संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय अलोकतान्त्रिक : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै चालू अधिवेशन अन्त्य गर्न सरकारले गरेको सिफारिशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। बैठकका निर्णयबारे जानकारी दिंदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो निर्णय अलोकतान्त्रिक र संसदीय मूल्यमान्यता विपरीत भएको बताए।
कांग्रेसले सरकारको निर्णयको भर्त्सना र निन्दा गरेको छ। “सदनमा सम्पूर्ण विपक्षी दलहरूले सहकारीको रकम अपचलनका विषयमा कुरा उठाउँदै आएका छन्, सरकारमा सहभागी मन्त्री नै सहकारीको रकम अपचलनमा संलग्न रहेको हुँदा निष्पक्ष र स्वतन्त्र छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उठाउँदै आएका थिए,” लेखकले भने, “सरकारले यस विषयलाई गम्भीरतापूर्वक नलिएर बेवास्ता गर्दै आएको छ। प्रतिपक्षी दलका कारणले सदन अवरुद्ध भएको भनी सत्तापक्षले आरोप लगाएको छ, त्यो आरोप मात्रै हो।”
कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको विषय तथ्य र प्रमाण सहित संसद्मा उठाउँदै आएको बताउँदै प्रमुख सचेतक लेखकले यसमा सरकार गम्भीर नहुँदा सदन केही दिन अवरोध भएकाले यसको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने बताए।
कांग्रेस संसदीय दलको यो बैठकले सहकारीको रकम ठगी गर्नेको विषयमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनका लागि थप दृढतापूर्वक उभिने प्रतिबद्धता गरेको प्रमुख सचेतक लेखकले बताए। साथै, सरकारले सदनलाई पर्याप्त समय दिन नसकेकाले यस अधिवेशनमा संविधान र संघीयता कार्यान्वयन तथा जनसरोकारका विषयमा आवश्यक कानून बन्न नसकेको कांग्रेसको ठहर छ।