अयोध्याको मन्दिरसँग जोडिएको सुनसरीको हिन्दू-मुस्लिम विवाद
भारतसँग सीमा जोडिएको सुनसरीको दक्षिणी भेगमा सानो विषयमा उत्पन्न विवाद बढ्दै जाँदा एक सातायता हिन्दू र मुस्लिम समुदायबीच कुटपिट र झडपका घटना भए। घटनाको निहुँ के थियो र केले बढायो?
भारतमा लोक सभा निर्वाचन नजिकिंदै जाँदा सीमावर्ती क्षेत्रमा दंगाको सम्भावना बढ्न सक्ने देखिन्छ। सामाजिक सञ्जालकाे दुष्प्रयोगले बलेकाे आगोमा घ्यूकाे काम गर्ने जोखिम रहन्छ। सामुदायिक नेतृत्वले धर्म अनुसार पक्ष लिए कुरा झन् बिग्रन्छ। यो संवेदनशीलता विचार गरेर सामाजिक सद्भाव कायम राख्न स्थानीय राजनीतिक नेतृत्व, समुदायका अगुवा, प्रहरी-प्रशासन सबै पक्ष चनाखो हुनुपर्छ, विशेषगरी भारतको निर्वाचनकाे दौरान।
समाजमा सानो घटनालाई निहुँ बनाएर दुई सम्प्रदायबीच विवाद चर्किएको वा चर्काउन खाेजिएकाे पाइन्छ। प्रस्तुत छ, गत चैतमा सुनसरीमा भएको घटनाको विस्तृत रिपोर्ट :
-सम्पादक
१६औं शताब्दीमा बाबरी मस्जिद बनेको भारतको अयोध्याको जमीनका विषयमा हिन्दू र मुस्लिम समुदायबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। सन् २०१९ मा सर्वोच्च अदालतले हिन्दू निवेदकको पक्षमा फैसला गरेपछि त्यहाँ राम मन्दिरको निर्माण थालियो। पूर्ण निर्माण नभइसकेको राम मन्दिरको प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सक्रियतामा २०८० माघ ८ गते भव्य रूपमा प्राणप्रतिष्ठा गरियो।
त्यस दिन सुनसरीका भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र इनरुवा नगरपालिकाले सार्वजनिक बिदा दिएका थिए। हरिनगर गाउँपालिकाले भने त्यही प्रयोजनका लागि ‘जाडो बिदा’ उल्लेख गरेर बिदा दिएको थियो।
राम मन्दिर प्राणप्रतिष्ठाको खुशियालीमा यस क्षेत्रमा बजरंग दल, हिन्दू सम्राट् सेना लगायत हिन्दूत्ववादी समूहहरूले कलश शोभायात्रा नाममा र्याली निकालेका थिए। त्यस क्रममा उनीहरूले सडकछेउका रूख र बिजुलीका खम्बाहरूमा ‘जय श्री राम’, ‘ॐ’ लेखिएका झन्डा राखेका थिए। त्यसरी राखिएकामध्ये केही झन्डा मुस्लिम समुदायका महिलाले हटाएको हल्ला चल्यो। हरिनगर-१ का वडाअध्यक्ष प्रवीणकुमार गुप्ता भन्छन्, “ती झन्डा कसले हटायो या हावाले उडायो, कसैले देखेको थिएन। तर विवाद उत्पन्न भएपछि पञ्चायती गरेर कसैले त्यस्तो काम नगर्ने सहमति भएको थियो।”
हरिनगर गाउँपालिकाको वडा नं. १ र २ मा पर्ने भुटाहा क्षेत्रमा इस्लाम धर्मावलम्बी समुदायको बाहुल्य छ भने वडा नं. ३ गौतमपुरमा हिन्दू धर्मावलम्बी मेहता समुदायको। मुस्लिम महिलाले झन्डा हटाएको हल्ला गौतमपुरमा चाँडै फैलियो। झन्डा हराएको विषयमा हरिनगर गाउँपालिका-३, गौतमपुरका जीवन मेहताले ‘इँटाको जवाफ पत्थरले दिनुपर्छ’ भन्दै भिडिओ बनाएर सामाजिक सञ्जाल फेसबूकमा हाले। भिडिओमा उनले ‘कुरान पनि च्यातेर जलाउँदा हुने’ अभिव्यक्ति दिए।
