बोधिचित्तको रूख काटेको आरोपमा चार युवक पक्राउ
काभ्रेपलान्चोकको रोशी गाउँपालिका-५, नागबेलीस्थित बहुमूल्य बोधिचित्तको रूख काटेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ।
स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उनीहरूले गत चैत २९ गते राति नागबेलीस्थित ठाकुरानी तामाङको बगैंचामा रहेको बोधिचित्तको एउटा रूख काटेको प्रहरीको भनाइ छ।
फूल फुल्दै गरेको बोधिचित्तको रूख काटिएको थियो। रूखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोडमा रुपैयाँ बिक्री गर्न बैना गरिएको तामाङले बताए।
उनका अनुसार राति करीब १ बजे हातहतियार र सकेट बम सहित आएको करीब २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रूख काटेको थियो।
मैनाली र दुर्गालाललाई काभ्रेपलान्चोकको बनेपाबाट आइतबार पक्राउ गरिएको हो भने प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रूख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ। अन्य दुई जनाको म्याद थप्ने तयारी भइरहेको छ।
प्रहरीका अनुसार रूख काटेपछि रूखधनी तामाङको घरका ढोका र आँगनमा चार सकेट बम राखिएका थिए। धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणले उक्त बम निष्क्रिय पारेको थियो। घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चार सहित आठ जना विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्।
रूखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो। रूख काट्ने समूहले नै त्यति वेला फल लुटेको हुन सक्ने प्रहरीको अनुमान छ। तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा बोधिचित्त मालाको धार्मिक एवं सांस्कृतिक महत्त्व छ।