काठमाडौं बाहिरका बागमतीका १२ गन्तव्य
प्रचारप्रसार र प्रवर्द्धन हुन नसक्दा काठमाडौं उपत्यका बाहिर रहेका बागमती प्रदेशका थुप्रै रमणीय गन्तव्य ओझेल परेका छन्।
काठमाडौं उपत्यकाको कोलाहलबाट दिक्क बन्नुभएको छ? परिवार वा साथीहरूसँग छोटो घुमघाममा निस्किने योजना छ? यदि छ भने काठमाडौं उपत्यका छेउछाउकै बागमती प्रदेशका पर्यटकीय गन्तव्यमा रोज्न सक्नुहुनेछ।
उपत्यका बाहिरका बागमतीका दशै जिल्ला प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छन्। विभिन्न जातजातिको बसोबास रहेको छ भने सांस्कृतिक विविधता पनि पाइन्छ।
तराईको चितवनदेखि हिमालको रसुवासम्म प्राकृतिक विविधता पनि छन्। जसले गर्दा तराईका फाँटदेखि हिमालका चुचुरो पर्यटकको रोजाइमा पर्दै आएका छन्। यससँगै वनजंगल, खोला, नदी, झरना, वन्यजन्तु पनि बागमती प्रदेशका आकर्षण हुन्।
बागमती प्रदेशका विभिन्न जिल्लामा थुप्रै पर्यटकीय गन्तव्य भए पनि काठमाडौं उपत्यकाका कारण ओझेल पर्दै आएका छन्। विशेष गरेर पर्यटन प्रवर्द्धनका लागि काठमाडौं, ललितपुर र भक्तपुरका गन्तव्यलाई मात्रै प्राथमिकतामा राख्ने गरिएको छ। जसले गर्दा बागमतीका बासिन्दालाई पनि काठमाडौं बाहिरका पर्यटकीय गन्तव्यले आकर्षित गर्न सकेका छैनन्।
काठमाडौं उपत्यका बाहिर रहेका बागमती प्रदेशका १२ गन्तव्य
कालिन्चोक भगवती : हिमाली जिल्ला दोलखा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। विशेष गरेर कालिन्चोक भगवती प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। समुद्री सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिन्चोक भगवती धार्मिक पर्यटनको आकर्षण बन्दै आएको छ।
यो प्राकृतिक रूपमा पनि सुन्दर छ। पुसदेखि फागुनसम्म हिउँ पर्ने भएकाले थप मनोरम बन्छ। कालिन्चोकबाट गौरीशंकर लगायत हिमालको दृश्यवालोकन गर्न सकिन्छ। दोलखा सदरमुकाम चरिकोटबाट करीब १८ किलोमिटर पहाडी बाटोको यात्रापछि कुरी पुगिन्छ। कुरीबाट हिंडेर वा केबलकार चढेर कालिन्चोक जान सकिन्छ।
यससँगै च्छो-रोल्पा हिमताल, भीमेश्वर मन्दिर, शैलुङ, जिरी पनि दोलखाका प्रमुख पर्यटकीय गन्तव्य हुन्। जिरीदेखि शैलुङसम्मको पर्यटन पदमार्गले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ।
त्रिशूलीको र्याफटिङ : जलयात्राको रोमाञ्चक अनुभूति लिन त्रिशूली नदीमा र्याफ्टिङ गर्न सकिन्छ। धादिङका विभिन्न स्थानमा र्याफटिङ सुविधा छ। त्यसमध्ये पनि त्रिशूली नदीको आदमघाटबाट बेल्खु खोला दोभान, बेल्खु खोला दोभानदेखि मलेखु, चरौंदीदेखि फिस्लिङ लगायत स्थान प्रख्यात छन्। पर्यटकलाई खाना र वासको सुविधा सहित १५ भन्दा बढी रिसोर्ट नदी किनारमा सञ्चालन भइरहेका छन्।
यसका अतिरिक्त धादिङमा रहेका गणेश हिमाल, गंगाजमुना झरना, झर्लाङको तातोपानी मूल, गुफा, लेक, टार र फाँट पर्यटकीय गन्तव्य हुन्। विशेष गरेर साहसिक पर्यटनका लागि विभिन्न स्थानमा र्याफ्टिङ र क्यानोनिङ सञ्चालन भइरहेका छन्।
गोसाइँकुण्ड : बौद्ध र हिन्दू धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल हो, गोसाइँकुण्ड । समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड पदयात्राका लागि देशका विभिन्न भाग र विदेशबाट समेत पर्यटक आउने गरेका छन्।