झन्डा हराएको विषयमा हिन्दू र इस्लाम समुदायबीच विवाद बढ्न थालेपछि हरिनगर गाउँपालिका-३ का वडाध्यक्ष अरविन्दकुमार मेहताले करीब एक महीनाअघि दुवैतर्फका बुद्धिजीवीलाई बोलाएर प्रहरी चौकीमा बैठक राखेका थिए। छलफलमा एकले अर्को समुदायप्रति गालीगलौज नगर्ने, कसैले गलत काम गरेको प्रमाण भेटे कानूनी कारबाही प्रक्रियामा जाने सहमति भएको थियो। वडाध्यक्ष मेहता भन्छन्, “विवादले उग्र रूप लिन नपाओस् भनेर सबै पक्षलाई राखेको थिएँ, तर एक महीना नबित्दै जे नहोस् भन्ने सोचेको, त्यही भयो।”
बुद्धिजीवीबीच विवाद नगर्ने सहमति भए पनि गौतमपुरका जीवन मेहताले सामाजिक सञ्जालमा हालेको भिडिओका कारण भुटाहाका मुसलमान युवा रुष्ट थिए। गौतमपुरवासीका अनुसार त्यही वेलादेखि उनीहरूले उनको चियो गरिरहेका रहेछन्।
भुटाहाको बालकृष्ण माविमा माध्यमिक शिक्षा परीक्षा (एसईई) भएको थियो। जीवन हरेक दिन आफ्नी बहिनीलाई परीक्षामा पुर्याउन, लिन जान्थे। त्यो थाहा पाएपछि भुटाहाका रुष्ट युवा ढुकेर बसे। बहिनीलाई लिन चैत २२ को बिहान १०:३० बजे विद्यालय पुगेका जीवनलाई कुटपिट गरियो।
स्थानीय बासिन्दाका अनुसार उनलाई कुटपिट गरिंदा त्यहाँ एसईई परीक्षामा खटिएका तीन जना प्रहरी पनि थिए। उनीहरूले झगडा रोक्ने प्रयास गरेका पनि थिए तर ठूलो समूहलाई तीन जनाले रोक्न सकेनन्।
कुटिएका जीवन भागेर नजिकै रहेको एक्सेल डेभलपमेन्ट ब्यांकको शाखा कार्यालयभित्र पसे। ब्यांक हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको घरमा छ। गफारका छोरा फैजान घरमै पसल चलाउँछन्। स्थानीयका अनुसार भीड ब्यांक भएको घरमा आएपछि फैजानले जीवनलाई बाहिर निकाले। सीसीटीभी फूटेजमा फैजानले जीवनलाई धकेलेर बाहिर निकालेको दृश्य देखिएको छ।
त्यसपछि पनि जीवनमाथि कुटपिट भयो। त्यही क्रममा थप प्रहरी आएर उनलाई जोगाएर उपचारका लागि लिएर गए। तर घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेन।
कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गौतमपुरको मेहता समुदाय आक्रोशित भयो। अन्य क्षेत्रका हिन्दू समुदायका व्यक्तिहरू पनि आक्रोशित भए। विवादले झन् उग्र रूप लियो। दुई समूहबीच झडप समेत भयो।
घटना भएकै दिन मधेश प्रदेशमा कुसवाहा समाजको सम्मेलन थियो। कुटाइ खाएका जीवनका काका तथा स्थानीय नेता धर्मवीर आर्य सम्मेलनमा भाग लिन गएका थिए। घटनाको भोलिपल्ट उनले ‘आफूहरूले पनि बदला लिने’ भन्दै सबैलाई उठ्न आग्रह गरेर सामाजिक सञ्जालमा भिडिओ हाले।
