर्ष मात्र एक लाखभन्दा बढी फोन आएका थिए।
मेरिल्यान्ड राज्यले परामर्श केन्द्रको क्षमता विस्तार गरेर १५० जनालाई परामर्श दिने काममा सक्रिय पारेको छ। परामर्श केन्द्रकी अपरेटर जोसे मेलेन्डेज विश्वविद्यालयका विद्यार्थी बाहेक १५ देखि ४० वर्षसम्मका युवाले परामर्श केन्द्रमा फोन गर्ने गरेको बताउँछिन्। “विश्वविद्यालयलाई तिर्नुपर्ने शुल्क, आर्थिक तनाव लगायत विषयले एउटा व्यक्तिलाई सधैं दबाबमै राखेको हुन्छ,” मेलेन्डेज भन्छिन्।
यता, बेन सालासकी आमा क्याथिरनलाई पनि के लाग्छ भने, युवा पुस्ताले आर्थिक दबाबसँग संघर्ष गर्नुपरिरहेको छ। “अघिल्लो पुस्ताले पाउने गरेका थुप्रै आर्थिक सहुलियत अचेल हटाइएको छ। मलाई लाग्छ, धेरै युवा आफ्नो भविष्य के होला भनेर चिन्तित छन्,” उनी भन्छिन्।
अहिले क्याथरिन आफ्नो छोराको चित्र भएको ‘तिम्रो अर्थ छ’ नारा लेखिएको ब्याच छातीमा टाँसेर हिंड्ने गर्छिन्। “म यो ब्याच सधैं लगाउँछु र मेरो मुटुनिरै लगाउँछु, किनभने उनी मुटुमै छन्,” गहभरि आँसु पार्दै उनी भन्छिन्।
उनीहरू व्यक्तिको नियन्त्रण नहुने डिप्रेशन विरुद्ध सचेतना जगाउने अभियानमा छन्। आखिर बेनले पनि त डिप्रेशनलाई नियन्त्रणमा लिन सकेका थिएनन्।
उनीहरू दुवैले के अनुभव गरेका छन् भने, अमेरिकी समाजलाई मानसिक समस्याले कलंकित पारेको छ। “मानसिक स्वास्थ्य र मानसिक समस्याबारे धेरैभन्दा धेरै मानिसले कुराकानी गर्न आवश्यक छ,” टोनी भन्छन्, “जुन पीडा हामीले भोग्नुपर्यो, त्यस्तो दु:खान्त अरूलाई पनि पर्न सक्छ।”
उनको यो कुरामा क्याथरिन पनि सहमत छिन्। उनी भन्छिन्, “जे छ, ठीकै छ भनेर ढुक्क नहुनुहोस्। धेरैजसो अवस्थामा ‘ठीकै छ’ भन्नु ठीक नहुँदो रहेछ।”
(बीबीसीबाट महेश्वर आचार्यले गरेको अनुवाद।)