सुदूरपश्चिममा नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउने सहमति
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने सहमति भएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच सहमति भएको हो। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेता मुख्यमन्त्री दिन सहमत भएको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।
शीर्ष नेताको बैठकपछि हिमालखबरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले भनिन्, “सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने शीर्ष नेताबीच सहमति भएको छ।”
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो। नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बहुमत पुर्याउन नसक्ने भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख नजिर मियाँले १० दिनको म्याद दिएर मिलिजुली सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
नाउपाले कसलाई मुख्यमन्त्री बनाउने भन्ने तय गर्न बाँकी रहेको उनले बताइन्। “आजै सुदूरपश्चिम जाँदै छु। पार्टीका नेताहरूसँग छलफल गरेर मुख्यमन्त्रीको टुंगो लगाउँछौं,” श्रेष्ठले भनिन्।
५३ सदस्यीय प्रदेश सभामा नाउपाका सात सांसद छन्। सरकार गठनका लागि निर्णायक रहेको नाउपाले मुख्यमन्त्रीको दाबी गर्दै आएको थियो।
प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १८ सांसद छन्। बझाङ १ ‘क’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि वैशाख १५ मा उपनिर्वाचन हुँदै छ।
त्यस्तै, माओवादीका ११, एमालेका १०, नेकपा (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र स्वतन्त्र एक सांसद छन्।
गठबन्धनमा रहेका एमाले, माओवादी र एकीकृत समाजवादीका गरी २५ सांसद मात्रै पुग्छन्। बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। त्यसैले निर्णायक रहेको नाउपालाई मुख्यमन्त्री दिन गठबन्धनका नेता सहमत भएका हुन्।