सधैंको तिर्खा
खानेपानीसँगै अस्पताल, बाटोघाटो, गुणस्तरीय शिक्षा आदि आधारभूत सेवासुविधाकै तिर्खाले रित्तिंदै छन् गाउँबस्ती।
अलि पहिलेको कुरा हो। तेह्रथुमको आठराईका मान्छेहरू मधेश झर्न तमरको गडतिरै गडतिर धरानतिर जान लागेका थिए। रात परेपछि उनीहरू हाक्पारा घाटछेउ पाँचथरपट्टिको किनारमा एउटा रूखमुनि वास बसेका थिए। तेह्रथुमपट्टिको डाँडाबाट एक हुल राँका ओरालो झरे- हाँस्दै, ठूल्ठूलो स्वरमा कुरा गर्दै।
पारिपट्टि वास बसेकाहरू राँकेभूत आयो भनेर डराए। ती राँकेभूत उनीहरूले सुनेका र यसअघि देखेकाभन्दा भिन्न थिए। उनीहरूका साथमा गाईबस्तु पनि थिए। तमर किनारमा पुगेपछि तिनले बालिराखेका राँका ढुंगामा राखे। अनि काँधबाट एउटा र डोकोबाट अर्काे गाग्रो भुइँमा राखे। तमरमा डुबाएर ती गाग्रा भरे। गाईबस्तुले तमरको पानी खाए।
राँकेभूतले माथिबाट आउँदा बालेका, बलिसक्न आँटेका राँकामा जोडेर नयाँ राँका सल्काए। एउटा गाग्रो डोकामा र अर्को गाग्रो उसैगरी काँधमा बोके। अनि जताबाट आएका थिए उतै फर्किए, गाईगोरु साथै लिएर।
उकालोमा बिस्तारै हिंडिरहेको त्यो हुललाई डाँडा नकाटेसम्म परदेशीले हेरिरहे।
उनीहरूले भोलिपल्ट थाहा पाए- तेह्रथुमको वासिका गाउँमा खानेपानी छैन। त्यसैले दिनभर बाली भित्र्याउन व्यस्त मानिस रात परेपछि पानी लिन तमर झरेका रहेछन्। पानी खुवाउनकै लागि हिंड्न सक्ने गाईबस्तु सँगै ल्याएका रहेछन्। हिंडेर तमर पुग्न नसक्ने गाईबस्तु र मानिसका लागि चाहिं पानी बोकेर लैजाँदा रहेछन्।
त्यो थाहा पाएपछि परदेशीले सोचे- हाम्रो ठाउँ त स्वर्गै रहेछ!
छथर गाउँपालिका-३, पञ्चकन्याका अध्यक्ष देउमान लिम्बूका अनुसार यो सत्य घटना हो। लिम्बू भन्छन्, “पहिले वासिकाका मानिसलाई खानेपानीको ठूलो समस्या थियो। तै तमर नदी गाउँ नजिक भएकाले उनीहरू त्यहींबाट बोकेर खाने गर्थे।”
छथर गाउँपालिकाकी उपाध्यक्ष तारा खरेल ढकालका अनुसार ६-७ वर्ष पहिलेसम्म पनि ३, ४ र ५ नम्बर वडामा खानेपानीको समस्या थियो। अरू ठाउँमा पानी माग्दा सित्तैमा पाइन्थ्यो तर त्यहाँ सापट माग्नुपर्थ्यो। खानेपानी लिन एक-डेढ घण्टा हिंड्नुपर्थ्यो। धाराकुवामा पुग्दा ५०-६० वटा गाग्राको लाम हुन्थ्यो। डोकामा दुई वटा गाग्रा र दुवै हातमा तुम्लेटमा पानी बोक्थे महिलाहरू।
पानी ल्याउनै धेरै बेर लागेपछि खानेकुरा वेलामा पाक्दैनथ्यो। केटाकेटी स्कूल जान पाउँदैनथे। सरसफाइ हुँदैनथ्यो। टाढाबाट ओसार्नुपरेकैले गाईबस्तुलाई तिर्खा मेटियुन्जेल पानी खुवाउन सक्दैनथे। “पानी खान नपाएपछि गाईबस्तुले गिलो दिसा गर्नुपर्नेमा बाख्राले जस्तो बड्कौंला हग्थे,” उपाध्यक्ष ढकाल भन्छिन्।
