दीपेन्द्रले एकै ओभरमा हाने ६ छक्का, नेपालको २१० रन
दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेपछि नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २१० रन बनाएको हो। नेपालका लागि ऐरी र आसिफ शेखले अर्धशतक बनाए।
ऐरीले अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका हुन्। उनले २१ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ६४ रन जोडे।
त्यस्तै, शेखले ४१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए। कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन बनाए।
कतारका लागि हिमांशु राथोड र मुशवार शाहले तीन-तीन तथा अमिर फारूकले एक विकेट लिए।
नेपालले पहिलो खेलमा मलेशियालाई पराजित गरेको थियो। नेपाल रहेको समूह ‘ए’ मा कतार, मलेशिया, हङकङ र साउदी अरेबिया छन्। त्यस्तै, समूह ‘बी’ मा यूएई, ओमन, बहराइन, कुवेत र कम्बोडिया छन्।