गोसाइँकुण्ड यात्रामा लाङटाङ, लिरुङ, याला पीक, गणेश, मनास्लु लगायत हिमाल र हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। त्यस्तै, वन्यजन्तु र विभिन्न प्रकारका वनस्पतिले पनि गोसाइँकुण्डको आकर्षण थपेका छन्। रसुवा सदरमुकाम धुन्चेबाट सिंगोन्पा, चोलाङपाटी, लौरीविना, बुद्धडाँडा हुँदै गोसाइँकुण्ड पुगिन्छ।
यससँगै लाङटाङ, केन्जिङ उपत्यका, तामाङ सम्पदा मार्ग, रसुवागढी, बेत्रावतीको उत्तरगयाधाम, भूमेस्थान, कालिकास्थान, नीलकण्ठ महादेवस्थान पनि रसुवाका प्रमुख पर्यटकीय गन्तव्य हुन्।
आमा यांग्री : सिन्धुपाल्चोकका पाँचपोखरी, थाङपाल र हेलम्बुको सिमानामा अवस्थित आमा यांग्री पीक धार्मिक तथा प्राकृतिक रूपमा पनि प्रसिद्ध छ। विशेषगरी ह्योल्मो समुदायको पवित्र भूमि मानिन्छ। पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको यो नयाँ गन्तव्य बनेको छ। सिन्धुपाल्चोक रिसोर्टहरूले विभिन्न प्याकेज मार्फत आमा यांग्री क्षेत्रको भ्रमण गराउँदै आएका छन्।
यसका अतिरिक्त भोटेकोशी र सुनकोशी नदीमा र्याफ्टिङ एवं बन्जीका लागि पर्यटक आउने गरेका छन्। भोटेकोशी र सुनकोशी जलयात्राका लागि उत्कृष्ट नदी मानिन्छन्। यस्तै, हेलम्बु, पाँचपोखरी, दुगुनागढी, भैरवकुण्ड, सुकुटे, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्ची घ्याङ, महादेव पाइला पर्यटकलाई आकर्षित गर्ने गन्तव्य हुन्।
साततले दरबार : नुवाकोटको साततले दरबार अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट विजय गरेपछि एकीकरणलाई निरन्तरता दिन विशाल नौतले दरबार बनाएका थिए। ऐतिहासिक महत्त्व बोकेको यो दरबार १९९० सालको भूकम्पपछि भत्केर सात तलामा सीमित भएको हो।
त्यसपछि २०७२ सालको भूकम्पमा पनि क्षतिग्रस्त बनेको थियो। अहिले पुनर्निर्माण गरेर पर्यटकका लागि सहज बनाइएको छ।
यससँगै ककनी, बेलकोटगढी, दुप्चेश्वर महादेव, सागरकुण्ड, बेत्रावती (उत्तरगयाधाम), देवीघाट पनि नुवाकोटका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन्।
नमोबुद्ध : पहाडको चुचुरोमा रहेको नमोबुद्धलाई नेपाल सरकारले स्वयम्भूनाथ, बौद्ध, लुम्बिनीसँगै राष्ट्रिय बुद्ध सर्किटमा राखेको छ। नमोबुद्धमा पुरातात्त्विक-ऐतिहासिक शिलालेख र दस्तावेज रहेकाले बुद्धकालीन इतिहास बुझ्न चाहनेको समेत रोजाइमा पर्दै आएको छ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण नमोबुद्धमा विभिन्न गुम्बा पनि छन्। कैयौं माने र कलात्मक बुद्धका मूर्ति छन्। यहाँ चैत पूर्णिमा र साउनको प्रत्येक बुधबार मेला लाग्ने गरेको छ।
यससँगै काभ्रेपलान्चोकका देवीस्थान डाँडा, दोलालघाट, साँगा, पलान्चोक भगवती, तीनतले झरना, पञ्चकन्या झरना पनि पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय महाभारत ट्रेल अन्तर्गतको लाँकुरीभन्ज्याङ-फुल्चोकी, गुर्दुमडाँडा-नारायणस्थान-भुमेचुली पदमार्ग पनि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका छन्।
सिन्धुलीगढी : कमलामाई नगरपालिका-३ मा रहेको सिन्धुलीगढी दरबार सिन्धुलीको प्रमुख पर्यटकीय गन्तव्य हो। २०२० सालअघि सिन्धुलीको सदरमुकाम सिन्धुलीगढीमै थियो। गढीमा १९८६ सालमा दरबार निर्माण गरिएको शिलालेखमा उल्लेख छ। अहिले यसको पुनर्निर्माण गरिएको छ।