तमर किनारका गाउँतिर त अहिले पनि खानेपानीको समस्या छ। नजिकै मुहान छैन। “तैपनि अहिले ९० प्रतिशत घरमा पानी पुर्याएका छौं,” ढकाल भन्छिन्।
वडाध्यक्ष लिम्बू भन्छन्, “खानेपानीको समस्या पहिले जस्तो त छैन। तर गाईबस्तु पाल्न र तरकारी खेती गर्न चाहिं पानी अपुगै छ।”
यहाँको खानेपानी १२-१४ किलोमिटर टाढा पर्ने तेलिया खोलाबाट ल्याइएको छ। बाटोमा भीरपाखा र जंगल पर्छन्। त्यस्ता ठाउँमा पाइप बिग्रँदा कहाँ बिग्रियो भन्ने थाहा हुँदैन। त्यसैले बनाउन निकै दिन लाग्छ।
फाक्चामारामा पनि पहिले खानेपानीको चरम अभाव थियो। वडाध्यक्ष पुष्पबहादुर कार्कीका अनुसार यहाँबाट मानिस बसाइँ सर्नुको मुख्य कारण नै त्यही हो। अहिले त तल्लो भेगमा पनि पहिले जस्तो समस्या छैन। त्यही खानेपानीका भरमा तल्लो भेगमा आलु खेती पनि गरिएको छ। तर त्यहाँ अझै पनि पुग्दो मात्रामा खानेपानी छैन।
पञ्चकन्याको पारिपट्टि पाँचथरको कुम्मायकमा पानीको झन् हाहाकार थियो। कुम्मायक गाउँपालिका-५, स्याबरुम्बाका वडाध्यक्ष निर्मलराज घिमिरे भन्छन्, “पानीका मुहान सुकेपछि हामी काकाकुल जस्तो अवस्थामा थियौं। एक ट्यांकर पानीलाई चार हजार रुपैयाँसम्म तिर्यौं। त्यसले पाँच-सात दिन मात्र पुग्थ्यो। २०७०/७१ सालमा हाम्रो ठाउँलाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्यो।”
तेह्रथुमको थोक्लुङ धेरै अघिदेखि तिर्खाउनुसम्म तिर्खाएको छ। पहिले गाउँघरमा बटुवाले पानी माग्दा कसैले नाइँनास्ती गर्दैनथ्यो, पानी खान दिंदा पुण्य कमाइन्छ भन्ने विश्वास थियो। तर थोक्लुङका मानिस यसो गर्न सक्दैनथे। कति हो कति टाढाबाट बोकेर ल्याएको पानी बटुवालाई दिएका खण्डमा उनीहरूले पानी बोक्नमै दिन बिताउनुपर्थ्यो। त्यसैले पानी माग्दा यहाँका घरवालाले भन्ने गर्थे- छोरीको पेवा पानी मात्रै छ।
छोरीको पेवा कसैले मासिदिनु हुँदैन भन्ने बटुवाले जानेका थिए। त्यसैले तिर्खाले आकुलव्याकुल हुनेहरूले पानी किनेरै खान्थे।
तमर वरपर खानेपानी पहिल्यैदेखि अभाव थियो। ‘धनकुटा जनसंख्याको अनुपातमा जलाशयहरु कम्ति थिए, एउटै पँधेरामा प्रायः सधैँ ४०-५० वटा गाग्रा थुपारेका हुन्थे। यो महंगी टार्न अघि... माटाका पक्का पाइप जोडी...उत्तरबाहिनी भन्ने ठाउँदेखि पानी ल्याउने गरेको हामीले पनि देख्यौँ,’ आजभन्दा झन्डै डेढ सय वर्षअघिको कुरा कविराज नरपति शर्मा पोख्रेलले धनकुटाको इतिहास पुस्तकमा यसरी उल्लेख गरेका छन्।
