महावीर अभियान : एक रचनात्मक विद्रोह!
सत्ता सञ्चालकहरूलाई जति झकझक्याउँदा पनि हैरानी र परिणामहीनता मात्र पाएका महावीर पुन अहिले पुस्तक मार्फत रचनात्मक विद्रोह गरिरहेका छन्।
वीरगन्ज कृषि औजार कारखाना पुनःस्थापित गर्ने उद्देश्य सहित राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो जीवन-गाथा महावीर पुन : सम्झना, सपना र अविरल यात्रा पुस्तक सहित देश दौडाहामा निस्किएको करीब सय दिन पुग्नै लागेको छ। यसबीच उनले २८ जिल्ला पुगी करीब ८० हजार पुस्तक बिक्री गरिसकेका छन्। करीब पाँच करोड रुपैयाँ हाराहारी संकलन पनि गरिसकेका छन्।
पुनले यस अभियानमा पुस्तक बिक्रीसँगै समाजका विभिन्न तह-तप्का, समुदाय र उमेर समूहका नेपालीहरूसँग प्रत्यक्ष घुलमिल अनि अन्तरक्रिया गरिरहेका छन्। मुलुकको ‘औद्योगिक शिर’ ठाडो पार्ने संकल्प बोकेर एउटा नागरिकले चालेको यस्तो अभियान सराहनीय छ।
जसरी मानिसहरू स्वतःस्फूर्त यो अभियानमा जोडिएका छन्, त्यसबाट नेपाललाई स्वावलम्बी-स्वाभिमानी राष्ट्रका रूपमा उभिएको हेर्न चाहने जनमानसिकता पनि अभिव्यक्त भइरहेको देखिन्छ। त्यसैले यो अभियानले राष्ट्रिय चरण पूरा गरेको दिन देशका लागि आफूले सक्दो केही गर्नुपर्छ भन्ने राष्ट्रिय मनोविज्ञान पनि विकास हुनेछ।
अमेरिकामा अध्ययन सकी स्वदेश फर्किएर आफ्नो थातथलो (म्याग्दीको नागी)मा समुदायका लागि शैक्षिक, प्राविधिक र आयआर्जनसँग सम्बन्धित अभियानमा समर्पित पुनलाई राज्यले चिन्न नसकिरहेका वेला सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनिने रोमन म्यागेसेसेबाट सम्मानित गरिएको थियो। यसपछि मात्र उनले देशव्यापी ख्याति पाएका थिए।
यसको पाँच वर्षपछि उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरे। केन्द्र मार्फत देशमा अनुसन्धान अनि नवप्रवर्तनका लागि वर्षौं राज्यलाई गुहारे। तर सत्ता सञ्चालकहरूलाई जति झकझक्याउँदा पनि हैरानी अनि परिणामहीनताको नमीठो तर शिक्षामूलक अनुभव मात्र पाए। त्यसैको परिणाम हो- उनको अहिलेको देश दौडाहा।
वास्तवमा, वीरगन्जस्थित नेपाल कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक जोहो गर्न भनेर उनले लेखेको पुस्तक आफैंमा प्रेरणादायी छ। हुन त देशका ठूला-ठालुहरूले पनि आत्मकथा लेखेका छन्। तर यीमध्ये अधिकांश आत्मप्रसंशा, आत्मस्तुति र कतिपय त आत्मरति प्रकृतिका भएकाले ती कथित आत्मकथा आए/हराए। तर पुनको यस पुस्तकको एक प्रति धेरैले आफ्नो घरमा राख्न चाहेका छन्। आफ्ना सन्ततिले पढून् भन्ने चाहना राखेका छन्।
देशमा केही हुँदैन, केही गर्न सकिंदैन भन्ने भाष्यको प्रतिरोध गर्न चाहने हरेक युवाले पनि आफू र आफ्ना साथीहरूले यो पुस्तक पढेर मातृभूमिका लागि मरिमेट्ने प्रेरणा अनि ऊर्जा पाउन चाहेका छन्।