चैत २३ मा नेपाल कुसवाहा कल्याण समाज जिल्ला कार्यसमिति, सुनसरीले विज्ञप्ति जारी गरेर ‘मुसलमान समुदायका उग्रवादी समूहले सुनियोजित रूपमा सांघातिक आक्रमण गरेको’ आरोप लगायो। समाजका कार्यवाहक अध्यक्ष रामचन्द्र मेहताले जारी गरेको विज्ञप्तिमा प्रहरी प्रशासनले समेत पीडित पक्षलाई झनै पीडित बनाएको भन्दै दोषीलाई कारबाही नभए संस्थागत रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिइएको थियो।
त्यही दिन गौतमपुरमा जम्मा भएका करीब ५००-६०० जनाको समूहले हरिनगर गाउँपालिकाको कार्यालयमा तोडफोड गर्यो, जसमा २५-३० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ। प्रहरी प्रशासनले तोडफोड रोक्न नसकेको भन्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आफूहरू पनि प्रतिकारमा उत्रिने चेतावनी दिए।
त्यसपछि त स्थिति नियन्त्रण बाहिर गयो। ठाउँ ठाउँमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको थियो। झडपका क्रममा एक दर्जनभन्दा बढी प्रहरी र आन्दोलनकारी घाइते भए।
अवस्था थप जटिल बन्दै गएपछि सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले चैत २३ गते शुक्रबार दिउँसो १२ बजेदेखि हरिनगर गाउँपालिकाका सबै वडा र देवानगन्ज गाउँपालिकाका वडा नं. १ र ७ मा निषेधाज्ञा जारी गरे।
दुई समूह बीचको विवादको आगो अन्य स्थानीय तहतिर पनि फैलिइसकेको थियो। अन्यत्र पनि विवाद देखिन थालेपछि जिल्ला प्रशासनले साँझ ५ बजे ‘शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न’ हरिनगर, देवानगन्ज, कोशी, भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गर्यो।
कर्फ्यू जारी भए पनि भुटाहा क्षेत्रमा प्रदर्शन नरोकिएपछि चैत २४ मा यस क्षेत्रका सांसद, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, उपप्रमुख तथा राजनीतिक दलका नेताहरूको सर्वदलीय बैठक बस्यो। ‘पछिल्लो घटनाक्रमलाई लिएर केही अराजक तत्वले सामाजिक सद्भाव बिथोल्न खोजेको’ उल्लेख गर्दै सर्वदलीय बैठकले घटनाका दोषीलाई कारबाही गर्न र सामाजिक सद्भाव कायम गर्न आग्रह गर्यो। बैठकले धार्मिक तथा सामाजिक सद्भाव बढाउन र्याली निकाल्ने, घटनाबारे छानबिन समिति गठन गर्ने, घाइतेको उपचार निःशुल्क गराउने लगायत ६ बुँदे निर्णय गर्यो।
नेताहरूले सामाजिक सद्भावमा जोड दिए पनि सामाजिक सञ्जाल मार्फत समुदायमा फैलिएको आगो भित्रभित्रै सल्किरहेको थियो। अघिल्लो दिन जिल्लामा भएको सर्वदलीय छलफलमा स्थानीय स्तरमा सर्वपक्षीय छलफल गरेर समस्या समाधान गर्ने निर्णय भएको थियो। सोही अनुसार चैत २५ गते हरिनगरकै इलाका प्रहरी कार्यालयमा सर्वपक्षीय छलफल डाकिएको थियो।
छलफलमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मी सहित स्थानीय राजनीतिक दलका नेता र बुद्धिजीवीहरू सहभागी थिए। छलफलका क्रममा हिन्दू र मुस्लिम पक्षले एकअर्कालाई दोष दिइरहे। हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी भेलामा उपस्थित नभएको, उनका छोरालाई प्रहरी प्रशासनले पक्राउ नगरेको भन्दै हिन्दू समुदायका व्यक्तिहरू आक्रोशित भए।
