इरानद्वारा इजरायलमा ड्रोन र क्षेप्यास्त्र आक्रमण
इरानले गए राति इजरायलमा २०० भन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ।
इजरायल र संयुक्त राज्य अमेरिकाले यो आक्रमणको पुष्टि गरेसँगै इरानको सेना ‘इस्लामिक रेभोल्युशनरी गार्ड कोर’ (आईआरजीसी)ले पनि आक्रमण स्वीकार गरेको छ। सिरियामा इजरायली आक्रमणमा परी इरानी कन्सुलेट मारिएको झन्डै दुई हप्तापछि यो आक्रमण भएको हो।
गत चैत १९ गते इजरायलले सिरियाको दमास्कसमा रहेको इरानको राजदूतावासमा हवाई आक्रमण गरेको थियो। जसमा इरानी सेनाका ब्रिगेडियर जनरल मोहम्मद रेजा जहेदी सहित सात जनाको निधन भएको थियो। कुनै पनि देशका दूतावास र राजदूतहरू विरुद्ध कुनै पनि प्रकारको फौजदारी कारबाही गर्न नपाइने भियना सन्धिको व्यवस्था उल्लेख गर्दै इरानले शुरूदेखि नै यस आक्रमणको निन्दा गरिरहेको थियो।
‘सिरियामा इरानी कन्सुलेटको हत्या गर्ने यहुदीवादी (जियोनिस्ट)को अपराधको जवाफमा हामीले ड्रोन र क्षेप्यास्त्र मार्फत कारबाही शुरू गरेका छौं,’ आईआरजीसीले वक्तव्यमा उल्लेख गरेको छ।
त्यस्तै, इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले त्यहाँको टेलिभिजन मार्फत सम्बोधन गर्दै भनेका छन्, ‘इरानले आफ्नो भूमिबाट इजरायलको भूमितर्फ मानवरहित हवाई साधन (अनआर्म्ड एरियल भेइकल्स, यूएभी) प्रहार गरेको छ।’
संयुक्त राष्ट्रसंघका लागि इरानी मिसनले सामाजिक सञ्जाल मार्फत एक वक्तव्य जारी गर्दै इजरायलमा इरानको आक्रमण संयुक्त राष्ट्रसंघको घोषणापत्रमा उल्लेख भएको आत्मरक्षा अनुरूप भएको दाबी गरेको छ। ‘दमास्कसको दूतावास परिसरमा भएको यहुदीवादी आक्रमणको विरोधमा इरानी सैन्य कारबाही भएको हो,’ वक्तव्यमा उल्लेख छ।
इरानले आक्रमण गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलप्रति अमेरिकाको समर्थन ‘फलाम जत्तिकै मजबूत रहेको’ बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्- ‘भर्खरै मैले मेरो राष्ट्रिय सुरक्षा टीमसँग भेटेर इजरायल विरुद्ध इरानी आक्रमणको पछिल्लो अवस्थाबारे जानकारी लिएँ। इरान र उसका मित्रहरूबाट इजरायलको सुरक्षामा हुने हरेक खतरा विरुद्ध हाम्रो प्रतिबद्धता फलाम जत्तिकै मजबूत छ।’
क्यानडा र बेलायतले पनि इरानी हमलाको विरोध जनाएका छन् भने इरानस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका आफ्ना नागरिकलाई नजिकबाट अवस्थाको निरीक्षण गर्न आग्रह गरेको छ।
सुरक्षा परिषद्को बैठक बस्दै
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व (पश्चिमएशिया)मा तुरुन्त शान्ति कायम गर्न आग्रह गरेका छन्।
‘इजरायलमा इरानबाट भएको ठूलो मात्राको आक्रमणबाट सिर्जित गम्भीर तनावप्रति म घोर आपत्ति जनाउँछु,’ उनले वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले बारम्बार जोड दिएको छु, न त त्यो क्षेत्र न विश्व नै अर्को युद्ध थेग्ने अवस्थामा छ।’
इजरायलमा इरानको आक्रमणको विषयबारे आजै (वैशाख २) संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै छ। पालैपालो अध्यक्षता हुने उक्त बैठकको यस पटकको अध्यक्ष संयुक्त राष्ट्रसंघका लागि माल्टाको मिसनले उक्त बैठकबारे जानकारी गराएको हो। संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूतले एक पत्र लेखेर उक्त बैठकका लागि अनुरोध गरेका थिए।