यस पुस्तकको सन्देश प्रवाह बहुआयामिक छ। हामीकहाँ विदेश (त्यसमा पनि विकसित देश) गएकाहरू नेपाल फर्कन नचाहने जुन मनोविज्ञान छ, त्यसलाई पनि निश्चित रूपमा यो पुस्तकले झकझक्याउनेछ। म्याग्दीको विकट अनि दुर्गम गाउँको एक ठिटाले गरेको संघर्ष र त्यसबाट पाएको सफलताको कथाले सामान्य आर्थिक स्तर भएका लाखौं युवालाई आफ्ना सपनाका लागि प्रयत्न गर्न प्रेरणा दिनेछ।
पुस्तकले भूपू गोर्खा सैनिकहरूले आफ्ना सन्ततिका लागि मात्र नभई दूरदराजमा शिक्षा अनि चेतनाका लागि गरेको योगदान अनि तिनलाई गुल्जार बनाउन गरेको विकास-नेतृत्वबारे पनि चियाउने आँखीझ्यालको काम गर्नेछ। मुलुकको नवनिर्माणका लागि प्रवासी नेपाली प्रतिभाहरूले गर्न सक्ने सहयोग र योगदानको सम्भावनालाई पनि प्रस्ट बुझ्न मद्दत गर्नेछ।
सबैभन्दा महत्त्वपूर्ण त प्रबल इच्छाशक्ति र संकल्प भएको एउटा व्यक्तिले आफ्नो समुदाय अनि देशका लागि केही गर्न चाहने हो भने के, कसरी र कुन हदसम्म गर्न सकिने रहेछ भन्ने पाठ दिने जीवन्त अनुभव हो यो पुस्तक।
साथै, देशका सत्ता सञ्चालक/नीतिनिर्माताको साँघुरो अनि जड मानसिकताको प्रत्यक्ष साक्षात्कार समेत पुस्तकले गराएको छ।
पुनले यस अभियानबाट कम्तीमा एक प्रतिशत जनता (करीब तीन लाख)सम्म यो पुस्तक पुर्याउने अनि प्राप्त रकमबाट कृषि औजार कारखाना पूर्ण क्षमतामा सञ्चालन गर्ने सपना पालेका छन्। कृषिप्रधान देशलाई कृषि औजारमा आत्मनिर्भर बनाउने उनको योजना छ।
त्यसैले सत्तास्वार्थमा अलमलिएर, राष्ट्रिय दायित्व निर्वाह गर्न उदासीन जस्तै भएका राजनीतिकर्मीहरूको जगजगी भएको मुलुकमा महावीर पुनको यो अभियान एक मौलिक अनि रचनात्मक विद्रोह नै मान्न सकिन्छ।
निराशा, पलायन अनि आत्मसमर्पणको मनोविज्ञान हावी भएको देशका जनताहरूका लागि पुनको यो विद्रोह आशा, उत्साह अनि संघर्षको ‘ज्योतिपुञ्ज’ बन्नेछ। अझ पुस्तकलाई अंग्रेजी, हिन्दी, मैथिली, भोजपुरी लगायत भाषामा अनुवाद समेत गरिनुपर्छ। यसको दीर्घकालीन प्रतिफल आउनेछ।
बुटवलमा नयाँ वर्षको दोस्रो दिन पुनसँग पंक्तिकारको भेट भएको थियो। छलफलका क्रममा पुनले पुस्तकको अंग्रेजी संस्करण लगभग तयार हुन लागेको र सम्बन्धित भाषाका पाठकले चासो दिएमा अन्य भाषामा पनि प्रकाशन गरिने उनले बताए।
पुन यो अभियानमा आफूले नदेखेको ठाँउ र नचिनेका मानिसहरू उत्साह अनि आत्मीयताका साथ जोडिन आएकोमा हर्षित थिए। तर केन्द्र, प्रदेश र स्थानीय सरकारप्रति आफ्नो अनुभव साट्दै उनले भनेका थिए- तिन(सरकार) ले कानमा तेल हालेर बसेका छन्!
त्यसैले तनहुँको ‘घाँसी र भानुभक्त’ को कथा सुनाउने यो देशका ‘हर्ताकर्ता’ हरूले ‘घाँसी’ को कर्म देखेर भानुभक्तले ‘प्रेरणा’ लिए जस्तै पुनको यो ‘विद्रोह’ बाट प्रेरणा, शिक्षा लिने जाँगर देखाउलान् कि नदेखाउलान्? अथवा केही दबाब महसूस गर्लान् कि नगर्लान्? यो प्रश्न आगामी दिनमा अहम् हुनेछ।