छलफलमै झडपको स्थिति सिर्जना भएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र दलका नेताहरूले छलफलबाट समस्या समाधान हुने विश्वास दिलाउन अनेक प्रयास गरे पनि विवाद साम्य भएन। प्रहरीले विवाद रोक्ने प्रयास गर्दा भीड अनियन्त्रित भई त्यहीं नै झडप भयो। अनियन्त्रित भीडले हरिनगर बजारमा टायर बालेर आन्दोलन चर्काउन थाल्यो।
त्यस क्रममा छलफलमा आएका स्थानीय तहका प्रमुखहरूको गाडी तोडफोड र आगजनी गर्न लागेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि त भीडले प्रहरीलाई नै ढुंगामुढा गर्दै बजारका पसलहरू तोडफोड गर्न थाल्यो। भीडलाई नियन्त्रण गर्न २० राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ। सो झडपमा प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी एक दर्जनभन्दा बढी घाइते भएको एसपी रेग्मी बताउँछन्।
त्यस क्रममा आन्दोलनकारीले प्रहरीको पेस्तोल समेत खोसेर भागेका थिए। पछि स्थानीयको सहयोगमा पेस्तोल फिर्ता पाएको प्रहरीले जनाएको छ। एसपी रेग्मी भन्छन्, “हामीले हदैसम्म संयम अपनाएर भीडलाई तितरबितर पारी झडपलाई मत्थर पारेका थियौं।”
घटनाको भोलिपल्ट चैत २६ मा हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले पत्रकार सम्मेलन गरेर आफ्नो गल्ती भए माफी दिन भन्दै सबै पक्षलाई मिल्न आग्रह गरे। अन्सारीले इस्लाम धर्मावलम्बीको इद उल फित्र र चतरामा लाग्ने हिन्दूहरूको कुम्भमेला दुवैको शुभकामना दिंदै विज्ञप्ति जारी गरेर सबैलाई सामाजिक सद्भाव कायम गर्न आग्रह गरेपछि विवाद मत्थर भएको छ।
उनले पत्रकार सम्मेलनमा भनेका थिए, “एक पक्षबाट मलाई एक पक्षको मात्र नेता भएको आरोप लगाइएको छ। त्यस्तो होइन, म सबैलाई समान व्यवहार गर्छु। हुन सक्छ, यो घटनामा मेरो कतै गल्ती भएको होला। सबैले त्यसलाई बिर्सिएर हामी सबै हातेमालो गरेर अगाडि बढौं।”
अध्यक्ष अन्सारीको पत्रकार सम्मेलनपछि विवाद मत्थर देखिए पनि पूर्ण रूपमा समाधान भइनसकेको स्थानीय बासिन्दाको बुझाइ छ। स्थानीय नेताहरू विवाद समाधान गर्न प्रयासरत रहेको हरिनगर-३ का वडाध्यक्ष अरविन्दकुमार मेहता बताउँछन्। उनी भन्छन्, “हामी यो विवाद शान्त होस् र फेरि यस्तो घटना नदोहोरियोस् भनेर सबैसँग छलफल गरिरहेका छौं। आशा छ, अब राम्रो हुन्छ।”
जिल्ला प्रशासन कार्यालयमा गत शुक्रबार पनि घटनाका विषयमा छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी आचार्य भन्छन्, “अब शान्तिपूर्ण वातावरण बनेको छ। सबै पक्ष मिलेर यसलाई फेरि बल्झिन दिनु हुँदैन भनेर लागेका छौं।”
धर्ममा मिसिएको राजनीति