यो समस्या अहिले झन् थपिएको छ। आठराई गाउँपालिका-५ का वडाध्यक्ष विष्णु ओलीका विचारमा मान्छेले पानी चलाउने तरीका फेरिएकाले पनि मूल सुकेका हुन्। पहिले पहिले खान बाहेक अरू कामका लागि मुहानको पानी अन्त लगिंदैनथ्यो। नुवाइधुवाइ गर्न मानिस मुहानमै जान्थे। त्यसरी उपयोग गरिएको पानी बगेर त्यहीं जान्थ्यो। त्यसले गर्दा तल्लो भेगका मुहान सुक्दैनथे।
आजभोलि अलैंची र तरकारी बारीमा लगाउन वा खानकै लागि पनि धारा वा खोल्साको पानी पाइपबाट लगिन्छ। यसरी छरिएको पानी तल्तिरका मुहान रसाउन पुग्ने गरी हुँदैन।
पहिले पहाडमा परेको पानी छरिएर झर्दा जमीनमुनि पनि छिर्थ्यो। अहिले सडकछेउ बनाइएका नालीले पानी एकोहोर्याएर एकै ठाउँ झारिदिन्छन्। “यसले गर्दा पनि जमीनले पानी सोस्न पाउँदैन र मूल सुक्छन्,” जलाधारविद् मधुकर उपाध्या भन्छन्। तर सडक नबनाइएका र पुराना घना जंगलले ढाकिएका भूटानका पहाडमा पनि धारा र खोल्सा सुकेकाले उपाध्यालाई यो समस्या आउनमा प्रकृतिको समेत खेल छ भन्ने लागेको छ।
खानेपानी जुटाउन धेरै दुःख भएपछि मानिसले नयाँ तरीका अपनाएका छन्। पानी कहाँबाट ल्याऊँ र तिर्खा मेटाऊँ भनेर भौंतारिइरहेका वेला पाँचथरको कुम्मायक गाउँपालिकाका मानिसले तमर नदीबाट पानी तानेर खान सकिन्छ भन्ने सुने। बाग्लुङमा यसैगरी पानी ल्याइएको छ भन्ने सुनेपछि उनीहरू हेर्न त्यहीं पुगे। त्यहाँबाट फर्केपछि उनीहरूले बसाइँ सर्नुभन्दा तमरको पानी खाने यही जुक्ति गर्नु बढिया हुने ठाने।
२०७३ सालमा काम शुरू भयो र २०७६ सालमा पानी डाँडामा उकालियो। कुम्मायक गाउँपालिका-५ का वडाध्यक्ष निर्मलराज घिमिरे भन्छन्, “अहिले कुम्मायक गाउँपालिकाका तीन हजार २०० मध्ये दुई हजार घरमा पानी पुग्यो। अरू घरमा पुग्न बाँकी छ।”
तर यस काममा एउटा समस्या आइलागेको छ। पानी माथि उकाल्न तमर नदीमा बनाएको इनार १४-१५ मिटर गहिरो हुनुपर्ने थियो तर उपभोक्तालाई पानी कहिले खाऊँ जस्तो भएको थियो। वडाध्यक्ष घिमिरे भन्छन्, “हामी अधैर्य थियौं। तमर नदीमा खनेको इनार १४-१५ मिटर गहिरो हुनुपर्छ भनेर प्राविधिकले भनेका थिए तर हामी त्यति खनुन्जेल पर्खन नसक्ने भयौं र इनार १०-११ मिटर मात्र गहिरो पार्यौं।”