गढीमा रहेका दुई वटा टापुलाई सानोगढी र ठूलोगढी भनिन्छ। सिन्धुलीगढीमा नेपाली सेनाले देशकै पहिलो युद्ध संग्रहालय निर्माण गरेको छ। दरबार परिसरमा गणेश, सरस्वती, लक्ष्मी मन्दिर, धारा, इनार, पोखरी छन्। अहिले वनभोजस्थल समेत निर्माण गरिएको छ।
त्यस्तै, हरिहरपुरगढी दरबार क्षेत्र, फिक्कल, कमलामाई मन्दिर, मधुगंगा महादेव मन्दिर, पञ्चकन्या मन्दिर पनि सिन्धुलीका पर्यटकीय गन्तव्य हुन्।
पाँचपोखरी : रामेछापको प्रमुख पर्यटकीय गन्तव्य हो, पाँचपोखरी। यसलाई हिन्दू र बौद्ध धर्मावलम्बीले पवित्रस्थलका रूपमा लिने गरेका छन्। गोकुलगंगा गाउँपालिका-१, चुचुरेमा पाँच वटा पोखरी छन्। त्यसैले यसको नाम पाँचपोखरी रहन गएको स्थानीय बासिन्दा बताउँछन्।
यससँगै जटापोखरी, नुम्बुर चुली, कुमारी हिमाल, सैलुङ, खाँडादेवी मन्दिर, सुनापति डाँडा, थानापति महादेव, दोरम्बा, अग्लेश्वरी, बाम्ती, उमातीर्थ, देउराली पनि रामेछापका पर्यटकीय गन्तव्य हुन्।
चुरियामाई सुरुङमार्ग : दक्षिणएशियामै मानवनिर्मित पहिलो सुरुङमार्ग हो, चुरियामाई। हेटौंडा उपमहानगरपालिका-१५ स्थित सुरुङमार्ग त्रिभुवन राजपथ बनेसँगै बन्द रहेको थियो। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सुरुङमार्गको अहिले मर्मतसम्भार गरिएको छ।
यससँगै भुटनदेवी, भुवनेश्वर महादेव, मनकामना मन्दिर, वंशगोपालको मन्दिर, तपोवन, त्रिखण्डी महादेव मन्दिर, चिसापानी गढी, बज्रबाराही मन्दिर, चित्लाङको शिवालय प्रमुख पर्यटकीय गन्तव्य हुन्।
चितवन राष्ट्रिय निकुञ्ज : चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रलाई समेटेर बनाइएको संरक्षित क्षेत्र हो, चितवन राष्ट्रिय निकुञ्ज। जंगल सफारीका लागि विश्वप्रसिद्ध निकुञ्ज एकसिंगे गैंडा, बाघ र हात्तीका लागि पनि परिचित छ।
विश्वसम्पदा सूचीमा समावेश निकुञ्ज र यसको सामुदायिक वनमा हात्ती सयर, राप्ती नदीमा डुंगा सयर, जीप सफारीसँगै हात्ती प्रजनन केन्द्र, जैविक सूचना केन्द्र, थारू सांस्कृतिक संग्रहालय, घडियाल प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ।
देवघाटधाम : देशका प्रमुख धार्मिक क्षेत्रमध्ये एक हो- देवघाटधाम। तनहुँ, चितवन र नवलपुरको संगमस्थल त्रिशूली र कालीगण्डकी नदी मिसिएको स्थानमा छ, देवघाट।
यहाँ रहेका गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्न्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तूप, सिद्धिगणेश, गोपीधाम, सूर्यकुण्ड हेर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। माघे संक्रान्ति र साउनको सोमबार देवघाटमा मेला लाग्छ।
दियालो बंगला : चितवनको अर्को गन्तव्य बनेको छ, दियालो बंगला। राजा महेन्द्रले यही बंगलामा अन्तिम सास लिएका थिए। राजपरिवारका सदस्य बसोबास गर्ने यो बंगला पछिल्लो पटक सर्वसाधारणका लागि पनि खुला गरिएको छ।
यससँगै मेघौली, सीतामाई, पटिहानी, विक्रमबाबा, सिन्ती झरना, बीसहजारी ताल, किंगफिशर ताल, बाटुलीपोखरी, सिराईचुली, चौकीडाँडा, कविलासपुरगढी, उपरदाङगढी, सोमेश्वरगढी, वैकुण्ठ ताल, वाल्मीकि आश्रम, नारायणी नदी किनार, गणेशधाम पनि चितवनका पर्यटकीय गन्तव्य हुन्।
डुलौं देश शृंखलाका थप सामग्री :