सुनसरीका अन्य क्षेत्रभन्दा हरिनगर गाउँपालिका बढी संवेदनशील छ। भारतीय सीमा जोडिएको यो गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको मिश्रित बसोबास छ। वडा नं. १, २ र ७ मा इस्लाम र ३, ४, ५ र ६ मा हिन्दू समुदायको बाहुल्य छ।
दुवै समुदायको बराबर जस्तै बसोबास रहेको यस क्षेत्रमा दलभन्दा पनि धर्मका आधारमा भोट पाएर वडा र पालिकाको नेतृत्व चयन हुन्छन्।त्यसकारण पनि यहाँको राजनीतिमा धर्म मिसिएको हुन्छ। चैत २५ मा भएको सर्वपक्षीय भेलामा वडाध्यक्षहरू नै धर्ममा विभाजित भएर बोलेका थिए।
गत स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा यस क्षेत्रका पुराना नेता गफार अन्सारीले जिते। उनीसँग प्रतिस्पर्धा गरेका जनता समाजवादी पार्टी (जसपा)का धर्मवीर आर्यका भतिज हुन्, यस पटकको घटनामा कुटाइ खाने जीवन मेहता। आफ्नो भतिजमाथि कुटपिट भएपछि आक्रोशित धर्मवीरले चैत २३ मा सामाजिक सञ्जालमा आफूले बोलेको भिडिओ हाल्दै यस घटनामा गाउँपालिका अध्यक्ष अन्सारी दोषी भएको आरोप लगाएका थिए।
कुटपिटमा गाउँपालिका अध्यक्ष अन्सारीका छोरा फैजान पनि संलग्न रहेको आरोप लाग्दै आएको छ। गाउँपालिका अध्यक्ष गफार भने आफ्नो छोरा पसलमा बसिरहेको वेला झगडा भएकाले सबैलाई बाहिर निकालेको दाबी गर्छन्। उनी भन्छन्, “छानबिन गर्दा दोषी भेटिए उसमाथि पनि कारबाही होस्, तर आरोप मात्र लगाउनु गलत हो।”
स्थानीयबासी पनि अन्सारी र आर्यको राजनीतिक प्रतिस्पर्धाको तुषले घटना बढाउन भूमिका खेलेको बताउँछन्।
भारतमा आमचुनाव नजिकिंदै गरेका वेला पनि नेपालका सीमा क्षेत्रमा धार्मिक विवाद देखिने गरेका छन्। भारतमा वैशाख ७ (१९ अप्रिल)बाट सात चरणमा लोकसभा निर्वाचन हुँदै छ। सीमावर्ती क्षेत्रका कतिपय बासिन्दा नेपाल र भारत दुवैतिरका मतदाता छन्। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक हिन्दूत्व अभियान चर्किरहेका वेला त्यसको असर चुनावमा सीमावर्ती क्षेत्रमा देखिने गरेको छ।
समस्या बनेको सामाजिक सञ्जाल
भारतमा भएका हिन्दू र मुस्लिम समुदायबीच कुनै विवाद होस् या नेपालमा भएका विवाद, सीमा क्षेत्रका युवाले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइहाल्छन्। पछिल्लो विवादमा पनि हिन्दूको झन्डा हराएको विषयमा सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको हो। जीवन मेहताले फेसबूकमा कुरान जलाउने अभिव्यक्ति दिएका कारण उनलाई कुटपिट गरिएको देखिएको प्रहरीको भनाइ छ।
जीवनमाथि कुटपिट हुँदाको भिडिओ पनि फेसबूकमा सार्वजनिक भएपछि नै हिन्दू र मुस्लिम समुदायबीच विवाद चर्किएको थियो। त्यसमाथि जीवनका काका तथा स्थानीय नेता धर्मवीर आर्यले आफ्नो भतिजमाथि कुटपिट हुँदा प्रहरी प्रशासनले समेत केही नगरेको आरोप लगाउँदै सबै जनालाई विरोधमा उत्रिन आह्वान गरेर भिडिओ फेसबूकमा हालेपछि माहोल झनै बिग्रिएको थियो।