यसो भएकाले २०८० सालको हिउँदमा इनारमा डेढ मिटर मात्र पानी रह्यो। मुहानमै नभएपछि सात दिन जति पानी आएन। घिमिरे भन्छन्, “हामी आत्तियौं। नदीको धार इनारतिर फर्काएपछि, छेउछाउमा सफा गरेपछि बल्ल पानी खान पाइयो। बर्खामा त तमर नदीको पानीको सतह बढ्छ र समस्या हुँदैन तर हिउँदमा नपुग्ने भयो।”
अहिले त्यहाँ अर्को इनार बनाउनुपर्ने भएको छ। घिमिरेका अनुसार यो काम उपभोक्ताले नै गर्दा ५०-६० लाख रुपैयाँमा सकिने भए पनि ठेक्कामा गराउनुपर्ने भएकाले एक करोड जति लाग्ने अनुमान छ।
यासोक सुक्खा क्षेत्र तमर पम्पिङ खानेपानी आयोजनाका अध्यक्ष मेघराज घिमिरेका अनुसार तमरको पानी घटेकाले आएको यो समस्या अहिलेका लागि हल भएको छ।
अहिले तमरका दुवै पाखामा प्रदेश र केन्द्र सरकारले पानी डाँडामा उकालेर आसपासका गाउँमा पुर्याउन ११ वटा आयोजना चलाइरहेका छन्। आठराई गाउँपालिकाका चुहानडाँडा, छातेढुंगा, इवा, कैंजले र संक्रान्ति बजारसम्मलाई पुग्ने गरी तमरको पानी तान्ने योजना शुरू भएको दुई वर्ष भयो। यसका लागि शाखा लाइन ओछ्याइँदै छ। यस वर्ष सो कामका लागि दुई करोड रुपैयाँ छुट्याइएको थियो। तर आठराई गाउँपालिका-५ का वडाध्यक्ष ओलीले नराम्रो खबर सुनेका छन्, “यस आयोजनालाई दिन संघीय सरकारसँग बजेट छैन रे! त्यसैले यो काम रोकिने डर छ।”
खानेपानीको हाहाकार भएका ठाउँका मानिस धेरै समय पर्खन सक्दैनन् भन्ने कुरा कुम्मायकका मानिसले देखाइसकेका छन्। तर सरकारले पैसा छैन भनेपछि उपभोक्ता जति हतारिए पनि पर्खनै पर्छ।
यहाँको खानेपानीको मामलामा दुर्लभ पैसाको दुरुपयोग भइरहेको छ। आठराई गाउँपालिकामा तमरको पानी तानेर खुवाउने योजना संघीय सरकारले बनाएको छ। त्यसको काम अघि बढेको छ। त्यही ठाउँमा प्रदेश सरकारले बृहत् खानेपानी आयोजना भनेर ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ। चुहानडाँडामा संघीय सरकारले लिफ्ट खानेपानी आयोजना चलाएको छ। त्यही ठाउँमा प्रदेश सरकारले लिफ्ट खानेपानीका लागि २० लाख रुपैयाँ छुट्याएको छ।
पानीका मुहान अनि कुवा, पँधेरा र सिमसार सुकेपछि धनकुटाको चौबिसे गाउँपालिका-३ का वडाध्यक्ष मदन तुम्सालाई अब तलका मुहान वा तमर नदीको पानीमा भर पर्नुपर्ने भयो भन्ने लागेको छ। उनको वडामा आठ करोड रुपैयाँ खर्चिई जरुवा खोलाबाट पानी तानेर बाँड्ने योजना अनुसार काम भइरहेको छ।
बितेका २० वर्षमा ४२ प्रतिशत मानिस घटेको तेह्रथुमको थोक्लुङमा पनि तमरको पानी डाँडामा पुर्याउने योजना चलिरहेको छ। यसले आठराई गाउँपालिका-७ थोक्लुङभरका मानिसलाई खानेपानी पुर्याउनेछ। तर वडाध्यक्ष रोहित कन्दङ्वालाई एउटा चिन्ता छ, “यसरी ल्याइएको पानी महँगो हुन्छ अरे! बिजुलीको बिल धेरै उठ्छ भन्ने सुनेको छु।”
