चैतमा पनि बढेन घरजग्गा कारोबार, काठमाडौंमा थोरै
चैत महीनामा पनि काठमाडौं उपत्यकासँगै देशभर घरजग्गाको किनबेचमा उल्लेख्य सुधार आउन सकेन।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा देशभरिका मालपोत कार्यालयबाट ५० हजार २५२ वटा घरजग्गाको किनबेच भएको थियो। यो अघिल्लो महीनाको तुलनामा थोरै हो। फागुनमा देशभरिमा ५० हजार ९९८ वटा घरजग्गाको किनबेच भएको थियो।
पछिल्लो तीन महीनायता घरजग्गा कारोबार मासिक ५० हजारको हाराहारीमा कायम छ। घरजग्गाको कारोबार उच्च गतिमा बढेका वेला दुई वर्षअघि मासिक ७० हजारभन्दा धेरै किनबेच हुने गरेको विभागको तथ्यांक छ।
२०७८ चैतयता घरजग्गाको बजारमा शिथिलता छ। आर्थिक शिथिलता, ऋणको ब्याजदरमा वृद्धि तथा घरजग्गाको मूल्य यसअघि नै उच्च तहमा पुगिसकेकाले बजारमा माग खस्किएको व्यवसायीले बताउँदै आएका छन्।
विभागका अनुसार चैतमा इनरुवा मालपोत कार्यालयबाट सर्वाधिक दुई हजार ८२ वटा घरजग्गाको किनबेच भएको थियो। भद्रपुर, झापा मालपोत कार्यालयबाट एक हजार ८३५, जनकपुरधाम मालपोत कार्यालयबाट एक हजार ८२३ वटा घरजग्गाको किनबेच भएको थियो।
काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरूको कारोबार यसअघिका महीनामा जस्तै थोरै मात्रै छ। चैतमा काठमाडौंका नौ मालपोत कार्यालयले जम्मा चार हजार २६९ वटा घरजग्गाको लिखत पारित गरे। यसमा लखनखेल मालपोत कार्यालयले सर्वाधिक एक हजार दुई वटा लिखत पारित गरेको छ। काठमाडौंमा चैतमा गोटीखेल, ललितपुरबाट सबैभन्दा कम २३ वटा घरजग्गाको मात्रै किनबेच भएको थियो।
फागुनमा काठमाडौंका मालपोत कार्यालयबाट चार हजार २०३ वटा घरजग्गाको किनबेच भएको थियो। दुई वर्षअघि घरजग्गा कारोबार तीव्र भएको वेला काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट हरेक महीना औसतमा आठ हजार ५०० भन्दा धेरै घरजग्गाको किनबेच हुने गरेको थियो। यसले दुई वर्षअघिको तुलनामा काठमाडौं उपत्यकामा घरजग्गा कारोबार आधाले घटेको देखाउँछ।
पछिल्लो समय काठमाडौंमा घरजग्गाको माग नै खस्किएको तथ्यांकले देखाउँछ। माग खस्किएका कारण बिक्री गर्न चाहनेले पनि जग्गा बिक्री गर्न पाएका छैनन्। माग खस्किएकाले घरजग्गाको मूल्य पनि घटिरहेको आकलन गरिएको छ।