चैत २४ मा भएको सर्वदलीय छलफलपछि जारी संयुक्त अपीलमा पनि सामाजिक सञ्जालको माध्यमबाट सद्भाव खलबल्याएको उल्लेख छ। संयुक्त अपीलमा भनिएको छ, ‘यस घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरू सामाजिक सञ्जालहरूमा पोस्ट गरेको पाइएकाले यस्ता प्रकारका गतिविधि नगर्न नगराउन अनुरोध गरिन्छ।’
गाउँपालिका अध्यक्ष अन्सारीले सबैलाई मिल्न विनम्रतापूर्वक आग्रह गरेको भिडिओ पनि सामाजिक सञ्जालमा आयो, जसले विवाद मत्थर पार्न सहयोग पुर्यायो।
प्रहरी प्रशासनको कमजोरी
कुटपिटको घटना भएको दिन चैत २२ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र एसपी विपिन रेग्मी दुवै जिल्लामा थिएनन्। प्रशासन र प्रहरीका प्रमुखहरू नहुँदा घटनाक्रमलाई साम्य बनाउने प्रयास फितलो र असजिलो हुन पुगेको स्थानीय बासिन्दाको बुझाइ छ।
सर्वपक्षीय छलफलमा स्थानीय बुद्धिजीवीले प्रहरी-प्रशासनको कमजोरी औंल्याएका थिए। शुरूमा जीवन मेहताले सामाजिक सञ्जाल मार्फत कुरान जलाउने धम्की दिएकै वेला उनीमाथि कारबाही भएको भए घटना रोकिने मुस्लिम पक्षको भनाइ छ। त्यस वेला चुकेको प्रहरी-प्रशासनले जीवनलाई कुटपिट भएकै वेला संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको भए पनि घटनाले उग्र रूप नलिने स्थानीयबासी बताउँछन्।
हरिनगर-३ का वडाध्यक्ष अरविन्द मेहता भन्छन्, “प्रहरीकै अगाडि कुटपिट भएको थियो। त्यसमा संलग्नलाई नियन्त्रणमा लिइदिएको भए न्याय पाउने आशामा अर्को पक्ष शान्त हुन्थ्यो। यसमा प्रहरी-प्रशासनको कमजोरी देखियो।”
एसपी रेग्मी भने प्रहरीले संयम अपनाएर अनुसन्धान अगाडि बढाएको बताउँछन्। उनका अनुसार घटनामा प्रत्यक्ष संलग्न देखिएका सातमध्ये एक जना पक्राउ परिसकेको र अरूको खोजी भइरहेको छ। आफू बिदामा भए पनि घटना भएपछि त्यही बेलुका आएर अनुसन्धान थालेको बताउँदै उनी भन्छन्, “हामीले हतारमा भन्दा पनि संलग्नलाई पहिचान गरेर पक्राउ गर्ने हो। कानूनी प्रक्रियामा गइसकेका छौं। विवाद पनि लगभग शान्त भइसकेको छ। सबै पक्ष मिलेर शान्ति कायम गर्नुपर्छ भनेर लागेका छौं।”
स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि र प्रहरी प्रशासन गाउँ स्तरबाटै विवाद समाधान गरेर समाजमा शान्ति कायम गर्न लागिपरेका छन्। त्यसका लागि केही दिनयता सरोकारवालाबीच दैनिक छलफल भइरहेको छ। हरिनगर गाउँपालिका-१ का वडाध्यक्ष गुप्ता भन्छन्, “झन्डा हराएको विषयले यो रूप लिनु दु:खद हो। यहाँको समुदाय मिलेर बस्नुपर्छ। एकआपसमा भाइचाराको सम्बन्ध कायम हुनुपर्छ भनेर हामी जुटिरहेका छौं। आशा छ, अब यस्तो हुँदैन।”
यो पनि पढ्नुहोस्
राजकीय सत्ता र धर्म
राम, राजा र गणतान्त्रिक ‘रामराज्य’
धर्मकाे राजनीति
राम नाम हिन्दूत्व र 'पाशुपत क्षेत्र' नेपाल