हो, पहाडका मुहानको पानी धारासम्म पुर्याउने काम पृथ्वीको गुरुत्वाकर्षण शक्तिले गरिदिन्छ तर तमरको पानी डाँडामा पुर्याउन बिजुली चाहिन्छ। कुम्मायक गाउँपालिकामा सञ्चालित खानेपानी आयोजनाले तमरको पानी डाँडामा पुर्याउँदा बिजुलीका लागि एक महीनामा ६ लाख रुपैयाँसम्म खर्च हुन्छ।
तर कुम्मायक गाउँपालिका-५ का वडाध्यक्ष निर्मलराज घिमिरे भन्छन्, “पानी भरसक विना पैसा खान पाए हुन्थ्यो जस्तो लाग्नु ठीकै हो। तर सबै ठाउँमा पानी सित्तैमा पाइँदैन। कुम्मायकमा ३०-४० हजार लिटर पानी खानेले एक लिटरको १० पैसा तिर्नुपर्छ। पानी सित्तैमा खान पाउनेका लागि त यो महँगो हो तर पहिले ट्यांकरको पानी किन्दा जति पैसा तिर्नुपर्थ्यो, त्यो सम्झँदा महँगो होइन।”
घिमिरेका विचारमा अनुदान आएन भने यो दरले महसुल उठाउँदा खानेपानी योजना चलाउन सकिँदैन। अहिले पानी तान्दा उठेको बिजुलीको बिलको आधा भुक्तानी गाउँपालिकाले गरिदिने भनेको छ।
दुई वर्षयता कुम्मायकबाट मानिस बसाइँ सरेका छैनन्। “मधेशमा जग्गा हुनेहरू त मधेश जान्छन्, मधेशमा जग्गा हुँदै नहुने हामी यहीं बस्नुपर्छ। हाम्रा लागि पानी खुवाउने काममा कसै न कसैले सहयोग गर्नुपर्छ,” घिमिरे भन्छन्।
खानेपानी आयोजनाको अर्को समस्या के भने यसको मर्मतसम्भार गर्न उति ध्यान दिइँदैन। उदाहरणका लागि, साविकको पञ्चकन्या गाविसमा पञ्चायतकालमै खानेपानीको व्यवस्था भएको थियो। तर ठाउँ ठाउँमा फुटेका पाइप मर्मतसम्भार नभएकाले ‘रिजर्भ ट्यांक’ सम्म धेरै पानी आएन। “त्यसैले सबै ठाउँका धारामा पानी आउँदैन,” पञ्चकन्याका गाविस अध्यक्ष गंगा लिम्बूले २०५३ सालमा भनेका थिए। लिम्बूका अनुसार मुहान नसुकेका वेला पनि त्यहाँ पानीको दुःख थियो। एक गाग्रो पानी ल्याउन दुई घण्टासम्म लाग्थ्यो।
तमरको पानी खाने काम परम्परागत आयोजनाको पानी खाने काम जति सजिलो छैन। परम्परागत खानेपानी आयोजनामा माथिको पानी तल बगाइदिए मात्र पुग्थ्यो। तमरको पानी खान चाहिं तलको पानी माथि पुर्याउनु पनि पर्छ। यसका लागि ‘मशिन’ चाहिन्छ। त्यसको मर्मतसम्भार गर्नुपर्छ, बिजुली चाहिन्छ।
जलाधारविद् पाध्याका विचारमा नदीको पानी तान्नु खानेपानी अभावको दिगो समाधान होइन। यो समस्या हल गर्न ससाना पोखरी बनाउने बाहेक अरू उपाय छैन। त्यसो गरेर मूल र खोल्सामा पानी आउने बनाउन सकिए मात्र मानिस र पहाड दुवैको तिर्खा मेटिन्छ। मानिसको मात्र तिर्खा मेटियो, पहाडको तिर्खा मेटिएन भने त्यो ठाउँ बस्नलायक हुँदैन।
असाध्यै तिर्खाएका उपभोक्ता र पालिकाले खानेपानी आयोजनाको मर्मतसम्भार राम्रोसँग गरेर पानी आपूर्ति भयो भने पनि बसाइँसराइ ठ्याम्मै रोकिएला भन्ने ठान्दैनन् यहाँका जनप्रतिनिधि। वडाध्यक्ष ओली भन्छन्, “पानी प्रशस्त हुँदा पनि बसाइँसराइ रोकिँदैन। किनभने यहाँका मानिस सामान्य बिरामी हुँदा पनि उपचारका लागि १७० किलोमिटर टाढा बिर्तामोड पुग्नुपर्छ। छिमेकी जिल्लाको सदरमुकाम पाँचथरमा अस्पताल त बन्दै छ तर त्यसले उपचार गरिदिन्छ भनी विश्वास गर्दैनन् मान्छेहरू।”
किसानलाई दुःख दिने अर्थव्यवस्थाले पनि मानिसलाई खेतीपाती र थातथलोबाट अन्त धपाइरहेको छ। छथर गाउँपालिका-४ का वडाध्यक्ष पुष्पबहादुर कार्की भन्छन्, “यहाँका किसानले पहिले दूध बेच्थे। यसपालि साउनदेखि यता दूध बेचेको पैसा किसानले पाएका छैनन्। किसान सबैभन्दा मरेका छन्। दूध बेचेको पैसा आउँदैन, खसी बिक्दैन। अदुवा-अलैंचीको भाउ अर्कैले तोक्छ।”
लेकतिरको दूध छुर्पी र घ्यू बनाउने घरेलु उद्योगले किन्थे। अहिले उनीहरूको घ्यू बिक्न छाड्यो। छुर्पी उद्योग बन्द भयो। किसानको दूध बिक्न छाड्यो।
अर्कातिर किसानले आफूले किन्नुपर्ने वस्तु उधारोमा पाउँदैन। दूध किन्नेले जस्तो किनेको वस्तुको मूल्य नतिर्ने कुरा त किसानले सोच्न पनि पाउँदैन। आफूले किन्नुपर्ने वस्तुको मूल्य तोक्न पनि पाउँदैन।
“उपचारको सुविधा छैन, बाटोघाटो र बिजुलीको असुविधा छ। बसाइँ सर्ने मानिसले चाहेका जस्ता सेवासुविधा स्थानीय तहले दिन सक्दैन,” वडाध्यक्ष कन्दङ्वा भन्छन्।
मानिसलाई सेवासुविधा दिने पूर्वाधार तयार गर्न संघीय सरकार अल्छी गर्छ। छथर गाउँपालिकाका प्रवक्ता राजन नेपाली भन्छन्, “तमर नदीको लुमुघाटमा पुल बन्दा तेह्रथुम र पाँचथरका मानिसलाई आवतजावत गर्न धेरै सजिलो हुने थियो। त्यहाँ पुल बन्न थालेको १२ वर्ष भयो। अहिलेसम्म बनिसकेको छैन। अहिले काम ठप्प छ।”
सार्वजनिक शिक्षाको दुर्गति बसाइँसराइको अर्को मुख्य कारण हो। बसाइँसराइको दर बढी रहेका सबै ठाउँका मानिसका अनुसार छोराछोरीलाई राम्रो पढाइ हुने स्कूलमा पढाउन पनि गाउँलेहरू थातथलो छोडिरहेका छन्।
प्रवक्ता नेपालीका विचारमा केही मानिस बसाइँ सरेपछि त्यसले अरूलाई पनि बसाइँ सर्न उकास्छ। छिमेकी बसाइँ सरेपछि आपसी सरसहयोग नपाइने भएर पनि मानिसहरू बसाइँ सर्छन्।
तेह्रथुमको पोखरी माविका पूर्व प्रधानाध्यापक हरिनारायण भट्टराईका १० घर छिमेकी बसाइँ सरे। त्यसपछि उनले काम पर्दा छिमेकीको आडभरोसा पाउन छाडे। अन्तिममा उनी पनि झापाको बिर्तामोड बसाइँ सरे।
खेती गर्न र घरबाट खेतबारी अनि खेतबारीबाट घरसम्म सामान ओसार्न मान्छेकै भर पर्नुपर्छ। अप्ठ्यारा कान्ला र गरामा जोतखन गर्दा मानिसकै पाखुरा र ढाडले दुःख पाउँछन्। मधेशमा यस्तो दुःख गर्नु पर्दैन।
सवारी चालक अनुमति पत्र लिने, श्रम अनुमति लिने जस्ता कामका लागि पनि यहाँका मानिसले टाढा जानुपर्छ। ती सुविधा लिन जाँदाआउँदा र ती सुविधा पाइने ठाउँमा बस्दा उनीहरूको धेरै खर्च हुन्छ। यसरी आफ्नो ठाउँमा सेवासुविधा नआएपछि मानिसहरू आफैं सेवासुविधा भएका ठाउँमा जाँदै छन्।
बसाइँसराइ केही समस्याको परिणाम थियो। अनि त्यही बसाइँसराइले पहाडमा अरू समस्या थपेको छ। अहिले खेती गर्ने मान्छे पाइन छाडेका छन्। यसले गर्दा जस्तै खडेरीमा पनि पानी छेलोखेलो हुने सिमखेत समेत बाँझिएका छन्। वडाध्यक्ष ओली भन्छन्, “खेती गर्ने मान्छे नभएर ह्वाकुको ठूलीबेंसी पनि बाँझिएको छ।”
जलाधारविद् पाध्याका अनुसार, खेतमा धान रोप्दा बर्खाभर गह्रामा पानी जम्थ्यो। त्यसरी जमेको पानी जमिनले सोस्थ्यो र मूलबाट निस्कन्थ्यो। अहिले धान रोप्न छाडेपछि पहाड अझ सुक्खा भएको छ।
तेह्रथुमको छथर गाउँपालिकाकी उपाध्यक्ष ढकालका विचारमा आफ्नै जमीनलाई उर्वर बनाउन चाहिने कुरा नपाएकाले मानिस बसाइँ सरेका हुन्। यही कुरा सोचेर छथर गाउँपालिकाले ५-६ वर्ष पहिले बसाइँ गएकाहरूलाई फर्काउन, बसाइँ सर्न खोज्नेलाई नजाने बनाउन र अन्तका मानिसलाई बसाइँ सरी आउन प्रोत्साहन गर्ने योजना बनाएको थियो। यहाँ आएर व्यवसाय गर्नलाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरेको थियो। “यसले गर्दा २५-३० घर बसाइँ सरेर आए,” ढकाल भन्छिन्।
सोही गाउँपालिकाले बाँझिएका बारी खनजोत गर्नेलाई १० हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो। तर ढकालका अनुसार त्यसो गरौं भनेर कोही पनि मानिस आएका छैनन्।
त्यसैले यी ठाउँबाट मानिस बाहिरिने क्रम निरन्तर छ।
(अन्न फलाउन र खान पो पुग्दैन त यहाँ पानी। बाढीपहिरो ल्याएर विनाश गर्न त पुग्ने पानी आउँछ। त्यस्तो विनाशबारे यसै शृंखलाको आगामी अंकमा।)
(यो रिपोर्ट बारबारा फाउन्डेशनको लेखनवृत्ति अन्तर्गत तयार गरिएको हो। यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)
यो पनि पढ्नुहोस् : किन नघटून् त मान्छे!